Saturday, January 11, 2025
घरसमाचार‘बाली नाइन’ को नेपाल कनेक्सन : मानसिंह मारिएको मारियै भए

‘बाली नाइन’ को नेपाल कनेक्सन : मानसिंह मारिएको मारियै भए

१२ पुस, काठमाडौं । इन्डोनेसियामा नेपाली मारिएको लागूऔषध तस्करीसम्बन्धी करिब बीस वर्षअघिको घटनामा कैद भुक्तान गरिरहेका अन्तिम पाँचजना अस्ट्रेलियालीहरू ३० मंसिर २०८१ मा रिहा भएका छन् । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिअन्तोले आममाफी दिएपछि ‘बाली नाइन’ नामले कुख्यात काण्डमा संलग्न उनीहरू रिहा भएका हुन् ।

सन् २००५ मा नाैजना अस्ट्रेलियाली नागरिक इन्डोनेसियाको बालीबाट आठ केजी ३०० ग्राम हिरोइन तस्करी गरेर अस्ट्रेलिया लैजान खोज्दा पक्राउ परेका थिए । सो काण्डका योजनाकार मानिएका दुईजनालाई मृत्युदण्ड दिइएको थियो ।

तत्कालीन इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले माफी दिन अस्वीकार गरेपछि सन् २०१५ मा फायरिङ स्क्वाडले गोली हानी उनीहरूलाई मारेको थियो । सन् २०१८ मा ‘असल आचरण’ का कारण सो काण्डकी एक मात्रै महिला कैदीलाई रिहा गरिएको थियो । नवौं व्यक्तिको त्यसै वर्ष क्यान्सरका कारण जेलमै मृत्यु भएको थियो ।

कुनै बेला इन्डोनेसिया र अस्ट्रेलियाबीच कूटनीतिक तनावको विषय बनेको ‘बाली नाइन’ काण्डमा नेपाल पनि जोडिएको थियो । सो काण्डमा संलग्न रहेको आरोप लागेका धादिङ सत्यदेवीका मानसिंह घले त्यसबेलै मारिएका थिए । इन्डोनेसिया र अस्ट्रेलियाको प्रहरीले लागूऔषध तस्करी गरेर अस्ट्रेलिया लैजान खोज्ने नौ अस्ट्रेलियालीलाई घलेले हेरोइन उपलब्ध गराएको दाबी गर्दै आएका छन् ।

इन्डोनेसिया र अस्ट्रेलियाका आम मानिसले समेत चासो राख्ने गरेको ‘बाली नाइन’ काण्डपछि नेपालीलाई हेर्ने दृष्टिकोण र व्यवहारमा ठूलो परिवर्तन आएको थियो । इन्डोनेसियामा नेपालीले पाउने ‘अन अराइभल भिसा’ समेत त्यसपछि रोकियो ।

लागूऔषध सहित अस्ट्रेलियालीहरू विमानस्थल र होटलबाट पक्राउ परेको १० दिनपछि जकार्तास्थित एक घरमा भएको धरपकड पछि घले मारिएका थिए । इन्डोनेसियाली प्रहरीले ‘पक्राउ गर्न खोज्दा प्रतिरोध गरेपछि घलेलाई गोली हानिएको’ दाबी गरेको थियो ।

तर, अस्ट्रेलियाली र इन्डोनेसियाली सञ्चारमाध्यमहरूले प्रहरीको भनाइलाई चुनौती दिने समाचारहरू प्रकाशित गरेका थिए । उनीहरूले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ‘घलेलाई पक्राउ गरेपछि गोली हानिएको’ बताएका थिए ।

नेपालमा मात्रै नभएर विभिन्न देशको सुरक्षा निकायका राडारमा रहेका घले विभिन्न घटनाक्रमले इन्डोनेसियाली प्रहरीका लागि परिचित नाम रहेको देखाउँछ । अस्ट्रेलियाली र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले घलेलाई सो काण्डको मुख्य व्यक्तिका रूपमा प्रस्तुत गर्दै ‘मिस्टर बिग’ समेत भन्ने गरेका थिए ।

