हरियाणामा विधानसभा चुनाव जितेकी कांग्रेस उम्मेदवार विनेश फोगटा ।
२२ असोज, काठमाडौं । हरियाणाको जुलानामा खुसीको माहौल छ । सोमबार दिउँसोसम्म चुनावी नतिजामा नजर लगाइरहेकाहरु लड्डू बाँडिरहेका छन् ।
पेरिस ओलम्पिकमा पदक जित्न नसकेकी विनेश फोगाटले चुनावी मैदानमा जित हात पारिन् । भारतीय जनता पार्टी (बीजेपी) उम्मेदवारलाई ६ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै विनेश विधानसभा सदस्यमा निर्वाचित भएकी छन् ।
त्यसैले जुलानामा खुसीको माहौल छ । तर कांग्रेस पार्टीका समर्थकलाई भारी मतान्तरसहितको जितको अपेक्षा थियो । मतदान केन्द्रमा बसेका चन्दर भन्छन्, ‘विनेशले जित्न त जितिन्, तर उनले बीजेपीका योगेशकुमारलाई पछारिनन् ।’
कांग्रेसको हार !
१०० ग्राम तौल बढी भएका कारण फाइनल खेल्न नपाएकी कुस्तीबाज विनेशलाई चुनावको मुखमा कांग्रेसले पार्टी प्रवेश गराएको थियो ।
विनेश र बजरंग कुनियाले साक्षी मल्लिकसँग मिलेर भाजका नेतासमेत रहेका भारतीय कुस्ती संघका तत्कालीन प्रमुख बृजभूषण शरण सिंहविरुद्ध आन्दोलनको नेतृत्व गरेका थिए ।
उनको प्रवेशसँगै यो विधानसभा चुनावमा कांग्रेसको अपेक्षा थियो कि किसान, जवान र पहलमानको इमोसनल अपीलको फाइदा पार्टीलाई हुनेछ । मतगणनाको अघिल्लो दिन एक्जिट पोलको नजिता सार्वजनिक भएसँगै कांग्रेस नेताहरु सरकार बन्नेमा ढुक्क देखिएका थिए । मुख्यमन्त्रीका आकांक्षीहरु पनि उत्साहित देखिएका थिए ।
मंगलबार मत गणनामा पनि सुरुको एक घण्टापछि कांग्रेस, बीजेपीभन्दा निकै अगाडि देखिएको थियो । तर एकघण्टामै पासा पल्टियो र भाजपा खेलमा फर्कियो । अर्को एक घण्टामा भाजपा एक्जिट पोलहरुलाई गलत साबित गर्दै अगाडि बढ्यो ।
यो समाचार तयार पार्दासम्म कांग्रेस ३६ सिटमा विजयी भएको छ भने एउटा सिटमा अग्रता लिइरहेको छ । तर उसले सरकार बनाउने पक्का भइसकेको छ ।
महाराणा प्रताप नेशनल कलेजका प्रा.डा. विजय चौहान भन्छन्, ‘विनेशको जितलाई कांग्रेसको हारसँग जोडेर हेर्नुपर्छ । चुनावको अन्तिम समयमा फेरि एक पटक जाट र गैर जाटको राजनीति देखियो, जसको सबैभन्दा बढी क्षति कांग्रेसले भोग्नु पर्यो ।’
बीजेपीको ह्याट्रिक
बीजेपीले भने बहुमत पाएको छ । ९० सदस्यीय विधानसभामा बहुमतका लागि ४६ सिट चाहिन्छ । बीजेपीले ४८ सिट जितेको छ । हरियाणा राज्यको चुनावी इतिहासमा कुनै पनि पार्टीले लगातार तेस्रो पटक जितेको यो पहिलो पटक हो ।
जबकी कांग्रेसको तुलनामा बीजेपी कमजोर मानिएको थियो । किसान आन्दोलन होस् वा अग्निवीरको मुद्दा होस्, लगातार १० वर्ष सरकारमा रहेकाले सत्ता विरोधी लहरका कारण पनि हरियाणाको चुनाव बीजेपीका लागि प्रतिकुल मानिएको थियो । एक्जिट पोलहरुले त ६० प्रतिशत सिट कांग्रेसले जित्ने देखाएको थियो । तर त्यसलाई गलत सावित गर्दै बीजेपीले ह्याट्रिक मार्यो ।
वरिष्ठ पत्रकार हेमन्त अत्रीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘यो नतिजामा सबैभन्दा मुख्य कारण बीजेपीको माइक्रो म्यानेजमेन्ट रह्यो । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि बीजेपीले गैर जाट भोटलाई चलाखीपूर्वक आफ्नो पक्षमा पार्यो ।’
अर्का पत्रकार आदेश रावलका अनुसार हरियाणामा करिव २२ प्रतिशत जाट भोटर छन् र उनीहरु भोकल पनि छन् । उनले भने, ‘गैर जाटलाई लाग्यो कि कांग्रेसले फेरि जित्यो भने भूपिन्दर सिंह हुड्डा नै मुख्यमन्त्री बन्नेछन् । उनीप्रति रहेको असन्तुष्टिका कारण उनीहरुले बीजेपीको पक्षमा मत दिएको देखिन्छ ।’
उम्मेदवार छनोटमा पनि कांग्रेस भन्दा बीजेपीको रणनीति सफल भएको चुनावी नतिजाले देखाउँछ । आन्तरिक गुटबन्दीका कारण कांग्रेसले आफ्ना सबै विधायकलाई पुनः उम्मेदवार बनायो । उनीहरुमध्ये करिब आधा पराजित भए ।
जबकी बीजेपीले २५ सिटमा नयाँ अनुहार उठायो, जसमध्ये १६ जना विजयी भएका छन् । पत्रकार हेमन्त अत्री भन्छन्, ‘उम्मेदवार परिर्वतन नगर्दा पनि कांग्रेसलाई घाटा भयो ।’