Wednesday, November 27, 2024
घरसमाचारसबै नेपालीको घर घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्‍याउनुपर्छ :...

सबै नेपालीको घर घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्‍याउनुपर्छ : मन्त्री गुरुङ

पोखरा । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै  नेपालीको घर घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुर्‍याउने बताउनुभएको छ । 

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबार काठमाण्डौंको आयोजनामा आज पोखरामा आयोजित गण्डकी प्रदेश सँग समावेशी प्रसारण सम्बन्धमा छलफल कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले उक्त कुरा बताउनुभएको हो ।

 छलफल कार्यक्रममा दिएको सुझावलाई मनन गर्दै  अघि बढाउने मन्त्री गुरुङले बताउनुभयो ।  मन्त्री गुरुङले सार्वजनिक सञ्चार माध्यमलाई व्यवस्थित गर्दै  जनताको सेवा मूलक बनाउने उल्लेख गर्नुभयो । २ करोड ९१ लाख जनताले सुन्ने गरि सेवा प्रवाह गर्दै नेपालको सबै घर धुरीमा रेडियोको पहुँच पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो । 

सरकारी सञ्चार माध्यमहरू आफ्नो खुट्टामा उभिनुपर्ने बताउनुहुँदै उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सबै राज्यका निकायले विज्ञापन दिन सुझाव दिनुभयो । 

अनलाइन सञ्चार माध्यममा बढी अराजक भएको मन्त्री गुरुङले बताउनुभयो । सामाजिक सञ्जालमा अराजकता मौलाएको, दुर्गा प्रसाईँ जस्ता त्यत्तिहरू चर्चामा आएको उहाँको भनाई थियो । 

लालपूर्जा र हुलाक टिकट नेपालमा छाप्न सुरु गरेको मन्त्री गुरुङले बताउनुभयो । पहिला काठमाडौँ, पोखरा सहितका ६ महानगरबाट फाइभ जि सुरु गर्ने उहाँले जानकारी दिनुभयो । 

आगामी ३ बर्षभित्र आइटी क्षेत्रबाट ३ लाख युवालाई रोजगार सृजना गराउने मन्त्री गुरुङले बताउनुभयो । सरकारले नेपाललाई आइटी हब बनाउने उहाँले जनाउनुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक प्रसारण संस्थाको मर्म अनुसार सङ्घीयताका आधारमा रेडियो नेपालको पुनर्संरचना अघि बढेको र आगामी दिनमा प्रसारण पहुँच र प्रसारण सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराको समन्वयमा भएको कार्यक्रममा विभिन्न समुदायका व्यक्तिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको पहिलो उपलब्धि रेडियो नेपाल भएको स्मरण गर्दै सबैको मेरो भन्ने बनाउन सुझाव दिनुभयो । 

रेडियो नेपालले ३३ वटा स्टेसनबाट भौगोलिक रूपमा हिमालदेखि पहाड हुँदै तराईसम्म सेवा प्रवाह गर्दै आएको कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद बस्तीले बताउनुभयो । देशभर रेडियो नेपालको केन्द्रीय कार्यालयबाट ६ सहित २५ भाषाबाट भाषाबाट समाचार प्रसारण हुँदै आएको उहाँले जनाउनुभयो । 

नेपाल मगर संघ गण्डकीका अध्यक्ष तारामाया मगरले समय अनुसार रेडियो परिष्कृत हुन नसकेको गुनासो गर्नुभयो । 

तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले रेडियोले प्रविधिको अधिकतम प्रयोग गर्न सुझाव दिँदै राष्ट्र भाषाको प्रवर्द्धन गर्न आग्रह गर्नुभयो । 

आज पोखरामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै रेडियो नेपाल, योजना, विकास तथा विस्तार महाशाखाका निर्देशक पुष्करराज गौतमले गण्डकी प्रदेशबाट सुरु भएको अन्तर्क्रियालाई सातै प्रदेशमा आयोजना गरिने बताउनुभयो । 

कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले रेडियो नेपालको समावेशी अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

सो अवसरमा रेडियो नेपालको गण्डकी प्रादेशिक प्रसारण कार्यालयका प्रमुख शान्ति गुरुङले मातृभाषामा समाचार र कार्यक्रम प्रसारण गर्दा देखिएका चुनौती समाधानका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।

अन्तरक्रिया सहित रेडियो नेपालको पोखरास्थित प्रादेशिक कार्यालयका कर्मचारीसँग विज्ञापन प्रवर्द्धन र स्थानीय सवालबारे छलफल हुने नायव कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -