दोलखा । विदेशीका लागि नेपाल ‘ड्रिमल्यान्ड’ हो । उनीहरू लाखौं रुपैयाँ खर्चेर सात समुन्द्रपारिबाट नेपाल आउँछन् । हाम्रो प्रकृति, संस्कृति, इतिहास र जीवनशैलीमा रमाउँछन् । कतिपय नेपाली भने मृगले आफ्नै नाभीमा भएको विणाको सुगन्ध खोज्दै हिँडेझैं विदेशतिर भौतारिन्छन् । त्यसैले पछिल्ला दशकमा नेपाली पर्यटनमा एउटा भनाइ चल्तिमा छ, ‘पहिले देश अनि विदेश’ ।
पहिला आफ्नो मुलुक हामी आफैंले चिन्नु पर्दछ । त्यसैले म पनि साथीहरूसँग मिलेर कहिले विशुद्ध घुमफिर गर्छु भने कहिले कामसहितको घुमफिर हुन्छ । यसपालि हामी दोलखाका पर्यटन अभियन्ता लिलाराम खड्काको निम्तोमा जिरीको शिरमा अवस्थित ‘च्योर्दोङ (३,७०० मिटर)’ डाँडामा पुग्यौं ।
‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को व्यानरमा खड्काको निजी प्रयासमा ‘जाऔं है च्योर्दोङ’ अभियान शुभारम्भ गरिएको हो । त्यहाँ साइक्लिङको सम्भावना अध्ययन गर्ने जिम्मेवारी हामीलाई सुम्पिएको थियो। त्यसैले म, सहयात्री रञ्जन राजभण्डारी, सुदिप पौडेल र चन्दा खड्का माउन्टेन बाइकसहित पुगेका थियौं ।
जिरी बजारको शिरमा अवस्थित ‘च्योर्दोङ’ डाँडा मनमोहक रहेछ । त्यहाँबाट गौरीशंकर हिमाल नजिकै देखिन्छ ।
त्यति मात्र होइन, अन्नपूर्ण, माछापुच्छ्रे, लाङटाङ, गौरीशंकर र नुम्बुर हिमालसम्मको लामो लर्कन देखिँदो रहेछ । सूर्योदय र सूर्यास्तको दृश्य पनि चित्ताकर्षक देखिन्छ ।
हामी मङ्सिर २५ गते राती च्योर्दोङमै बास बस्यौं । डाँडामा कुनै होटल, लज र रेस्टुराँ नभएकाले क्याम्पिङ गरेर बसेका थियौं । भोलिपल्ट बिहान हामी चार जनाले डाँडामा साइकल कुदायौं ।
प्रकृतिप्रेमीका लागि च्योर्दोङ स्वर्ग नै हो । योग तथा ध्यानका लागि उपयुक्त गन्तव्य, हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्थल समेत भएकाले यसको महिमा ठूलो छ । डाँडामा महादेव र गुरु रिम्पोचेको बास भएको विश्वास गरिन्छ ।
साइक्लिङका दृष्टिले हेर्दा साइकल चढेर उकालिन कठिन छ । तर, माथिबाट जिरीबजारसम्म डाउनहिल साइक्लिङको सम्भावना भने देखिन्छ । अहिले क्याङ्से पोखरीसम्म सडक ट्रयाक खुलेको छ । च्योर्दोङको बेस क्याम्प पेमादिङसम्म सडक पुर्याउन सके राम्रो हुन्छ ।
च्योर्दोङलाई साइक्लिङको ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर’का रुपमा विकास गर्न सकिन्छ । पर्यटन विकासका लागि सबैभन्दा पहिला जिरी नगरपालिकाले प्रभावकारी कार्यक्रम गर्नु पर्दछ । बजेट छुट्टयाउनु पर्दछ । जिरी मास्तिर होटल तथा लज सुविधा छैन । क्याङ्सेपोखरी र पेमादिङमा होटलको व्यवस्था मिलाइहाल्नु पर्दछ । बल्ल पर्यटक लोभिनेछन् ।
हाम्रो यात्रा एकदमै रमाइलो भयो । मन मिल्ने साथीहरू जहाँ जाँदा पनि रमाइलो हुन्छ । हामी काठमाडौंबाट १६ जना गएका थियौं । जिरीबाट थपिएका पदयात्री र सहयोगी गरी ३६ जनाको समूह च्योर्दोङमा बास बस्यौं ।
हामी काठमाडौंबाट गएको पहिलो दिन जिरी बजारमा बसेका थियौं । भोलिपल्ट क्याङ्से पोखरीसम्म जिपमा गयौं । त्यहाँबाट करिब ३ घण्टा हिँडेर च्योर्दोङमा पुग्यौं । डाँडामा पुग्दा घाम डुब्दै थियो, हामीले सूर्यास्तको सुन्दर दृश्य नियाल्यौं ।
साँझ क्याम्प फायर गर्यौं । गीत गायौं । नाच्यौं । ह्याङ् आउट भयौं ।
भोलिपल्ट बिहानै सूर्योदयसँग हिमालको दर्शन गर्यौं । ब्रेकफास्टपछि डाँडामा साइकल कुदायौं । यसरी बेग्लै अनुभूति सँगाल्यौं ।
वैशाख १ गते र कात्तिक पूर्णिमाका दिन च्योर्दोङमा मेला लाग्दो रहेछ । जिरी मास्तिर पटासे डाँडामा गुरु रिम्पोचेको १०८ फिट अग्लो मूर्ति बन्दैछ । मूर्ति बनेपछि यस क्षेत्रको कायाकल्प हुनेमा शंका छैन ।
पछिल्लो दशकमा दोलखाका दुई ओटा हिलस्टेसन कालिञ्चोक र सैलुङ पर्यटकीय गन्तव्यका रुपमा चम्किसकेका छन् । अब चम्किने पालो च्योर्दोङको ।
यहाँ पर्यटनको एकदमै सम्भावना देखिन्छ । त्यसका लागि जिरी नगरपालिकाले जिम्मेवार पहल गर्नु पर्दछ । च्योर्दोङ बेस क्याम्पसम्म सडक सञ्जाल जोडेर होटल खोलिहाल्ने वातावरण बनाउनु पर्दछ । यसो गर्न सकेमा जिरी पर्यटनबाट गुल्जार बन्नेछ ।
जन्मथलोमा पर्यटनको फूल फुलाउने अभियानमा समर्पित जिरीका तन्नेरी लिलाराम खड्काको सपना पुरा होस् । अर्को पटक जाँदा च्योर्दोङबाट डाउन हिल साइक्लिङ गर्न पाइयोस् ।
(श्रेष्ठ नेपाल साइक्लिङ संघका केन्द्रीय सदस्य हुन् ।)