– स्वयम्भुनाथ कार्की
नेपाली राजनीतिमा चर्चामा आउने सजिलो सुत्र भएको छ राजालाई चुनौति दिनु । अनि त्यति नै सजिलो बाटो भएको छ राजाको पक्षमा छु भनेर नाम बेच्नु । यी दुवै प्रवृतिहरु नेपाल र नेपालीको भलो गर्ने पटक्कै होईनन । विगत तीसौं बर्षदेखि संवैधानिक राजा र पछिल्लो समयमा गणतन्त्र अभ्यास गर्दा पनि राजालाई चुनैति दिन छोडिएन । काम केही गर्न नपर्ने केवल भाषणमा ठूला कुरा गरेमात्र हुने परिपाटी विकास गर्न नेपाली जनता पनि त्यत्तिकै दोषी छ । चर्को भाषण गरेकै भरमा पद र शक्तिमा पुर्याउनु जनताको ठूलो दोष हो । आज नेपाली त्यही दोषको सजाय भोग्दैछन् ।
यो प्रवृति विरोध गर्नेहरुमा मात्र होईन समर्थन गर्नेहरुमा पनि त्यत्तिकै हानिकारक छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा भएको कारण जनताले टाउकोमा बसालेको राप्रपा नेपालको स्वार्थी नेतृत्व अहिले के गर्दै छ ? यो कुरा थाहा नभएको कोही छैन । त्यस्तै वाढी पिडितलाई सहायता गर्न जाँदा राजालाई जेल हाल्ने धम्की केवत सस्तो लोकप्रियता बटुल्ने प्रयत्न थियो । “राजनीति गर्न भनेर विभिन्न पात्र र चरित्रहरूले मेरो नाम प्रयोग गरेको भन्दै मेरा शुभेच्छुकहरूले स्वाभाविक जिज्ञासा पनि राखेका छन् मसँग । म कुनै दल, व्यक्ति वा चरित्रको सूक्ष्म आकार होइन, मसँग समग्र राष्ट्रको सिंगो विचार छ ।” भनेर राजाले भन्नु पर्ने अवस्था यस्ता दुवै प्रवृतिको विरोधमा हो ।
लिकबाट झरेको प्रजातन्त्रिक व्यवस्थालाई तीन वर्ष भित्र लिकमा ल्याएर राजनैतिक दलहरुको जिम्मा लगाउने राजाको संकल्पमा विश्वास गरिएन । त्यसपछि आन्दोलनकारी दलहरुले नै खेस्रा गरिदिएको घोषणा गरेर “जनताको नासो जनतालाई नै” जिम्मा लगाएका राजाले चलखेलको आरोप भने प्रशस्त भोग्नु पर्यो । तर त्यस्तो चलखेलको कुनै सानोचन्दा सानो प्रमाण पनि कसैसंग छैन । दलहरुले निष्कंटक चलाएको यो दशकको मुल्यांकन गर्न जनता अझै चुकेको छ । अझै नेतागिरी चम्काउन विभिन्न दल, त्यसका भातृ संगठन आदिका नेता राजालाई नै गाली गर्न तल्लिन छन ।
जनताको सोच बदलिएको छ, अव जनता राजालाई दुवाच्य बोलेको आधारमा कसैलाई ठूलो नेता मान्न तैयार छैनन । हो केही भरौटेहरुको ताली भने अवश्य प्राप्त होला, तर आम जनताको आशा र विश्वास भने राजा माथि बढ्दो छ । त्यसैले यस्तो वेलामा राजालाई लक्षित गरेर बोलिएका दुर्वाच्यले लोकप्रियता हैन घृणाको कमाई हुन्छ । यो कुरा साढे छ लाख मतले मत्तिएको राप्रपा नेपालको नेतृत्वले सत्ताको गुलियोमा झुम्मिनेहरुको भिडले छेकेकोले बुझ्न सकेको छैन । जुन दिन वास्तविकतासंग सामना हुनेछ त्यो दिन थाहा पाउने छ ।
आर्यवर्तमा रहेका हजारौ राज्यका राजाहरु भन्दा नेपालको शाहवंश फरक हो । जहाँ अन्यले जनतालाई राजश्व दिएर आफ्नो ढिकुटी भर्ने साधन बाहेक अरु केह सम्झेनन् त्यहाँ शाहवंशले हमेशा जनतासँग सहकार्य गर्यो । त्यही कमाई हो विगत दशकमा राजा उच्चारण गर्दा पनि सरकारी दमनचक्रको तारो बन्नुपर्ने अवस्थामा पनि राजा देख्ने वित्तिकै जनता नारा लगाउँछ “राजा आउ, देश बचाउ” ।
भारत संघमा विलय भएको सानो भन्दा सानो रजौटा बरावरको सम्पत्ति पनि शाहवंश संग छैन । यो कुरा राजाको सम्पत्ति खोज्न चलाईएको सरकारी अभियानले नै प्रमाणित गरेको छ । अहिले राज्यका कुनै संयन्त्रमा राजाको नियन्त्रण छैन । पहिले भनिने गरेको जस्तो सेनाको बल पनि राजासंग देखिएको छैन । गद्दि छोड्दा राजा ज्ञानेन्द्र शाहवंशमा सबैभन्दा कम लोकप्रिय थिए । तै पनि पछिल्ला बाह्र बर्षमा निरन्तर जनताको आस्था उनिप्रति बढ्दैछ । यो नेपालको राजा र जनता बीचको अभिन्न नाताको बाहेक अरु के को प्रभाव हुन सक्छ ?
वर्तमानमा अलिकति प्रतिकुल परिस्थिति लाग्ने वित्तिकै केही जान्ने सुन्ने भनिएको व्यक्ति नेपाललाई अवसर नभएको भन्दै विदेश पलायन हुने बाटो खोज्छ । नेताहरुका आफन्त सबै विदेशमा स्थापित छन । सत्ता र शक्तिको निमित्त नेपाल आउने, यहाँ नेतृत्व गर्ने प्रतिकुलता आउने वित्तिकै विदेश पलायन गर्ने कुरा कसैबाट लुकेको छैन । वर्तमानमा नेपालमा राजा बराबर प्रतिकुल परिस्थिति भोग्ने अरु को छ ? तै पनि जनताको, मुलुकको निमित्त जस्तो सुकै बलिदान दिन पनि तैयार भएर जनतासंगै नेपाल बसेका राजालाई दुर्वाच्य बोलेर राजनीति चम्काउन खोज्नेहरु कुन श्रेणीमा छन ? यो कुरा नेपाली जनताले सोच्न ढिलो गर्नु हुँदैन । राजाको समर्थन वा विरोधमा आफ्नो निमित्त सत्ता र शक्ति खोज्नेहरुको जनताले मिति पुर्याई लिनु पर्दछ ।
विराटनगर १
२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित