Tuesday, November 26, 2024
घरसमाचारत्रिविमा अध्ययन बिदा दुरुपयोग : नफर्किने प्राध्यापकहरूको खोजी सुरु

त्रिविमा अध्ययन बिदा दुरुपयोग : नफर्किने प्राध्यापकहरूको खोजी सुरु

१० मंसिर, काठमाडौं । त्रिभिुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएर नफर्किने प्राध्यापक खोज्न थालेको छ । प्राध्यापकबाट अध्ययन बिदाको चरम दुरुपयोग भएको समाचार सार्वजनिक भएपछि त्रिविले आफ्नो शिक्षक कहाँ छन् भनेर खोजी गर्न लागेको हो ।

‘अध्ययन बिदामा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षकको तथ्यांक संकलन गर्न थालेका छौँ,’ राजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले भने, ‘कुन संकायको शिक्षक कहाँ छन्, कति विदेश छन्, कति फर्किए त्यसको तथ्यांक छैन । अब एक महिनाभित्र तथ्यांक संकलनको काम सक्छौं ।’

२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । तर, यसको रेकर्ड त्रिविसँग छैन । १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् ।  यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन । त्यसैले पहिलो चरणमा तथ्यांक संकलन गर्न लागिएको रजिस्ट्रार रिजालले बताए ।

१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोडभन्दा धेरै हुन आउँछ ।

अनलाइनखबरले संकलन गरेको विवरण अनुसार बिदा लिएर नफर्किने प्राध्यापकहरूको संख्या ५४ जना थियो । ५४ शिक्षकबाट मात्रै पनि ८ करोड बढी फिर्ता गर्नुपर्ने देखिन्छ । तर, नफर्किने शिक्षकको संख्या यो भन्दा धेरै रहेको छ । त्यसैले पूर्वउपकुलपतिहरूले छानबिन समिति बनाउन प्रस्ताव राखेका छन् ।

तर, पहिलो चरणमा तथ्यांक संकलन गरेपछि मात्र समिति बनाउने वा के गर्ने भनेर थप छलफल गर्ने बताउँछन् रजिस्ट्रार रिजाल । ‘अहिले व्यवस्थित तथ्यांक छैन । सबै शिक्षकको तथ्यांक संकलन गरेपछि कार्यकारी परिषद्को बैठकले थप निर्णय लिन्छ,’ उनले भने । त्रिविको कारबाही गर्ने नियम भएकाले नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षकलाई कारबाही गर्ने उनले बताए ।

‘तथ्यांक संकलन गर्न कर्मचारी खटाइसकेको छु । बिदा दिने नियमन गर्ने र नफर्किनेलाई कारबाही गर्ने त्रिविको नियमित काम हो । हामीले सुरु गरेका छौं । यदि सकिएन भने अर्को समिति बनाएर पनि यसलाई टुंगोमा पुर्‍याउछौँ,’ उनले भने ।

विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम  ३० मा शिक्षक तथा कर्मचारीलाई बढीमा ५ वर्षसम्म अध्ययन बिदा दिन सकिने, ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -