९ मंसिर, हेटौंडा । सिन्धुलीको दुधौली नगरपालिका-४ ढोडाखोलामा टंकप्रसाद सापकोटाले ९ वर्षदेखि सालको पातको दुनाटपरी उद्योग चलाउँदै आएका छन् ।
वनमा त्यसै खेर गइरहेको सालको पातलाई दुनाटपरी बनाएर ७० वर्षको उमेरमा पनि पुग्दो आम्दानी गरिरहेका छन् नै त्यसलाई काठमाडौं हुँदै भारतसम्म विस्तारसमेत गरेका छन् । १६ असार २०७१ ‘वरपीपल दुनाटपरी उद्योग’ सञ्चालन गरेका टंकलाई भूकम्प र कोरोना महामारीले असर नपुर्याएको होइन, तर हार मानेनन् ।
त्यसमाथि कोरोना महामारीले पनि असर पुर्यायो । त्यसबेला उद्योगमै लाखौं संख्यामा दुनाटपरी थुपारेर महामारीको त्रास हट्ने दिन गनेर बसे ।
भूकम्प र कोरोना महामारी छलेर पनि टंकले दुनाटपरी उद्योगलाई देशभर चिनाउन सके । २०७२ सालमै संघीय सरकारदेखि २०८१ मा बागमती प्रदेश सरकारबाट उत्कृष्ट उद्यमीको सम्मान पाएका टंकसँग यसबीचमा पाएको पुरस्कार र सम्मानको लेखाजोखा नै छैन । ‘सम्मान र पुरस्कार त कति पाएँ, पाएँ । मलाई याद नै छैन,’ उनी भन्छ्न् ।
टंकलाई ९ वर्षअघि काठमाडौंको भृकृटीमण्डपमा आयोजित उद्यमी मेलामा संघीय सरकारको उद्योग मन्त्रालयले प्रथम भए बापत १० हजार पुरस्कार दिएको याद छ । त्यस दिनदेखि आफूलाई दुनाटपरी उत्पादनबाट वातावरणमा पुर्याउँदै आएको योगदानप्रति गर्व र काममा हौसला मिलेको उनको भनाइ छ । ‘पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुको अगाडि मञ्चमा उभिएर बोल्न पनि पाएको थिएँ’, उनले भने ।
टंकले आज आइतबार १०औं उद्योग दिवसको अबसरमा बागमती सरकारको उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयबाट सिन्धुलीको उत्कृष्ट नवप्रवर्तन उद्यमी सम्मान पाएका छन् । मुख्यमन्त्री बहादुरसिं लामा र उद्योगमन्त्री शुकमाया तामाङले नगद ४० हजारसहित वरपिपल दुनाटपरी उद्योगलाई उत्कृष्ट उद्यमी सम्मान प्रदान गरे । टंकले उद्यमीहरुको तर्फबाट सम्बोधन गर्दै सरकारको हौसला सबै क्षेत्रमा आवश्यक रहेको बताए ।
दुनाटपरी उद्योग चलाएसँगै टंक प्रशिक्षक पनि बने । पर्वतदेखि सिन्धुपाल्चोक, रामेछाप, उदयपुरसम्म गरि ११ जिल्लामा पुगेर आफूले प्रशिक्षण दिएको बताउँदै उनले सुरु गरेका अधिकांश व्यवसाय हालसम्म अस्तित्वमै नहुँदा चिन्ता व्यक्त गरे ।
९ वर्षअघि सिन्धुली (मेडप–मेडपा) डी–मेगा नामक गैरसरकारी परियोजनाले गाउँमै ७ दिनसम्म दिएको तालिमपछि उद्योग स्थापना भएको उनले बताए । परियोजनाबाटै तीन वटा मेसिन ५० प्रतिशतमा अनुदान पाएपछि उद्योगले काम थालेको थियो ।
स्थानीय अरुणभूमि सामुदायिक वनमा महिलाहरुलाई पारिश्रमिक दिएर सालको पात संकलनसँगै चार किमिसको दुनाटपरी उत्पादन थालिएको टंकले अनलाइनखबरलाई बताए । दुनाटपरी बनेपाको होलसेलमा नियमित पठाइने उनले बताए । सालको पात प्रयोग गरेवापत अरुणभूमि सामुदायिक वनलाई वार्षिक २ हजार रोयल्टी बुझाउँदै आएको उनी सुनाउँछन् ।
उद्योगमा अहिले ५ जनालाई रोजगारी पनि दिएका छन् । उनीहरुले दुनाटपरीको संख्याअनुसार ज्याला पाउँदै आएका छन् । वनमा सालको पात टिप्न १० देखि ७० जनासम्म महिला परिचालन गरिँदै आएको उनी बताउँछन् । १ सय वटा पातको डेढ सय रुपैयाँ उनीहरुले पाउने छन् ।
भोजको प्लेट टपरी, खाजा प्लेट टपरी, मःम कचौराको प्लेट दुना र अचारको सानो प्लेट दुना गरी चार किसिमको दुनाटपरी बन्ने गरेको छ । उत्पादित दुनाटपरी लिएर आफैं बिक्रिका लागि हिँड्ने गरेको उनले बताए । काठमाडौं, भक्तपुर, सिन्धुलीको मःम पसलदेखि काँकडभिट्टासम्म प्रतिगोटा १ देखि ३ रुपैयाँमा दुनाटपरी बिक्री गर्दैै आएको उनले बताए ।
पछिल्लो पटक उनले भारतको जयनगरसम्म दुनाटपरी पठाएका छन् । ‘मैले यताबाट भारतको जयनगरमा अलि अगाडि मात्रै दुनाटपरी पठाएको छु । गाडीमा हाल्दिएपछि फोन गरेर भन्दिने हो । पैसा खातामा आउँछ’, उनी भन्छन्, ‘उनीहरुले फेरि पठाउन भनिरहेक छन् । मैले माग भएअनुसार उत्पादन नै गर्न सकिनँ ।’
संघीय उद्योग मन्त्रालयकै पहलमा उनी ९ वर्षअघि भारतको जयनगर, नयाँदिल्ली, आग्रालगायतका सहर भ्रमण गर्ने मौका पाएका थिए । त्यही भ्रमणको अनुभवले टपरी जयनगरसम्म पुर्याउन सकेको टंकले बताए । भारतको अन्य सहरमा पनि दुनाटपरी पठाउनेबारे सल्लाह गरिरहेको उनको भनाइ छ ।
बजारसम्मै बजार विस्तार गरेपनि दुनाटपरीको खपत नेपालमा धेरै रहेको उनले बताए । धेरै नेवारी समुदायले प्रयोग गर्ने गरेको उनको भनाइ छ । माग भएअनुसार उत्पादन गर्न नसकेकोमा उनलाई चिन्ता छ । दुनाटपरी उद्योगसँगै मसला उद्योग, धान कुट्ने मिल र कृषिपशुपालनमा नियमित सक्रिय टंकलाई दुनाटपरी उत्पादन गर्न भ्यानभ्याई छ ।
वार्षिक २ देखि ३ लाखगोटा दुनाटपरी उत्पादन हुने गरेको छ । उत्पादन कम भएकाले आम्दानी पनि धेरै नभएको उनले सुनाए । १ लाखको दुनाटपरी बिक्रि गर्दा ४० हजार रुपैयाँ खुद नाफा बस्ने गरेको टंक बताउँछन् । ‘खेर गइरहेको दुनाटपरी खोलामा बगेर भारत पुग्थ्यो । यसलाई सदुपयोग गर्न सकियो । अब सरकारले प्लास्टिक प्रयोगमा निषेध लगाउनुपर्छ । यसले वातावरणलाई पनि फाइदा पुग्छ,’ उनले भने ।
धरहरा ढल्दा आँखै अगाडिको काल छले
१२ वैशाख २०७२ को भूकम्पका बेला टंक धरहराको ठिक मुनी थिए । १८ हजार वाटा दुनाटपरी बिक्रिका लागि बजारको खोजीमा असन बजारतर्फ पुगेका टंक फर्किएर धरहरा मुनी आइपुगे । त्यतिबेला असनमा कालो रंगको प्लास्टिक प्रतिबन्ध भएकाले छोरा इन्द्रलाई सेतो प्लास्टिकमा दुनाटपरी प्याक गर्न लगाएर आफू धरहरा सामुन्नेको पसलहरुमा सोधखोजका लागि कुरा गर्दै थिए ।
सडक पेटीमा कांक्रो तरबुज (खरबुजा) बिक्रि गरिरहेका महिलाहरुसँग दुनाटपरी साटेर काँक्रो खान लाग्दा धरहरा ढलेको उनी सुनाउँछन् । ‘ती महिलाले काँक्रो चिरा पार्दै थिइन् । भूकम्पले हल्लाउन थालेपछि मान्छेहरुले हल्ला गरे । माथि हेर्न पुगेछु । धरहरा मडारिएको जसरी ढल्यो,’ उनले भने, ‘ती बहिनी हल्ला सुनेर भाग्न थालिन् । मैले नभाग्नु भन्दाभन्दै अगाडि बढेको अर्की महिलासहित दुई जनालाई धरहराले थिचिहाल्यो । एउटा कार पनि थिचियो । म जहाँको त्यहीँ भएर बाँचे ।’
धरहराको ढिस्कोले खुट्टामा लागेको टंक सुनाउँछन् । ‘आँखा अगाडि काल आएर गयो । दुनाटपरीले यहाँ ल्यायो, यो त काल रहेछ भनेर असनमा रहेको छोरा सम्झिएर चिन्ता बढ्यो’, टंकले विगत सम्झिए ।
छोरा इन्द्रलाई काँचो इट्टाको घर भत्किएर आधा ज्यान पुरेको बताउँदै उनले सुनाए, ‘छिमेकीले इट्टा पन्छाएर छोरालाई निकालेपछि उ आफैं मलाई खोज्दै सुनधारा आइपुगेछ । आएर पानी माग्यो । त्यसपछि पुल्चोक क्याम्पसको चौरमा ५ दिन बसेर घर फर्किएँ ।’
टंकका बाबुछेरा धरहरा चढ्ने सुरसारमा पनि थिए । ५ जना पछाडि पालो आउँछ भनेपछि भ्याउँदैनौं भनेर फर्किएको उनी सुनाउँछन् । ‘त्यो दिन धरहरा चढेको भए त सक्किसक्या रहेछ नि !’ उनले सम्झिए । छोरा इन्द्र पाटन अस्पतालका चिकित्सक छन् । दुनाटपरी उद्योगको प्रवद्र्धनमा इन्द्रले सहयोग गरिरहेको बाबु टंक सुनाउँछन् ।