– डा रमेश ढुंगेल
पृथ्वी नारायण शाह वंशगत कुलीन राजा भन्दा राष्ट्रनिर्माता तथा साम्राज्यवाद विरोधी क्षेत्रीय नायक थिए भनि कुरा इतिहासले स्पष्ट पारेको छ । एकीकरणका निम्ति सामरिक शक्ति संचय तथा युद्ध तथा सम्बन्धित सम्बन्ध विस्तार र व्यवस्थापनका चापले राज्य व्यवस्थापनका निम्ति फुर्सद निकाल्न सक्ने स्थिति पटक्कै नभएतापनि पृथ्वीनारायण उनको राज्य व्यवस्थापकीय शीप, ज्ञान र विवेक पनि असाधारण थियो भन्ने पनि ऐतिहासिक स्रोतले राम्रैसंग देखाएको छ ।
५० दशकको युवा उमेरमै अकस्मात परेको रोगका चापले थलिएर उठ्न नसक्ने महशुस गरे पछि पनि उनले एक कुशल शासक र युगपुरुषले गर्ने काम पुरा गर्न पछि परेनन् । त्यसवेलाका उम्दा योद्धा भारदार र नीतिनिर्माणमा तथा शासन व्यवस्थापनमा सहयोगी तथा प्रभावशालीहरुको भेला दरवारमा गराई देश निर्माण तथा निर्मित राष्ट्रको रक्षा लगायत राज्यसंचालन निर्देशिका रूपको व्याख्यान प्रस्तुत गरी एक जिम्मेवार देश निर्माताको रूपमा आफूलाई देखाएका थिए । त्यस्तो व्याख्यानलाई लिखित रूपमा टिपोट गर्न लगाएर उनले वनाएका योजना, उपयोग गरेका बुद्धि–विवेक तथा चलाखी, भोगेका घनघोर दु:ख–कष्ट आदि समेटिएको र सम्भावना र भविष्य दृष्टि बोकेको देश सञ्चालनको मूल र व्यवहारिक नीतिको स्रोत आफैंद्वारा निर्मित देश नेपाल हामी सारा नेपालीका निम्ति दिएर विदा भएका थिए राष्ट्र निर्माता ।
त्यो अनुभवका अभिलेख सहितको नीतिगत राज्यसंचालन र स्वतन्त्रता बचाउको निर्देशिका (जसलाई केही भ्रमवश पछि दीव्योपदेश नाम दिईयो) लाई पनि कम र कलुषित बुद्धि भएका तथा विवेकहीन मानिसका निम्ति एउटा विरुदावाली (हेगीयोग्राफी) समेत भएको देख्दा त्यस्ता स्वराष्ट्रको सच्चा इतिहास बुझ्न नचाहने प्रति दु:ख र रोष व्यक्त गर्ने वाहेक अहिलेको यूगमा के नै गर्न सकिन्छ र ? एक किसिमले देशको राष्ट्रिय चिनारी हराएर पाताल भासिने अवस्थाका नेपालीलाई त्यस यथार्थको पीडाको अभिव्यक्ति गर्नको साटो राष्ट्र निर्माण र त्यसको बचाउ र स्वतन्त्रको निरन्तरताको निर्देशलाई विरुदावली रचना, छवि निर्माण योजना, प्रचारवाजी, र यथास्थितिवादी दृष्टिकोणको पृष्ठपोषण भन्नु सिर्फ जातीय समुदायगत रीश, राष्ट्र रचनाको सच्चा इतिहासको कोरा विरोध वाहेक केही हुन सक्दैन ।
