६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार पक्राउ पर्नुअघि नै अदालतको निर्णयप्रति सन्देहपूर्ण अभिव्यक्ति दिएका थिए ।
‘सम्मानित अदालतप्रति आशा र विश्वास राख्दछु । भन्न त यहाँ अदालतलाई पनि मिलाउँला, तलाईं चुनावै लड्न नसक्ने गरी र तेरो पार्टी नफुटाइन कहाँ छोडौंला र भनेर मान्छेहरु लागेको मलाई राम्रोसँग थाहा छ’, केन्द्रीय कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई लामिछानेले भनेका थिए ।
यसको अर्थ आफ्नो पक्षमा निर्णय नहुन पनि सक्ने शंकासहित लामिछानेले अदालतबारे बोलेका छन् । त्यसपछि रास्वपाले लिएको निर्णयले पनि अदालतको निर्णयप्रति विश्वास नरहेको बुझ्न सकिन्छ ।
शनिबार बिहान लामिछानेलाई पोखरा लगिएपछि रास्वपाको सम्पूर्ण शक्ति पोखरा केन्द्रित छ । ४ दिनदेखि फरक–फरक स्थानमा प्रदर्शन गरिरहेका छन् । शनिबार चिप्लेढुङ्गा, आइतबार शहीदचोक, सोमबार पृथ्वीचोक नयाँ बजार महेन्द्रपुल हुँदै चिप्लेढुङ्गा र मंगलबार जिरो किलोमिटरमा प्रदर्शन गरेका छन् । उनीहरुको निष्कर्ष छ, राजनीतिक प्रतिशोधका कारण रवि लामिछानेलाई पक्राउ गरियो ।
उपसभापति स्वर्णिम वाग्ले रविविरुद्ध सरकारले प्रतिशोध साँधेकाले प्रदर्शनमा उत्रनु परेको बताउँछन् । ‘रवि लामिछानेलाई हत्कडी लगाएर पोखरा ल्याउन आवश्यक थिएन । यो प्रतिसोध साँधिएकै हो । यो बदला लिएकै हो । अहिलेको कुशासनबाट विषय मोड्न खोजिएकै हो’, उनी भन्छन् ।
प्रदर्शनका क्रममा आइतबार निषेधित क्षेत्र नै तोड्ने प्रयास गरेका थिए । अदालतलाई प्रभाव पार्नेगरी रास्वपा पोखरा केन्द्रीत भएपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बोल्नुपर्यो ।
५ कात्तिकमा पत्रकारहरु प्रधानन्यायाधीश राउतले प्रतिकुल समयमा पनि न्यायपालिकाले संयमता नगुमाउने प्रतिक्रिया दिएका थिए । ‘बाह्य वातावरण अदालतको नियन्त्रणमा हुँदैन, तर त्यत्ति कारणले संयमता गुमाउदैनौं’, उनले भनेका थिए, ‘नियतवशः अदालतको हुर्मत लिएको र अतिरञ्जना गरेको विषय क्षम्य हुँदैन, त्यति हुँदा पनि संयमतामा रहन्छौं ।’
तर रास्वपाले दिनहुँ कार्यकर्ता पोखरा लगिरहेको छ । शुक्रबारदेखि बाहिरी जिल्लाबाट कार्यकर्ता ओरालेर नाराबाजी गरिरहेको छ । प्रत्येक जिल्लाबाट कम्तिमा सय जनाका दरले पोखरा पुग्न रास्वपाको उर्दी छ । सोमबार साँझ बागमतीका सभापति डा. अच्युतम लामिछानेले मंगलबार र बुधबार आन्दोलनलाई उचाइमा पुर्याउन पोखरा पुग्न आग्रह गरेका थिए ।
प्रदर्शनमा उत्रने कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने, दाहसंस्कार गर्ने, नाराबाजी गर्ने गरिरहेका छन् । यद्यपि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी भने कार्यकर्ता आफैं पोखरा पुगिरहेको बताउँछन् ।
कार्यवाहक प्रवक्ता मनिष झा कानुन सबैका लागि बराबर नभएर एउटा व्यक्तिलाई टार्गेट गरिएकाले सडकमा आउनुपरेको बताउँछन् ।
मंगलबार पत्रकार सम्मेलनमा उनले भने, ‘कानुनलाई त्यो बेला सघाउने हो, जतिबेला कानुनसम्मत हुन्छ । एक जना माथि खनिएर कसरी कानुनसम्मत भयो भन्या ।’
यसरी रास्वपा कार्यकर्तालाई पोखराको सडकमा पुर्याएको सहकारी बचत रकम अपचलनको मुद्दा रवि लामिछाने राजनीतिमा आउनु भन्दा पहिलेको हो । सहकारी पीडित कृष्णप्रसाद जैसीले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको जाहेरीका आधारमा लामिछाने पक्राउ परेका हुन् ।
र, उनकै पार्टी नेता शिशिर खनालसमेत सदस्य रहेको संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा भएको सहकारी बचत रकम अपचलन मुद्दामा लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेको छ । तर रास्वपाका नेता–कार्यकर्ता भने रवि निर्दोष रहेको ब्यानर बोकेर पोखराको सडकमा प्रदर्शन गरिरहेका छन् ।
संवैधानिक कानुनका विज्ञ टीकाराम भट्टराई भने अदालतलाई प्रभावित पार्ने गरी हुने कुनै पनि कार्य उचित नहुने बताउँछन् । ‘अदालतलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्दछ । अदालतमाथिको दबाब स्वतन्त्र न्यायपालिकाको अवधारणा राख्ने दलका लागि सुहाउने विषय होइन’, उनले अनलाइखबरसँग भने ।
सहकारीका पीडितहरु पनि लामिछानेको पक्राउलाई सहकारी बचत रकम अपचलनसँग जोडेर हेर्नुपर्ने बताउँछन् । रास्वपालाई यो मुद्दा राजनीतिक प्रतिशोध लाग्छ भने सिंहदरबार घेर्न सुझाव दिन्छन्, जाहेरीकर्ता जैसी ।
‘अनुसन्धान गर्दै जाँदा प्रहरीले ए/बी/सी जो भएपनि पक्राउ गर्नुपर्छ । सरकार पूर्वाग्रही भएको लागेदेखि रास्वपाले सिंहदरबार घेरे भयो’, उनले अनलाइनखबरसँग भने, ‘जिल्ला प्रहरी कार्यालय र अदालतलमा आएर नाराबाजी गर्नु अदालतलाई प्रभावित पार्ने कुरा होइन र ?’