लागूऔषध तस्करीको समयमा १८ देखि २९ वर्ष उमेरका नागरिक पक्राउ परेका र उनीहरूलाई मृत्युदण्डसम्मको फैसला भएपछि अस्ट्रेलियाका आम मानिसले समेत यस मामिलामा चासो दिएका थिए । खासगरी, मृत्युदण्डको व्यवस्था भएको देशमा आफ्नो नागरिकले गरेको कसुरबारे किन सूचना दिएको भनेर अस्ट्रेलियाली प्रहरी माथि पनि प्रश्न उठाइएको थियो । किनकि, लागूऔषध सहित जो व्यक्तिहरू इन्डोनेसियामा पक्राउ परे उनीहरूको बारेमा अस्ट्रेलियाको संघीय प्रहरीले सूचना उपलब्ध गराएको भनिएको थियो ।

‘बाली नाइन’

१७ अप्रिल २००५ । बालीको विमानस्थल र होटलबाट ८ किलो ३०० ग्राम हिरोइन सहित एन्ड्यु चान, म्युरान सुकुमारन, सी यी चेन, माइकल सुगज, तान डुक थान गुयेन, म्याथ्यु नोर्मन, स्कट रस, मार्टिन स्टेफन र रेना लरेन्स नामक नौ जना अस्ट्रेलियाली नागरिकलाई पक्राउ गरियो ।

बाली नाइन ग्याङका सदस्यहरु

उनीहरू माथि आफ्नो शरीरमा लागूऔषध बाँधेर बालीबाट अस्ट्रेलिया तस्करी गर्न खोजेको आरोप थियो । प्रहरीका अनुसार, लरेन्सले २ किलो ३०० ग्राम, सुगजले १ किलो ७५० ग्राम, रसले १ केजी ३०० ग्राम, स्टेफनले ३ किलो ३०० ग्राम लागूऔषध शरीरमा बोकेका थिए ।

प्रहरी दाबीमा तस्करीमा संलग्नहरूलाई १० हजारदेखि १५ हजार अस्ट्रेलियाली डलर दिने भनिएको थियो । बैनाको रूपमा ५ हजार डलर दिइएको थियो । यो परिणामको लागूऔषधको अस्ट्रेलियाको अवैध बजारमा ४० लाख अस्ट्रेलियन डलर पर्दथ्यो ।

चान, सुकुमारन यो तस्करी गिरोहको नाइके भएको र उनीहरूले भरियादेखि लागूऔषधको चाँजोपाँजो मिलाएको प्रहरीको दाबी थियो । अपराध अभिलेख अनुसार, सिड्नीको एउटा क्याटरिङ कम्पनीमा काम गर्ने उनीहरूको त्यसअघि पनि बाली आउजाउ थियो । सुरक्षा निकायको दाबी अनुसार, प्रहरीको राडारमा रहेका उनीहरूको गतिविधिमाथि पहिलेदेखि नै निगरानी थियो ।

जब नयाँ समूह लिएर उनीहरू हिरोइन भित्र्याउन बाली पुगे, अस्ट्रेलियाली प्रहरीले इन्डोनेसियालाई सूचना चुहायो । जसमा उनीहरूको नाम, पासपोर्ट नम्बर र फोटाहरू थिए । इन्डोनेसियामा उनीहरूमाथि निगरानी सुरु भयो । उनीहरूलाई प्रहरीले रङ्गेहात पक्राउ गर्‍यो ।

अस्ट्रेलियामा यसले ठूलो हलचल उत्पन्न गरायो । लागूऔषध तस्करीको कसुरमा मृत्युदण्ड हुने देशसँग सूचना किन आदानप्रदान गरेको भन्दै प्रहरीको चर्को आलोचना भयो । लागूऔषध विरुद्ध कडा कानून रहेको इन्डोनेसियामा उनीहरूलाई मृत्युदण्ड हुनसक्थ्यो ।