पृथ्वीनारायण आधुनिक नेपालका निर्माता मात्र नभई दक्षिण एशियामा इशाई धर्म र त्यसले संरक्षण दिएको युरोप ब्यापारीहरु र तिनका कम्पनी–कोठीको तथा तिनका साँठगाठका साम्राज्यवादी शक्तिका घनघोर विरोधि थिए र तिनको नेपालमा पैठ हुन नदिन पूर्णरूपमा कटिबद्ध थिए । उनले त्यस्ता विदेशी व्यापारीलाई तराईवाट उकालो तिर पस्नै नदिने अठोट लिएका थिए । इशाई धर्म र तिनका पृष्ठपोषक इशाई व्यापारी र कम्पनीको आडमा भारतको स्वतन्त्रता गुम्दै गरेको र हिन्दुस्तानी जनताको शीर वेलायती साम्राज्यको बुटको धुलो मुनि लत्रिएको उनले देखेका थिए । उनी भन्थे “दक्षिण समुद्रको बादशाह महाचतुर छ, हिन्दुस्तानमा दवाई रहेकोछ तिनको शिर जमिनमा परिरहेको । त्यो शक्ति एकदिन अवश्य नेपाल तर्फ पस्ने छ, देश अर्थात आत्मरक्षाका निम्ति तयार रहनु तर आफैं निहुँ खोजेर आक्रमण गर्न नजानू । बाझो झोडा, जंगललाई आवाद गरी ठाउँ–ठाउँमा तोप सहित हतियारयुक्त सामरिक गढी(किल्ला बनाई सुरक्षाको बन्दोवस्त गरेर बस्नु ।”
उनी भारतमा अँग्रेजको कम्पनी सरकारको गठन भएपछी त्यहाँको स्थानीय संस्कृति र सभ्यतामा इशाई फिर·ीको थिचोमिचो भएर वैदिक–सनातनी लगायत स्थानीय धर्म–संस्कृतिको संरक्षणमा कठिनाई भएको देख्थे आ–आफ्नो कुशल नीति र नेतृत्वमा निर्मित आधुनिक नेपाललाई त्यस्ता परम्परा र धर्मसंस्कृतिको वास्तविक सुरक्षित (असली हिन्दुस्तान) को रूपमा देख्दथे । यस अर्थमा उनको शव्दमा नेपाल देश भनेको असली हिन्दुस्तान अर्थात इशाई घुमन्तेको प्रभाव र चंगुलमा नफसेको देश वा भुखण्डको रूपमा हेर्थे ।
त्यसैले त भेदभाव रहित युग्पुरुषको रूपमा नेपाललाई चार वर्ण छात्तिस जातको साझा फूलवारीको रूपमा हेर्दै आफ्ना आफना कूलका धर्म परम्परा नछाड्नका निम्ति आह्वान गर्थे । यसको अर्थात् उनी हिन्दू धर्म परम्परा अर्थात उनले अपनाएको धर्मका मात्र संरक्षक नभएर हिन्दुस्तान र यस हिमाली भुखण्डका प्राचीनकाल देखिका वेदिक सनातन लगायत धामी, झाँक्री, वोन, बौद्ध, मुन्थुम, फेदाङवा, विजुवा, मष्टा आदी सारा परम्पराका संरक्षक थिए । उनी देशको स्वार्थका निम्ति ब्राह्मणलाई पनि शैनिक काममा लगाउन, वंशियार अर्थात आफ्नै गोत्रका वान्धवको हत्या गर्न, आफ्नै गोत्र परिवर्तन गरेर सर्वसाधारणको गोत्र धारण गर्न, लामा, तान्त्रिक, धामी–झाँक्री आदीलाई ब्राह्मणलाई झैँ कुशवृत्ति (कुश विर्ता) दिन पनि पछि हटदैनथे । वनारस गएर खस इतरकाको समेत हुने जनसमुदायको गोत्र कश्यप लिएको घटना यहाँ स्मरणीय छ ।
त्यसैगरी नेपाल एकीकरणको थालनी भन्दा अघि उनी आफूलाई “मगरातको राजा” को रूपमा चिनाउँदा भने एकीकरणपछि चारवर्ण छतीस थरी जातका साझा संस्कृतिका संरक्षकको रूपमा । उनले के ब्राह्मण–पण्डित, बज्राचार्य, के लामा, के ग्याव्री, के झाँक्री, के धामी, के विजुवा, के सन्त–महन्त, के फेदाङवा, के तान्त्रिक, के मष्टा मण्डलीका डांग्रे, के योगी–तपश्वी सारा स्थानीय परम्पराका धार्मिक पुजारी तथा नेतृत्ववर्गसँग विशेष सम्बन्ध राखेका ऐतिहासिक प्रमाण पाइएका छन् ।
पृथ्वीनारायण पूर्वका दशहाङ् लिम्वू नाय्ख्रुलाई ‘तुतु तुम्याङ् याक्थुङ हाङ्का वडा सन्तान भएकोले तिनको हताहत नगर्नू, सम्झाई वुझाई आफूतर्फ मिलाउनू र नसकेमा धनदौलत दिएर खुसी तुल्याएर भएपनि आफ्नू तर्फ मिलाउनू भन्थे ।
त्यसैगरी गुरुङलाई उमराव अर्थात किल्ला नायक, मगरलाई अदालतका विचारी, ठूला तान्त्रिक लामाहरुलाई दर्बारमा उपस्थित भई तथा स्थानीय गोम्पा–विहारमा रहेर देश, राजवंश तथा जनता, समाज र खेतीपातीको विस्तार, शान्ति अमन–चयनका निम्ति प्रार्थना गर्न लगाउँदा सन्त–महन्तको सम्मान गर्दै पालकी चढाएर सिन्धुरयात्रा गरेर नगर घुमाउने समेत गर्थे । सन्त भगवंतनाथलाई, सिद्ध अगस्तिलाई, भुटानका डुग्पा लामा आदिलाई पृथ्वीनारायणले गरेका सम्मान र व्यवस्थाका ऐतिहासिक उदाहरण यहाँ उल्लेखनीय छन् । पूर्वका २० वौद्ध गोपालाई उनले राजकीय सम्मान र विर्ता सहित विशेष व्यवस्था गरेको र स्वयम्भू किम्दोल सहित सारा डांडो दुग्पालामालाई दान दिएको घटना पनि यस प्रसंगमा उल्लेखनीय छन् ।
पृथ्वीनारायण सांस्कृतिक थिचोमिचो गर्ने प्रवृत्तिका शासक थिएनन् तर वास्तवमा साझा संस्कृतिका कुशल र सफल संरक्षक थिए । नवनिर्मित नेपाल भित्रका र विशेष गरी उपत्यकाको नेवार संस्कृति र सभ्यताका उनी प्रसंशक थिए । खासमा उनी राजनीतिक र शैनिक रूपले विजेता भए तापनि सांस्कृतिक रूपले आत्मसमर्पणको शैलीका थिए । उनले मल्ल राजाका समयका कुनै पनि धार्मिक(सांस्कृतिक परम्परा हटाउने चेष्टा सम्म पनि गरेको देखिंदैन । उल्टै कुमारीलाई ढोग्ने, मल्ल राजाका शालिकहरुलाई पनि राष्ट्रिय सांस्कृतिक धरोहरको रूपमा स्वीकार गर्दै दरवारको प्रवेशद्वार जस्ता महत्वपूर्ण ठाउँमा आदरसाथ राख्ने, उनले तीन शहर नेपालका झाँकी, नृत्य आदी दरबारका डबलीमा देखाउन लगाउने र त्यसै आधारमा मनोरंजन लिने र बाहिरका मुजरा आदीमा प्रतिबन्ध लगाउने जस्ता महत्वपूर्ण साझा सांस्कृतिक राष्ट्रिय नीति अपनाएका थिए ।
यो देश प्राचीन मानव सभ्यता, परम्परा र संस्कृतिका निम्ति अग्र पंङ्तिमा पर्ने हुनाको कारण खासगरी पृथ्वीनारायणले हालेको साझा संस्कृति र परम्परागत धर्म संस्कृतिका धरोहरको रक्षाको नीतिले गर्दा नि हो । यसको निर्माण, स्वतन्त्र अस्तितत्व सबै स्थानीय परम्परागत साझा संस्कृतिको नीतिले गर्दा नै हो भन्ने कुरामा दुई मत हुन् सक्दैन । यस अर्थमा यस देशको जग र रचना नै यहाँका मानव परम्परा र संस्कृति हुन् भन्ने कुरामा पृथ्वीनारायण पूर्ण विश्वस्त थिए ।
