– डीके ढुङ्गाना
पछिल्लो समय गृहकार्यको विषयलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको देख्छु। करिब तीन दशक विद्यालय शिक्षामा काम गरेको अनुभवका आधारमा केही विषयहरुमा आफ्ना विचार राख्न उपयुक्त ठाने। पछिल्लो समयमा नेपालमा शिक्षाको विभिन्न आयममा काम गर्ने व्यक्तित्वहरुका बीचमा देखिएको द्वैध र दुविधायुक्त विचारका कारण शिक्षा क्षेत्र खस्कँदै गएको छ।
विद्यार्थीहरूका अधिकार र स्वतन्त्रताका नाममा विद्यार्थीहरूलाई गृहकार्य दिनु हुँदैन, किताब धेरै पढाउनु हुँदैन। किन घोकाउनु पर्यो, किन कण्ठ गराउनु पर्यो, परीक्षा किन चाहियो भन्ने जस्ता विषयहरु यत्रतत्र बहसमा छन्। र कहिलेकाहीँ सञ्चारका माध्यमका मूल विषय पनि बन्ने गर्छन्। हुन त आजभोलि सामाजिक सञ्जालमा जो पनि शिक्षा सल्लाहकार र शिक्षाविद नै हो । त्यसको लागि कुनै डिग्री चाहिएन। कक्षा कोठामा काम गर्नु परेन। सिकाई निरन्तरताको जवाफदेहिता पनि चाहिएन। विद्यार्थी पास फेलको जिम्मा त लिनै परेन। बोलिदिए पुग्यो, त्यसबाट निस्कने परिणामप्रति कुनै चासो, चिन्ता वा जवाफदेहिता को विषय त रहँदै रहेन। वास्तवमा सिकाई कसरी हुन्छ? सिकाइका लागि के के आवश्यक छ? कस्ता खालका विषयहरू आवश्यक छन्? पाठ्यक्रमले के माग गर्छ? कक्षा कोठामा जानुपूर्व के तयारी गर्नुपर्छ? गृहकार्य- कक्षाकार्यको आवश्यकता किन हुन्छ। पठनपाठनका विधि, सिकाई उपलब्धि, सिक्नका लागि आवश्यक पर्ने वातावरण जस्ता विषयमा बहस खासै हुँदैन। खासगरी निजी विद्यालयहरूले विद्यार्थीहरूलाई पठनपाठन गराउने क्रममा अलि बढी जोड दिने गरेको विषयबाट यो बहस प्रारम्भ भएको देख्छु। यहाँ सिकाई प्रक्रियाको विषयमा भन्दा बढी निजी विद्यालयहरूले विद्यार्थीहरूलाई विद्यालयको शैक्षणिक कार्यक्रमसँग निरन्तर जोडिराखेको विषयमा धेरैको टाउको दुखेको देखिन्छ, गृहकार्य पनि त्यसैको एउटा किस्सा हो। सामुदायिक विद्यालय जहाँ सबैको चिन्ता चासो र सहयोग हुनुपर्ने हो त्यहाँ खासै विज्ञहरूको समय खर्च भएको देखिँदैन। किनकि सामुदायिक विद्यालयहरूको विषयले पब्लिक कन्जमसन ग्रहण गर्दैन। त्यसैले यी र यस्ता विषयहरू निजीतिरै सोझिने गर्दछ।
वास्तवमा के विद्यार्थीलाई गृहकार्य दिनै पर्दैन त?
