काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले आज सिंहदरबारमा मन्त्री सिंहलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट नियमित र समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहलका लागि आग्रह गरिएको छ ।
नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले पत्रकारितामा तस्बिरको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नोतर्फबाट सहयोगका लागि सक्दो पहल गर्ने बताउनुभयो । रासस