अहिलेका स्वार्थी क्रमभंगवादी नेतृत्ववर्गलाई यस चुरो कुराको राम्रो बोध हुनु आवश्यक छ र त्यसको अभावमा सतही व्यख्या र अपव्याख्याले न नेपालको स्वाधीन अस्तित्वको रक्षा गर्छ न अहिलेका राजनीति कर्मीहरुलाई नि सफल हुन् दिन्छ । नेपाल देश पूर्ण रूपमा यहाँको स्थानीय धर्म–संस्कृति र मानव सभ्यताका अधारमा असंभवताको अवस्थामा पनि सम्भव बनाएर निर्मान भएको हो भन्ने कुरा नेपाली जनता तथा राजनीतिका अग्र पंक्तिका सबैले बुझ्न जरुरी छ ।
पृथ्वीनारायणको शासन पद्धतिको एउटा अचम्मको घटना लन्डनस्थित ब्रिटिश लाइब्रेरीमा सुरक्षित ब्रायन हज्सन संग्रह अन्तर्गतको माथवरसिंह थापाले तयार गराएको नेपाल वृत्तान्तमा उल्लिखित अहिलेसम्म अप्रकाशित प्रसंग पनि स्मरणीय छ । त्यस सयौं फिट लामो वृत्तान्तमा उल्लिखित त्यो घटना त्यसवेलाको एउटा ऐंठाम डुगु नामका पाटनका नामुद चोरसंग सम्बन्धित हो । उक्त नामुद चोरले यति सम्म विग्विगी मच्चाएको रहेछ कि, उसले पहिले नै घोषणा गरेर आज राति कुनै वेला कुनै निश्चित त्यस ठाउँमा चोरी गरिनेछ भनेर सुनाउने गर्थे र जति सावधानी अपनाएर निश्चित भएपनि कुनै न कुनै रूपमा चोरी गरेरै छाड्थे। कसैले प्रमाण सहित पक्डन सक्दैनथे ।
यस्तो घटना एक दिन पाटनकै एक काजीको घरमा पनि भएछ । अन्त्यमा जनता र सम्बन्धितहरु वाक्क भएर दरवारमा राजा पृथ्वीनारायणलाई क्राउन वा उजुर (फिराद) गर्न आएछन् । राजाबाट त्यसलाई खोजेर पक्रिएर ल्याउने आदेश सहित सम्बन्धित अधिकारी सुराकी सिपाहीका साथ् पठाए पछि निकै ठूलो प्रयत्न पछि उसलाई दरबारमा हाजिर गराइएछ । अनि, राजाले ल त्यस ठाउँमा गएर चोरी गरेर तेरो चोरीको क्षमता देखा भनेछन् । उसले सारा सिपाही र सुरक्षाको प्रवन्ध हुँदाहुँदै पनि रातमा बडो सफलताकासाथ चोरी गरेछ । राजालाई अव झन् मुस्कील परेछ निर्णय गर्न । उनले उसलाई तँ धेरै चलाख र क्षमतावान रहेछस, वास्तवमा यस्तो चतुर र अचम्मको क्षमता भएको मान्छेलाई जोगाउन्नु पर्ने त हो तर तेरो यस क्षमता कुलतमा लागेको र सारा जनताको धन, दौलत, जीउज्यानको रक्षा गर्नु एक कुशल राजाको जिम्मेवारी भएकोले तँलाई मृत्यु दण्ड नदिई बचाउन सक्दिन भनि गहभरी आँशु गरी चिन्ता समेत गर्दै मृत्यु दण्ड दिएछन । यस घटनाले पृथ्वीनारायणको देश, जनता र कुशल शासनप्रतिको जिम्मेवारी र शास्त्रीय पद्धति, विवेक र चिंतनशीलतालाई झल्काएको छ ।
पृथ्वीनाराणको भविष्य दृष्टिपूर्ण र स्थानीय धरोहर र परम्पराको रक्षाको साझा नीतिले गर्दा यस्तो अचम्मको भूराजनीतिक अवस्थितिमा पनि अहिले सम्म त्यसै आडले स्वाधिनता जोगाएर राष्ट्रियतामा खासै ठसमस नभई बाँचेको हो भन्ने कुरामा कसरी शंका गर्ने ? अहिलेको जस्तो चारैतिरवाट र देश भित्रैवाट समेत क्रमभंगवाद र वह्किएको जातीय र क्षेत्रीयताको भेलको अनवरत आक्रमण भएर लेकका झाडीका खरी जुकालेझैं यस देशको राष्ट्रियता माथि धावा बोलिरहेको अवस्थामा पनि एउटा यथार्थ स्पष्ट रूपमा देखिएको रहेछ, त्यो हो यस देशको टिकिरहेको राष्ट्रियताको चूरो नै हो । त्यसको जग पृथ्वीनारायणले बसाएको स्थानीयताको साझा संस्कृतिको संरक्षणको नीति नै हो भनेर बुझेर नचलेमा त्यो जगमा धमिरा लाग्ने कुरामा दुईमत हुन सकिने स्थिति छैन । त्यसैले उग्र इशाईकरणको स्वार्थको साथमा उठेको स्थानीयता विरोधी क्रमभंगवादलमा लालायित नभई पृथ्वीनारायणको स्थानीय परम्परागत साझा संस्कृतिको राष्ट्ररक्षाको नीतिमा फर्कने र नेपाल र नेपालीको स्वस्थानीय संस्कृति समेटिएको राष्ट्रियताको सम्वद्र्धनमा लाग्नु अहिलेको देश र जनता परिलक्षित एकमात्र उपयोगी नीति हुने कुरामा विस्वस्त हुन् सकिन्छ ।
आज आधुनिक नेपालका निर्माता पृथ्वीनाराण शाहलाई र नेपाली साझा संस्कृति र धरोहरको नेपाल निर्माण र नेपालको स्वाधीन र सम्मानपूर्ण निरन्तरताका निम्ति कति महत्व छ भनेर सम्झनु पर्ने र मान्न गर्नु पर्ने दिन हो । यस अवसरमा पृथ्वीनारायणको वास्तविक देनलाई गहन शोचका साथ अनेक किसिमका स्वार्थ र सतहमा नबगी अपव्याख्याको बाटो छाडेर उनलाई एक क्रुर अधिनायक भनेर आरोपित गर्नु भन्दा उनलाई निर्माण हुन एक किसिमले असम्भव प्राय: यो मनोरम हिमाली राष्ट्रको निर्माता र यस भेकका साझा संस्कृतिका सफल व्यक्तित्व, युगपुरुषको रूपमा स्वीकार्नु बाहेक हाम्रो सामु अर्को विकल्प देखिंदैन ।
उनका देनको वेवास्ता गरी अपव्याख्या गर्दै एक क्रुर र आततायी आक्रमणकारी शासक मात्र देख्नु राष्ट्रिय इतिहास प्रति हेल्चेक्र्याईं मात्र नभई एक किसिमले देश र समाजभाँडा उग्र स्वच्छन्दतावादी दृष्टिकोण वाहेक अरु केही हुन् सक्दैन । वास्तवमा पृथ्वीनारायणको अवहेलना गर्नु उनको संस्मरणमा राष्ट्रिय रूपमा दिवस नमनाउनु नेपाल नाम बोकेका दल वा कुनैपनि संस्था र व्यक्तिको कृतघ्नताको पराकाष्ठा वाहेक अरु केही हुन् सक्दैन । यथार्थमा पृथ्वीनारायणलाई सम्मान नगर्नु वा बिर्सन खोज्नु भनेको कुनै पनि नेपालीका निम्ति पिता वा हजुरबुवालाई बिर्सन खोज्नु वा उनीहरुको अस्तित्व विना आफ्नु अस्तित्वको दावा गर्नु जस्तै हो ।
rkdchavahil@gmail.com
@rkdchavahil
(क्राइम चेक साप्ताहिकमा २०७६ पुस २४ गते प्रकाशित)