Saturday, November 30, 2024
घरविचारधर्म संस्कृतिकुसे औंसीः बुवाको मुख हेर्ने दिन, के छ यसको महत्व ?

कुसे औंसीः बुवाको मुख हेर्ने दिन, के छ यसको महत्व ?

नेपालमा मनाइने विभिन्न चाडपर्वको सांस्कृतिक आध्यात्मिक, सामाजिक, धर्म दर्शन, मानव संस्कृतिका विविध पक्षसँग केन्द्रित भएर रहेको पाइन्छ । यिनै पर्वहरूमा वनस्पति वर्गमा पर्ने एक किसिमको घाँस कुशलाई पौराणिक धार्मिक, आध्यात्मिक र स्वास्थ्य आदिका विविधि पक्षसँग जोडेर सनातन कुसेऔंसी पर्वको रूपमा मनाइने गरिन्छ । कुश मूलतः हिन्दु संस्कार कर्ममा नभई नहुने आवश्यक वस्तु हो । हिन्दु धर्मावलम्बीहरूले कुनै पनि पर्व तिथिअनुसार मनाइने हुँदा कुशलाई औंसी तिथिमा अनुष्ठान गर्ने गरिएको हो । कुश नेपालको अतिरिक्त भारत, चीन, अफगानिस्तान, बर्मा, इरान, इजरायल आदि देशहरूमा पाइन्छ। नेपालीमा कुश, संस्कृतिमा कुश हिन्दीमा कुञ्चडोभ उर्दूमा विखदेव वनस्पति शास्त्रमा चाहिँ एराग्रोसटिस साइनोसुरोइड्स तथा डेमोस टाच्या, विपिन्नाटाले सम्बोधन गरिने पोएसी परिवार जातिको घाँस हो। सामान्य धारणामा घाँस भन्नाले प्राणी वर्गका चौपाया पशुले खाने घाँस जनिए पनि कुश वर्गको घाँसलाई पर्व विशेषमा प्रयोग हुनु र सम्मान दिनुले यसको विशेष महत्व रहेको कुरा स्वतः प्रस्ट हुन आउँछ । हरेक वर्ष भाद्र कृष्ण औंसीमा मनाइने यो पर्वलाई गोकर्णे औंसी तथा पिताको मुख हेर्ने दिनको रूपमा विशेष श्रद्धापूर्वक मनाइन्छ ।

यस पर्वमा दिवंगत पितृहरूप्रति तर्पण तथा श्रद्धा विधानबाट आदर र स्नेह दर्शाइन्छ । आर्य सम्प्रदायको यो विधि तथा सिद्धान्तमा जीवित प्राणीलाई अति आवश्यक वस्तु जल र अन्न हुँदा स्वर्गीय पितृ तृप्तिका लागि पनि तिनै वस्तु अर्पण गरिन्छ । तर्पण दिँदा आफन्त पितृलाई मात्र नभई “आव्रम्ह स्तम्ब पर्यन्तः देवषि पितृ मानवा” सम्बोधन गरी ब्रह्मा तथा समस्त सहासना कीट–पतंगसम्मको तृप्तिको निमित्त दिइन्छ । यो तर्पण अनुष्टानले “वसुधैव कुटुम्बकम्” अर्थात् समस्त पृथ्वीभित्रका जातजाति सबै आप्mनै दाजुभाइ–दिदीबहिनी हुन् भन्ने प्राचीन गौरवमय कथनको पुष्टि गराउँछ । काठमाडौंका बौद्ध धर्म अनुयायी नेवार वर्गले केलटोलस्थित जबहालमा दिवंगत पितृका स्मरणमा निसला दान दिने परम्परा छ । पितृहरूलाई तर्पण तथा श्राद्ध आप्mनै घर अथवा तीर्थ धामहरूमा गरिन्छ । नेपालका धामहरूमा गोकर्णेश्वर महादेव मन्दिर, कोटेश्वरस्थित विराटेश्वर मन्दिर, रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट बराह क्षेत्रको कौशिकी आदि पर्दछन् । त्यस्ता स्थलमा तर्पण श्राद्ध गरेमा आफूलाई पुण्य मिल्ने र आप्mनो कुल परम्परा स्थिर हुने शास्त्रहरूमा उल्लेख छ ।

पुराणमा बताइएअनुसार सत्य युगमा महादेवले मृगको एकसिंगे रूप धारण गरी पशुपति क्षेत्रस्थित मृगस्थलीमा रमाइलोको निमित्त पार्वतीलाई शिव आफू हराएको भान पार्न घुम्न, मन बहलाउन आए । उनलाई ब्रह्मा, विष्णु, इन्द्रले तिनतिरबाट घेरा हाली समाउन खोज्दा सबैको बल सिङमा पर्न जाँदा तिन टुक्रा भई भाँचियो र ब्रह्मा, विष्णु, इन्द्रले एक–एक टुक्रा समाते ।

आफूहरूबाट ठूलो अपराध भएको महसुस गरी शिवसँग क्षमा मागे । शिवले त्यसमा चिन्ता नलिन सम्झाउँदै ती तीन टुक्रामध्ये इन्द्रको हातकोलाई स्वर्गमा, विष्णुको हातको पातालमा र ब्रह्माको हातको सिङचाहिँ सूर्यमती र चन्द्रमती बिचमा बग्ने बाग्मती नदीमा शिवलिंग स्वरूप मन्दिर स्थापना गर्न आदेश दिए । कालान्तरमा त्यस स्थानलाई गोकर्णेश्वर मन्दिरको नामले सम्बोधन भयो । त्यस मन्दिरमा श्रावण महिनाको सोमबारमा भगवान् शिवको दर्शन ढोग गर्न र तर्पण श्राद्ध गर्ने गरेमा आत्म कल्याण र पितृ तृप्तिको निमित्त उत्तम मानिन्छ । यस मन्दिरको महत्व तर्पण श्राद्धको विशेषता, महादेवका नामहरूमा एकनाम गोकर्ण भएका कथा हिमवत खण्डमा विशेष उल्लेख भएको पाइन्छ । उत्तरगया पनि भनिने गोकर्ण क्षेत्रको गोकर्ण महादेव स्थानलाई महायान बौद्ध धर्मावलम्बीले अष्ट तैतराग अर्थात् पितृ उद्धार हुने आठ ठाउँमध्ये एक ठाउँ मान्दै विश्वास गर्दै आएका र कुनै एक राजपुत्रले दिवंगत पिताले प्रेत नै भइरहेर धेरै दुःख पाएको थाहा हुँदा त्यसै गोकर्ण स्थानमा पीण्ड दान दिएपछि मात्र पिताको उद्धार भएको कुरा जनश्रुतिमा बताइएको पनि छ ।

कुशका विभिन्न प्रसंग शक्ति, उत्पत्ति आदि क्रियाकलाप तथा विधि हिन्दु पौराणिक ग्रन्थहरूमा उल्लेख छन् । पौराणिक विधिअनुसार कुशको बीउ छर्ने श्रावण शुक्ल चतुर्दशी र काट्ने उखेल्नेचाहिँ भाद्र कृष्ण औंसी तोकिएको छ । यसलाई उखेल्दा, काट्दा शास्त्रोक्त विधिले ॐ विरञ्चिना सहोत्पन्न परमेष्टि निसर्गतः नुद सर्वाणी पापानी दर्म स्वीत करो भव ? ॐ हुँ फट स्वाहा मन्त्र पढिन्छ । भागवत गीताको अध्याय ६ श्लोक संख्या ११ मा शुचौदेशे प्रतिष्ठाप्य स्थिर मासन मात्मनः नात्युच्छितम नाति निचं चै लाजिन कुशोत्तरम अर्थात् ध्यान गर्न आसनको निमित्त शुद्ध ठाउँमा कुशको चकटीमाथि मृगको छाला, त्यसमाथि कपडा बिच्छ्याई होचो/अग्लो मिलाई स्थिर आसनमा बस्न अथ्र्याइएको छ । भगवानको बराह अवचारमा “रौं” लाई कुश मान्ने धार्मिक चलनअनुसार त्यही रौंबाट बनेको आसनमा बसेर मुनी गणले तपस्या र यज्ञ सम्पन्न गराएको वर्णन छ । पृथ्वीको उद्धार गर्न लामा दाह्रा भएका बराह पातालतर्फ जाँदा थुतुनोमा पृथ्वीलाई अड्याएर फर्कंदै गर्दा हिरण्डाक्षले आप्mनो तुजुक बल देखाउन बराहसँग लड्न, भिड्न थाल्यो । दुवैबीच मुकाविलामा अन्ततः हिरण्डाक्ष मारियो । उसलाई मार्दाको परिश्रमको थकाइ मेटाउन बराह आराम गर्न पल्टिए । आराम गर्दाका क्षणमा ओल्टोकोल्टो फर्कंदा केही रौं झ¥यो र सोही रौंबाट कुश पैदा भएको वर्णन भागवत तृतीय स्कन्ध श्लोक संख्या २९ र ३१ मा उल्लेख छ । सत्य युगमा जालन्धरकी पत्नी बृन्दाको धर्म नष्ट गराउन लागेका विष्णु भगवानलाई बृन्दाले घाँस हुन परोस् भनी श्राप दिँदा विष्णु भगवान् कुश भएका, भगवान् इन्द्रले कुशलाई धर्तीमा पठाएका रोचक वर्णन कथा पुराणमा उल्लेख भएको धेरैलाई ज्ञात भएकै कुरा हो ।

स्वास्थ्यका दृष्टिकोणले कुशको जरा विभिन्न आयुर्वेदिक उपचारमा प्रयोग गरिने वनस्पतिविद्हरू बताउँछन् । कुश शब्दलाई विभिन्न तात्पर्य जनाउने अर्थमा प्रयोग भएको पाइन्छ । कुश राखेको ठाउँ अमृत भण्डारमा सर्पहरूले सो अमृत चाट्दा कुशको तिखो धारले सर्पको जिब्रो काटिई दुई प्mयाक भएको, तीक्ष्ण बुद्धि भएको व्यक्तिलाई कुशाग्र बुद्धिको संज्ञा दिइएको छ ।

कुशको महिमा र विशेषताको अतिरिक्त आजको सन्दर्भ पिताको मुख हेर्ने दिनमा पनि विशेष उल्लेखनीय छ । प्राचीन वैदिक आदर्श वाक्य पितृदेवो भवः मातृदेवो भवः अतिथि देवो भवः शिक्षामूलक पूर्वीय संस्कार हुन् । मृत्यु वरण गरेकालाई तर्पण श्राद्ध र जीवित श्रद्धेयलाई दर्शाउनु सेवा गर्नु अति उत्तम संस्कार हुन् । यस्तो संस्कार र विशेषता भए पनि समय र व्यवहारले कता–कता कोल्टो फेरेको पनि देखिन्छ ।

आप्mना सन्तानको पालन–पोषण र उन्नति–प्रगति अघि बढाउन कुनै पनि दुःख–कष्टको ख्याल नगरी सतत् प्रयासरत रहने र सत्मार्गमा लगाउने पिता–माताप्रति कृतज्ञता प्रकट गर्नु पारिवारिक र सामाजिक दायित्वको विषय हो । पश्चिमी सभ्यताले गाँजेको, पैसामा केन्द्रित व्यक्तिवादी समाजको विकासका कारण वर्तमान समयमा परम्परागत पारिवारिक संरचना विखण्डित हुँदै गएको छ । वृद्ध पिता–माताको स्याहार, सुसार र पालन–पोषणमा वर्तमान पुस्ता प्रायः उदासीन हुँदै जाँदो छ । यो कुरालाई सम्झाउन कवि शिरोमणि लेखनाथ पौड्यालको भनाइ निकै उत्कृष्ट र घतलाग्दो छ ।

“पाली पोसी ठूलो पारी सत्कर्म तिर लाउन ।
कति कष्ट पर्यो होला पितालाई तिम भन ।”

कुसेऔंसीलगायत जुनसुकै चाडपर्व र संस्कार राष्ट्रको पहिचान र संस्कृतिको धरोहर हुन् । यस्ता पर्वहरूको महत्व बुझेर तिनीहरूले दिन खोजेको ज्ञान सन्देश र चिन्तनतर्फ सचेत हुन आवश्यक छ । रमाइलो पक्षपट्टि मात्र ध्यान केन्द्रित गरी अन्धाधुन्ध पश्चिमा सभ्यता पच्छ्याउँदा हाम्रा चाडपर्वहरू नराम्रो खाडलमा परी लोप हुन नै सक्छन् कि भन्ने पनि सोच्नुपर्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -