त्रिवि खेलमैदानमा प्रायः सधैँ हुने क्रिकेट प्रतियोगिताले विश्वविद्यालयको पठनपाठनमा बाधा परिरहेको प्रिन्सिपल कार्यालयले निष्कर्ष निकालेको छ ।
८ माघ, काठमाडौं । मुलुकमा क्रिकेटको क्रेज बढ्दो छ । राष्ट्रिय तथा नेपालले खेल्ने अन्तर्राष्ट्रिय म्याचलाई पछ्याउने नेपालीहरूको संख्या लाखौँ पुगिसकेको छ । यति लोकप्रिय हुँदा हुँदै पनि मुलुकभित्र सुविधासम्पन्न एउटै रंगशाला छैन ।
नेपाली क्रिकेट करिब करिब कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भर परिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रायः सबै प्रतियोगिता त्यही मैदानमा आयोजना गरिने हुनाले त्रिवि खेलमैदान सधैँ व्यस्त रहन्छ ।
त्रिभुवन विश्वविद्यालयको हाताभित्रै रहेको खेलमैदानलाई सुविधा सम्पन्न बनाउन पटकपटकका सरकारले विभिन्न घोषणा गरेका छन् र प्रयास पनि भइरहेको छ ।
यति नै बेला त्रिवि खेलमैदानको विकल्प खोज्नु पर्ने आवाज पनि उठ्न थालेको छ । विशेषगरी, प्राज्ञिक क्षेत्रबाट यस्तो आवाज उठिरहेको छ । त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपल कार्यालयले विकल्प खोज्न प्रस्ताव नै गरेपछि विकल्पको आवाज उठ्न थालेको हो ।
क्रिकेट मैदानमा भइरहने प्रतियोगिताले विश्वविद्यालयको पठनपाठन प्रभावित भएको निष्कर्ष प्रिन्सिपल कार्यालयको छ ।
‘मैदान बढाउने कुरा आएको छ । तर, प्राज्ञिक ठाउँमा ठूला–ठूला खेलका प्रतियोगिता हुँदा असर पर्ने रहेछ । यो विषयमा अहिले नै सोचिएन भने दीर्घकालमा ठूलो असर पर्ने देखिन्छ,’ प्रिन्सिपल कार्यालयका प्रोक्टर राजेन्द्र कोइरालाले भने, ‘त्रिविको जग्गामा क्रिकेट मैदान बढाउन हुँदैन ।’
विद्यार्थीले डेढ महिना लगाए ताला
गत मंसिर–पुसमा २२ दिन नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण चल्यो । त्यसक्रममा अव्यवस्थित पार्किङको विषयलाई लिएर विद्यार्थीले केन्द्रीय क्याम्पसमा डेढ महिना ताला लगाए । विद्यार्थी र क्याम्पसबीच मंगलबार मात्र क्रिकेट मैदानको विषयमा केन्द्रीय कार्यालयलाई समाधान खोज्न आह्वान गर्ने गरी सहमति भयो । त्यसपछि विद्यार्थीले प्रिन्सिपल कार्यालयमा लगाएको ताला खोले ।
‘प्रिन्सिपल कार्यालयको अगुवाइमा समाधान गर्न केन्द्रीय कार्यालयलाई आह्वान गर्ने सहमति भएको छ,’ अखिल क्रन्तिकारीका अध्यक्ष दिनेश ऐरले भने, ‘मैदान राख्ने कि नराख्ने, कसरी व्यवस्थापन गर्ने भन्नेमा सबै प्रतिनिधि बसेर प्रतिवेदन बनाउने सहमति भएको छ ।’
बारम्बार भइरहने प्रतियोगिताका कारण शैक्षिक वातवरणमा असर परेको विषयमा छलफल गर्न प्रिन्सिपल कार्यालयको नेतृत्वमा प्राध्यापक/विद्यार्थी संघ संगठन, स्ववियु लगायतका प्रतिनिधि केन्द्रीय कार्यालयमा जाने भएका छन् । ‘नेपाल क्रिकेट संघ (क्यान)सँग केन्द्रीय कार्यालयले सम्झौता गरेको हो । त्यसैले मैदानको विवाद समाधान गर्न केन्द्रीय कार्यालय जाने भनेका हौँ,’ प्रोक्टर कोइरालाले भने ।
यसअघि मैदानको विषयमा छलफल गर्न सहरी विकास मन्त्रालयका अधिकारीहरू पनि केन्द्रीय क्याम्पसमा गएका थिए । त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वानसमेत भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेको छ । त्यसैले सहरी विकास मन्त्रालयका अधिकारीहरू छलफलमा लागि त्रिवि पुगेका हुन् ।
सो छलफलमा पनि त्रिविका अधिकांश संघ संगठन र सरोकारवाला निकायका प्रतिनिधिले विश्वविद्यालय र मैदान एकै ठाउँमा नराख्न प्रस्ताव गरेका थिए । ‘सबै निकायका प्रतिनिधि बसेर छलफल भएको थियो । अधिकांशले विश्वविद्यालयको क्षेत्र विद्यार्थीले नै प्रयोग गर्नुपर्छ । विश्वविद्यालयमा आक्रमण गर्नु हुँदैन भन्नुभएको छ,’ प्रोक्टर कोइरालाले भने ।
त्रिविका सबै विभागमा असर छ : कोइराला
क्रिकेट मैदाननजिकै महिला छात्रावास छ । त्रिविको स्वास्थ्यचौकी छ । प्राध्यापकको आवासक्षेत्र छ । प्रतियोगिता हुँदा त्रिविको सबै विभागमा असर परेको बताउँछन् प्रोक्टर कोइराला ।
‘खेल मैदानभन्दा बाहिर धेरै फोहोर हुन्छ । मैदाननजिकै छात्रावास छ । स्वास्थ्यचौकी छ । लाखौं दर्शक खेल हेर्न आउनुहुन्छ । यसले कस्तो असर गर्छ ? कसले बुझ्ने ?,’ प्रोक्टर कोइरालाले प्रश्न गरे ।
प्रतियोगिताको समयमा धुलोका कणहरू ल्याबमा समेत पुगेको प्रिन्सिपल कार्यालयको भनाइ छ । ‘तल मैदानदेखि लाइब्रेरी भएको ठाउँसम्म पार्किङ पुगेको थियो । विश्वविद्यालयमा अध्ययन अनुसन्धान गर्ने ल्याबहरू छन् । सानो धुलोको कणले समेत असर पर्छ । धुलोले ल्याबको डिभाइसमा असर परेको छ,’ प्रोक्टर कोइरालाले भने, ‘क्रिकेट प्रतियोगिताको विरोध गरेको होइन । खेल हुनुपर्छ । तर, मैदान र विश्वविद्यालय एकै ठाउँमा हुँदा असर परेको कुरा उठाएका हौं ।’
गत मंसिर–पुसमा भएको एनपीएल प्रतियोगितामा व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । प्रतियोगिता हेर्न पुगेका दर्शकको होहल्लाको आवाज कक्षा कोठामै पुग्यो । पढाइ छोडेर विद्यार्थीसमेत क्रिकेट प्रतियोगिता हेर्न गए । जसका कारण एक महिना केन्द्रीय क्याम्पसको पढाइ प्रभावित भएको प्रिन्सिपल कार्यालयको तर्क छ । ‘विद्यार्थी कक्षामा आएनन् । मैदानबाट चर्कोचर्को होहल्ला मात्र आयो,’ प्रोक्टर कोइरालाले भने ।
प्राध्यापकहरूले पनि क्रिकेट मैदान र विश्वविद्यालय एकै ठाउँमा राख्न नहुने मत राख्छन् । ‘विश्वविद्यालयमा हुने सानो प्रतियोगिताको लागि ठीकै हुन्छ । तर, अन्तर्राष्ट्रियस्तरका ठूला कार्यक्रम गर्न हुँदैन । शौचालय छैन । पानी छैन । पढाइमा असर परेको छ । भीसी, रेक्टर रजिस्ट्रार कार्यालय पनि नजिकै छ,’ त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भने, ‘विश्वविद्यालय र मैदान एकै ठाउँमा हुँदैन । कि, मैदान हटाउनुपर्छ, कि विश्वविद्यालय हटाउनुपर्छ ।’
क्यान भन्छ– असर परेको छैन
क्रिकेट प्रतियोगिताका कारण विश्वविद्यालयमा असर नपरेको दाबी नेपाल क्रिकेट संघ (क्यान) को छ । ‘मैदानले विश्वविद्यालयलाई के असर गर्यो होला र ? पढाइ हुने क्याम्पस मैदानबाट धेरै माथि छ । माइकिङ हुँदैन,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘संसारभरका विश्वविद्यालय र क्याम्पस परिसरमा मैदान हुन्छन् ।’
काठमाडौंका अधिकांश क्याम्पस व्यस्त सडक छेउमा रहे पनि पठनपाठनमा बाधा पर्यो भनेको अहिलेसम्म नसुनिएको भन्दै उनले त्रिवि मैदानको विषयमा मात्र नकारात्मक सोच्न नहुने जिकिर गरे । ‘त्रिचन्द्र, अस्कल जस्ता क्याम्पस सडक छेउमा छ । मानिसले कसरी ब्याख्य गर्यो त्यसै हुने हो,’ उनले भने, ‘हामीले विश्वविद्यालयबाट लिएका हौं । सरकारले पनि लगानी गरेर विश्वभर चिनाउने भनेको हो ।’
त्रिवि मैदानको विकल्पबारे क्यानले केही पनि नसोचेको उनले बताए । ‘क्यानले अरु केही सोचेको छैन,’ उनले भने ।