नभन्दै सन् २००५ मा उनीहरूलाई त्यही सजाय तोकियो । जसमा केहीलाई मृत्युदण्ड र केहीलाई आजीवन कारावासको सजाय तोकिएको थियो । पुनरावेदनदेखि आममाफीसम्मको प्रक्रियामा उनीहरू पुग्दा सो घटनामा जोडिएका नेपालीले भने यसअघि नै आफ्नो ज्यान गुमाउनु परेको थियो ।

मारिए मानसिंह

२७ अप्रिल २००५ । बालीमा अस्ट्रेलियाली नागरिक पक्राउ परेको १० दिनपछि इन्डोनेसियाको जकार्तामा धादिङ सत्यदेवी गाउँका मानसिंह घले मारिए । इन्डोनेसियाली प्रहरीले जकार्तामा एक घरमा छापा मार्ने क्रममा मानसिंह घले मारिएको बतायो । इन्डोनेसिया र अस्ट्रेलियाली प्रहरीको दाबी अनुसार, घले बाली नाइन काण्डमा लागूऔषध आपूर्ति गर्ने व्यक्ति थिए ।

अस्ट्रेलियाको संघीय प्रहरीका तत्कालीन प्रमुख माइक किल्टीले सञ्चारकर्मीहरूलाई ‘बाली नाइन’ घटनामा घलेको प्रत्यक्ष संलग्नता देखिएको दाबी गरेका थिए । घलेको बारेमा इन्डोनेसियाली प्रहरीको दाबी पनि किल्टीको जस्तै थियो । इन्डोनेसिया प्रहरीको लागूऔषध हेर्ने युनिटका प्रमुख जनरल सुसान्तोले पत्रकारहरूलाई घले बाली नाइनसँग सम्बन्धित रहेको बताएका थिए ।

त्यतिबेला घले नेपाल प्रहरीको राडारमा परेको एक दशक जति भएको थियो । तर उनको सम्बन्ध ठ्याक्कै स्थापित हुने गरी कुनै घटना नेपालमा भेटिएको थिएन । लामो समय लागूऔषध नियन्त्रणमा काम गरेका पूर्व डीआईजी हेमन्त मल्लका अनुसार, घले सुरुमा भरियाको रूपमा लागूऔषध तस्करीको गिरोहको सम्पर्कमा पुगेका थिए ।

‘सुरुमा घले भरियाको रूपमा विदेशमा लागूऔषध तस्करीमा लागेको देखिन्छ । केही समयपछि नेपाल फर्किएर म्यानपावर कम्पनी पनि सञ्चालन गरेका थिए । त्यसमा उनी फसे । त्यसपछि भने लागूऔषध तस्करीमा आक्रामक रूपमा संलग्न भएको देखिन्छ’, मल्लले भने ।

मल्लका अनुसार पचासको दशकमा घलेको काठमाडौं सुन्धारामा गुलिबर नामको म्यानपावर कम्पनी थियो । खाडी मुलुकमा रहेका एजेन्टले धोका दिएपछि घलेले त्यसमा घाटा खाए । खाडीमा रहेको एजेन्टले २०० जनाको डिमाण्ड आएको भन्दै घलेलाई २०० जनाबाट पैसा उठाउन लगाए ।

‘मानसिंह घले प्रमाण दिन उपस्थित हुन्थे भने बाली नाइन घटनाको महत्वपूर्ण साक्षी हुने थिए । तर इन्डोनेसिया प्रहरीलाई थाहा छ मरेको मानिसले कुनै पनि कथा (कुरा) भन्न सक्ने छैन’ त्यसबेला द एजले लेखेको थियो ।

‘उनले आफ्नो कमिसन कटाएर बाँकी २०० जनाको पैसा उठाएर पठाए तर डिमान्ड भने २० जनाको मात्रै रहेछ’ मल्लले भने, ‘१८० जना नेपाल फर्केपछि घलेको व्यवसाय डुब्यो र त्यसपछि उनी लागूऔषध तस्करीमा आक्रामक रूपमा अघि बढेको देखिन्छ ।’

मल्लको स्मरणमा घलेको अनुहार अहिले पनि ताजै छ । ५ फिट ५ इन्च जतिको उचाइ, मोटो–मोटो कदका घले मिसाजिला कुरा गर्थे । ‘म व्यक्तिगत रूपमै चिन्थें । घलेले पनि मलाई चिन्थे । हामीले अनुसन्धान गरिरहेका छौं भन्ने पनि उनलाई थाहा थियो’ उनले भने, ‘नेपालमा उनको संलग्नताका घटना स्थापित गर्न निकै समय लाग्यो ।’

घलेले सुरुमा थाइल्याण्ड र त्यसपछि इन्डोनेसियामा बसेर कारोबार गर्ने गर्दथे । मारिने बेलासम्म उनी भरिया नभएर प्रमुख कारोबारीको रूपमा छुट्टै नेटवर्क सञ्चालन गर्ने भइसकेका थिए । घले मारिएको एक दिनपछि इन्डोनेसियाली प्रहरीको लागूऔषध नियन्त्रणका प्रमुख सुसान्तोले उनी लागूऔषध डिलर भएको र उनको एन्ड्रयु चानसँग इमेल सम्पर्क रहेको दाबी गरेका थिए ।

सो घटनाको केही समयपछि सुसान्तो इन्डोनेसियाको प्रहरी प्रमुख पनि बनेका थिए । तत्कालीन अस्ट्रेलियाली संघीय प्रहरी आयुक्त किल्टीले यात्राको विवरण र सूचनाहरूको विश्लेषणबाट घलेसम्म पुगेको दाबी गरेका थिए । बाली नाइनपछि इन्डोनेसियाको प्रहरीले घलेलाई लागूऔषध दुनियाँको कुख्यात व्यक्तिको रूपमा प्रस्तुत गरेको थियो ।

तर यसको अर्को पाटो उत्तिकै रोचक छ । कतिपयको दाबीमा ‘इन्डोनेसियाली राजनीतिज्ञ र प्रहरीसँग घलेको सम्बन्ध नखुलोस्’ भनेर उनको हत्या गरिएको थियो । अस्ट्रेलियाको पत्रिका द एजले घले र इन्डोनेसियाली अधिकारीबीच साँठगाँठको सम्भावना औंल्याएको थियो ।

‘मानसिंह घले प्रमाण दिन उपस्थित हुन्थे भने बाली नाइन घटनाको महत्वपूर्ण साक्षी हुने थिए । तर इन्डोनेसिया प्रहरीलाई थाहा छ मरेको मानिसले कुनै पनि कथा (कुरा) भन्न सक्ने छैन’ त्यसबेला द एजले लेखेको थियो ।

द सिड्नी मोर्निङ हेराल्डले सन् २०१५ मा बाली नाइन र घलेको संलग्नताको विषयमा लामो अनुसन्धानात्मक लेख प्रकाशित गरेको थियो । बाली नाइट ‘मिस्टर बिग’लाई पछ्याउँदा शीर्षकमा प्रकाशित समाचारमा सिड्नी, बाली, बैंकक् मात्रै नभएर घलेको गाउँ सत्यदेवीसम्म पुगेर समाचार तयार पारिएको थियो ।

जसमा लेखिएको छ– ‘घलेको मृत्युदण्ड निकै चाँडै आयो । बाली घटनापछि इन्डोनेसियाली प्रहरीले सम्भावित आपूर्तिकर्ता घलेको जकार्तास्थित घरमा छापा मार्‍यो । छापाको क्रममा घलेलाई घातक रूपमा गोली हानियो, पक्राउ गर्दा प्रतिरोध गरिएको दाबी गरियो’, समाचारमा भनिएको थियो ।

सो समाचारपत्रमा लेखिएको थियो– ‘उनी सशस्त्र रहेको र उनलाई छातीमा गोली हानिएको जनाइएको थियो; तर स्थानीयहरूले पत्रकारसँग जे भने त्यो दाबीसँग यो तथ्य बाझिन्छ । घलेलाई सामान्य चोट लागेको थियो र उनी राम्रो अवस्थामा थिए । उनीहरू (प्रत्यक्षदर्शी) ले देख्दा उनी पुलिस कारतर्फ जाँदै थिए ।’

अन्य सञ्चारमाध्यमहरूले पनि उनको सम्बन्धमा उठेका विषयहरू सुल्झिन नसकेको भनेका थिए । घले इन्डोनेसियाली सुरक्षा अधिकारीका लागि कुनै नौलो नाम थिएनन् । इन्डोनेसियाली प्रहरीले सन् २००० मा १५ किलो हिरोइन जकार्ताबाट लन्डन तस्करी गर्न खोजिएको असफल प्रयासमा पनि घले संलग्न रहेको दाबी गरेको थियो । जकार्ताबाट हङकङ हुँदै लन्डन लागूऔषध पुर्‍याउन खोज्दा ३ जना इन्डोनेसियाली पक्राउ परेका थिए ।

नब्बेको दशकको मध्यदेखि घले थाइल्यान्डबाट इन्डोनेसिया लागूऔषध कारोबारमा संलग्न हुन थालेको विश्वास गरिन्छ । अन्तर्राष्ट्रिय प्रहरी सञ्जालको राडारमा २००१ मा वासिंगटन डीसीको एक विमानस्थलमा लागूऔषधको नेपाली भरिया पक्राउ परेपछि उनी संसारभरिका प्रहरीको निगरानी सूचीमा थिए ।

त्यसै समयमा उनको लागूऔषध तस्करीको तरिका बाहिरिएको ठानिन्छ । घलेमाथि युरोप, अमेरिका र दक्षिण अमेरिकासम्म लागूऔषध तस्करी गर्न भरिया प्रयोग गर्ने गरेको दाबी गरिन्छ । पचासको दशकमा घले मात्रै नभएर उनको गाउँ सत्यदेवी र त्यस आसपासका उत्तरी धादिङका थुप्रै युवा लागूऔषध तस्करीमा भरिया बन्न गएका थिए ।

घले मारिएको केही समयपछि मल्ल लागूऔषधको अन्तर्राष्ट्रिय सञ्जाल तथा त्यसमा नेपालीहरूको संलग्नताको विषयमा अनुसन्धान गर्न थाइल्यान्ड र इन्डोनेसिया पुगेका थिए ।

इन्डोनेसियामा १९९९ र २००४ मा घले दुई पटक पक्राउ परेका थिए । तर लामो समय जेलमा रहेनन् । पहिलो पटक पक्राउ पर्दा उनको साथमा हतियार समेत थियो । पछिल्लो पटक २८ अक्टोबर २००४ मा पक्राउ परेका थिए । त्यस समयमा दुई दिनमै जेलबाट भागेको प्रहरीले जनाएको छ । तर यति गम्भीर कसुरमा घलेलाई पक्राउ गरिए पनि कसरी उनी चाँडो–चाँडै छुटे वा भागे भन्ने विस्तृत रूपमा खुल्दैन ।

१ नोभेम्बर २००४ मा अमेरिकाको जस्टिस डिपार्टमेन्टका अधिकारी रोनाल्ड खानको इमेलमा पनि घले भागेको जिकिर रहेको सिड्नी मर्निङ हेराल्डले लेखेको छ । जसमा उनले इन्डोनेसियाली प्रहरीले भनेको जस्तो जेल नभई प्रहरीको सेफ हाउसबाट भागेको उल्लेख छ ।

‘मलाई भर्खरै मानसिंह घले गत राति हिरासतबाट भागेको बताइएको छ । उनलाई प्रहरी हिरासतमा राखिएको थियो, जेलमा होइन । प्राप्त जानकारी अनुसार गार्डहरू सुत्न गएपछि उनी भागेको देखिन्छ । उनी झ्यालबाट भागे कि अगाडिको ढोकाबाट मलाई जानकारी छैन’, खानको इमेलमा उल्लेख छ ।

यो इमेलले घलेको विषय अमेरिकाको लागूऔषध नियन्त्रण सम्बन्धी निकायको समेत राडारमा भएको देखिन्छ । तर त्यसबेलासम्म विभिन्न देशका लागूऔषध तस्कर जस्तो उनी विरुद्ध कुनै नोटिस जारी भने भइसकेको थिएन ।

‘पहिले थाइल्यान्डलाई बेस बनाएको देखिन्छ । त्यसपछि इन्डोनेसियालाई स्याटलाइट बनाए । हामीले अनुसन्धान गर्दा मानसिंह क्युबा पनि गएको देखिन्छ’ मल्लले भने, ‘अमेरिकाको बाटो खोज्न गएको हुनसक्छन् । त्यहाँको त्यति जानकारी आएन, हाम्रो सम्पर्क नभएको कारणले पनि त्यस्तो भयो ।’

घले मारिएको केही समयपछि मल्ल लागूऔषधको अन्तर्राष्ट्रिय सञ्जाल तथा त्यसमा नेपालीहरूको संलग्नताको विषयमा अनुसन्धान गर्न थाइल्यान्ड र इन्डोनेसिया पुगेका थिए । इन्डोनेसियालीहरूले त्यसलाई ठूलो घटनाको रूपमा लिएको बुझाइ आफ्नो रहेको मल्ल बताउँछन् ।

‘उनीहरूले यसलाई ठूलो घटनाको रूपमा लिएका थिए । नेपालीलाई हेर्ने दृष्टिकोण नै अर्कै भएको थियो । घले मारिएपछि नेपालीलाई इन्डोनेसियामा दिंदै आएको अन अराइभल भिसा दिन समेत रोकियो’, मल्लले भने । यस्तै विभिन्न कारणले गर्दा ‘अन अराइभल भिसा’ कम पाउने सूचीमा नेपाली पासपोर्ट पर्दै गएको मल्लको बुझाइ छ ।

इन्डोनेसियाको अध्यागमन कार्यालयका अनुसार, अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन भएको इन्डोनेसियाले ९ वटा देशका पासपोर्ट वाहकलाई भिसा फ्रि आगमन दिन्छ । त्यसैगरी ८७ वटा देशका पार्सपोर्टले भने ‘अन अराइभल भिसा’ पाउँदै आएका छन् ।

अस्ट्रेलिया–इन्डोनेसिया कूटनीति संकट

२९ अप्रिल २०१५ । इन्डोनेसियाले लागूऔषध तस्करीमा संलग्न ७ विदेशी र एक इन्डोनेसियाली गरी ८ जनालाई मृत्युदण्ड दियो । जाभा द्वीपको एक जेलमा प्रहरीको फायरिङ स्क्वाडले गोली हानेर मृत्युदण्ड दिएका २ जना बाली नाइन काण्डका प्रमुख आरोपी थिए । जसमा नाइजेरियाका ४ जना, ब्राजिल र इन्डोनेसियाका एक–एक जना थिए ।

एन्ड्रयु चान र म्युरान सुकुमारनलाई मृत्युदण्ड दिएपछि त्यसको विरोध गर्दै अस्ट्रेलियाले आफ्नो राजदूत फिर्ता बोलायो । अस्ट्रेलियाले स्वदेश वा विदेश दुवैतिर मृत्युदण्ड दिने मामिलाको विरोध गर्ने भन्दै उनीहरूलाई माफी दिन आग्रह गरेको थियो ।

अस्ट्रेलियाले १९८५ मा मृत्युदण्डको व्यवस्था हटाएको थियो । अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री टोनी एबोटाले मृत्युदण्डबाट माफी दिन आग्रह गरेका थिए । उनले इन्डोनेसियाको न्यायिक प्रणाली प्रति सम्मान रहेको तर अस्ट्रेलियाले स्वदेश तथा विदेश दुवैमा मृत्युदण्डको विरोध गर्ने बताएका थिए ।

अभियुक्तको परिवारका सदस्यले मात्रै नभएर अस्ट्रेलियाली नागरिकस्तरबाटै उनीहरूलाई माफीका लागि अभियान सञ्चालन गरिएको थियो । जेलमा रहेका चान र सुकुमारनले आफ्नो गल्ती स्वीकार्दै माफीका लागि आग्रह गरेका थिए । तर, ‘लागूऔषध विरुद्ध युद्ध’ गरेर चुनाव जितेका तत्कालीन इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले माफीलाई अस्वीकार गरिदिएका थिए ।

जबकि उनीहरूको पक्राउमा अस्ट्रेलियाको संघीय प्रहरीको जानकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । मृत्युदण्डको सजाय हुनसक्ने विदेशी सरकारलाई आफ्नो नागरिकको विषयमा जानकारी दिएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।

त्यस विषयमा सिनेटमा सुनुवाइ पनि भयो । अनि लगत्तै सूचना ‘सेयर’ गर्ने विषयमा अस्ट्रेलियाले आफ्नो नीतिमा परिवर्तन गरेको थियो । जसमा मृत्युदण्डको सजाय हुनसक्ने अपराधका बारेमा सूचना सेयर गर्दा मन्त्रीको स्वीकृति लिनुपर्ने व्यवस्था गरियो ।

लागूऔषध तस्करी विरुद्ध कठोर नीति लिंदै आएको इन्डोनेसियामा नयाँ राष्ट्रपति प्रबोवो सुबिआन्तोले आममाफी दिएका हुन् । एक महिनाअघि पेरुमा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थनी अल्बजेनी र सुबिआन्तोबीच भेटघाट भएको थियो । त्यसलगत्तै कैदी छाड्ने वातावरण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

ती सञ्चारमाध्यमहरूले विगतमा दुई देशबीच रहेको धमिलो सम्बन्ध परिवर्तन गर्न सुबिआन्तोले उनीहरूलाई छाडेको हुनसक्ने बताइएको छ । सुबिआन्तो इन्डोनेसियाली सेनाका पूर्व जनरल र सैनिक तानाशाह सुहार्तोका ज्वाईं हुन् ।

बाली नाइन ग्याङलाई अष्ट्रेलिया फर्काउन बाली अन्तर्राष्ट्रिय विमानस्थलमा कागजपत्रमा हस्ताक्षर गर्दै टोली ।

सुबिआन्तो कमाण्डमा रहेको सेना इष्ट टिमोर र पपुवामा गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न रहेको थियो । तेस्रो प्रयासमा सुबिआन्तो इन्डोनेसियाको राष्ट्रपति बनेका हुन् । मानवअधिकार उल्लंघनमा संलग्न रहेको भन्दै अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको छ ।

यसपटक कुन शर्तमा ती कैदीहरू रिहा भए भन्ने अहिलेसम्म खुलेको छैन । इन्डोनेसिया र अस्ट्रेलियाबीच बन्दी आदानप्रदानको सन्धि पनि छैन । अस्ट्रेलियाली प्रधानमन्त्रीले ‘मानवीयताको आधार माफी दिएको’ भन्दै इन्डोनेसियाली प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए । तर, इन्डोनेसियाका एक जना मन्त्रीले चाहिं ‘बन्दीको आपसी आदानप्रदान हुने’ बताएका थिए ।