उनीहरुलाई एउटा तहको शैक्षिक अनुशासनमा राख्नु पर्दैन? हाम्रो समाज, हामीले उपभोग गरिरहेको सामाजिक परिवेश, चेतनाको उपल्लो स्तरमा पुगिसक्यो ? यी र यस्ता विषयहरूमा गरिने सस्ता बहसका कारण हाम्रो शैक्षिक जगत स्वतन्त्रताको नाममा स्वच्छन्दता तर्फ मोडिएको देखिन्छ। हाम्रो सामु अनगिन्ती प्रश्नहरू छन्। वास्तवमा सिकाई अविच्छिन्न, निरन्तर, हरपल हुने विषय हो । चाहे त्यो विद्यालयमा होस् वा घरमा होस् वा समाजमा होस् । कहीँ पनि होस्, बस त्यसलाई कसरी हामी शिक्षाको मूलधारमा जोड्न सक्छौं, पाठ्यक्रमको मूल मर्मसँग जोड्न सक्छौ भन्ने विषय महत्वपूर्ण हो। आज नेपाली समाज राम्रा विषयहरूको निरन्तरता भन्दा पनि कहिँबाट विषयहरुलाई कपी गर्ने र त्यसैमाथि आफू उत्कृष्ट भएको देखाउनका लागि दलिल पेश गर्ने ढङ्गबाट अगाडि बढीरहेको देखिन्छ। हेर्दा सामान्य लाग्ने तर कालान्तरमा यसले पार्ने प्रभाव अत्यन्तै नकारात्मक र एउटा सिङ्गो पुस्तालाई अँध्यारोतिर धकेल्ने जस्तो म देखिरहेको छु। हामीले बोल्ने, भन्ने, पढाउने, व्याख्या गर्ने विषय हाम्रो पाठ्यक्रमले कक्षागत रुपमा निर्धारण गरेको सिकाई उपलब्धि र त्यो सिकाई उपलब्धि हासिल गर्नका निम्ति कक्षा कोठा र कक्षा कोठा बाहिर गरिने गतिविधिसँग निर्धारित हुन्छ र यसको विषयमा पाठ्यक्रम विकास केन्द्रले स्पष्ट खाका दिएकै छ। तर शिक्षा विशेषज्ञको नाममा, शिक्षा अभियन्ताको नाममा जुन प्रकारले विषयहरु बाहिर आइरहेका छन्, यसले निश्चितै रुपमा हाम्रो सिकाई उपलब्धिलाई कमजोर बनाउने नै छ। बहसका लागि बहस होइन, सुधारका लागि बहस हुनुपर्छ।
गर्नुपर्ने के हो?
वार्षिक रूपमा निर्धारण गरिएको पठनपाठनका दिन र त्यस उपरान्त बाँकी भएका दिनहरुमा, बालबालिकाहरू सिकाई र त्यसको विषयसँग जोडिने उपायहरु के हुन् त भन्ने विषय राख्नु उपयुक्त होला। बालबालिकाहरूलाई पढाइलेखाइको बोझ हुनैपर्छ भन्ने मलाई लाग्दैन। उनीहरूलाई रमाइलो वातावरणमा सिक्ने- हुर्कने अवसर हामीले प्रदान गर्नुपर्छ। बालबालिकाका विषयमा निरन्तर बहस गर्ने मित्रहरुले यसो गर्न हुने त्यसो गर्न नहुने भनेर कमेन्ट गर्नुको साटो के गर्न हुने भन्ने विषय चाहिँ सेयर गरे राम्रो हुन्छ। जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढंगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु। आम अभिभावकहरुको पेशा व्यवसाय र वास्तविक अवस्थालाई मध्यनजर गर्दै, बालबालिकाहरूको उमेर र सिकाईलाई ध्यानमा राख्दै बालबालिकाका निम्ति विद्यालय समय बाहेक के गर्ने, के नगर्ने भन्ने विषय पनि वैज्ञानिक तवरले सबैका निम्ति साझा गर्नु उपयुक्त हुन्छ। फगत बहसका लागि बहस होइन वास्तविक धरातलमा उभिएर नेपालको विद्यालय शिक्षाका सम्पूर्ण बालबालिकाहरुलाई केन्द्रमा राखेर एकपटक हेरौं, के हामीले गरेको बहसले समाधान दिन्छ? हामी विश्वका विकसित देशका नागरिकले प्राप्त गरेको सुविधा र अवसरको अवस्थामा पुगिसकेका छौं ? त्यसतर्फ सोच्नु राम्रो कुरा हो तर अहिले हामी कुन अवस्थामा छौँ र यसबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी सबै प्रष्ट हुन जरुरी छ । यथार्थ परक सोचले नै शिक्षाको उद्देश्य परिपूर्ति र नयाँ बाटो खोल्नेछ भन्ने मलाई लाग्छ । समय परिस्थिति अवस्था अनुसार बालबालिकाहरुको रुचि र पाठ्यक्रमलाई समेत ध्यानमा राख्दै कुनै पनि प्रकारको गृहकार्य वा कक्षा कार्य तय गरिनु राम्रो हुन्छ, जसले बालबालिकालाई सिक्नका निम्ति कौतुहलता जागृत गराओस् मलाई यस्तो लाग्छ। यी विचारहरू मेरो अनुभवका आधारमा राखेको हुँ। उल्लेखित विषयले कसैको विचारसँग मेल खाएमा संयोग मात्र हुनेछ।
प्याब्सनका केन्द्रिय अध्यक्ष ढुङ्गानाको फेसबुकवालबाट साभार