‘त्यो अनुत्तरित विषय’

तर, ‘बाली नाइन’ काण्डमा संलग्न रहेका कैदीहरू रिहा भएपछि न्युयोर्क टाइम्सले लेखेको छ– ‘ती मानिसहरूको रिहाइले अस्ट्रेलियाली नागरिकमा लामो समयदेखि आकर्षित गरिरहेको एउटा दुःखको गाथाको अन्त्य गरेको छ ।’ मृत्युदण्ड पाएका वा जेलमा मृत्यु भएका बाहेक ६ जना आफ्ना नागरिकलाई फिर्ता गरेपछि अस्ट्रेलियालीका लागि यो विषय सकियो होला । तर, त्यसका केही विषयहरू अझै अनुत्तरित नै छन् ।

‘त्यो अनुत्तरित विषय’ घले मारिएको घटनासँग सम्बन्धित छ । इन्डोनेसियाली प्रहरीको राडारमा उनी लामो समय जेल परेनन् । यसको कारण के थियो ? प्रहरीले भने जस्तै आफूले लागूऔषध आपूर्ति गरिदिएका व्यक्तिहरू पक्राउ परेको १० दिनसम्म पनि किन उनी भाग्न कोसिस गरेनन् ?

के त्यहाँको प्रहरी र राजनीतिज्ञहरूसँगको बलियो साँठगाँठ र पहुँचले आफूलाई कारबाही हुँदैन भन्ने आत्मविश्वास थियो उनीमा ? काठमाडौंमा रहेको घलेको परिवारका मनमा पनि यस्तै प्रश्न छन् । मारिनु भन्दा एक वर्षअघि अन्तिम पटक घले नेपाल आएका थिए । उनी मारिएको विषयमा इन्डोनेसिया वा नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा अहिलेसम्म परिवारलाई जानकारी गराइएको छैन ।

‘उहाँ जानुभएको एक वर्षपछि यस्तो घटना भयो रे भनेर सुनेको मात्रै हो । हामीलाई केही पनि थाहा छैन’ घलेकी पत्नी सीताले २ पुस दिउँसो काठमाडौंमा भनिन्, ‘त्यसबेला म सानै थिएँ, के भएको हो भन्ने बुझ्दिनथें । एक जना चिनेको मानिसले पत्रिकामा यस्तो निस्किएको छ भनेर भन्नुभयो । त्यो बाहेक अरू केही थाहा छैन ।’

१५ वर्षकै उमेरमा मानसिंहसँग विवाह गरेपछि सीताले ३ छोरी जन्माइन् । ‘छोरी हुर्काउन कति दुःख भयो । यो सबै बताएर अब के हुन्छ र ! जति दुःख भयो मैले व्यहोरें, अब म त्यो भुल्न चाहन्छु’ उनले भनिन्, ‘जति आँसु पिएर भए पनि बस्छु, म मेरो दुःख कसैलाई देखाउन चाहन्नँ ।’

धादिङको उत्तरी गाउँबाट पचासको दशकमा पैसा कमाउने महत्वाकांक्षाले शहर छिरेको एउटा युवा २९ वर्षको हुँदा जकार्तामा मारिए । स्थानीयको बोलीचालीमा ‘ब्रा छोङ’ अर्थात् ‘पिठो बोक्ने लाहुरे’ मध्ये कति अझै दक्षिण पूर्वी एशियाका देशको जेलमा छन् । केहीलाई मृत्युदण्डको सजाय समेत भएको छ ।

सत्यदेवीका पूर्व प्रधानपञ्च वीरबहादुर तामाङ पचास र साठीको दशकमा पक्राउ परेकाहरू अहिले विभिन्न देशका जेलबाट छुटेर गाउँमा फर्किएको बताउँछन् । ‘यसरी जानेहरू अधिकांशले दुःख पाएका छन् । कति मारिए र कति जेलमा छन्, लेखाजोखा छैन’, तामाङले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -