३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् ।
पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरु गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरु सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन् ।
ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले महामन्त्री र प्रवक्ताको पदबाट हटाएको थियो । सो निर्णयविरुद्ध उनले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा रास्वपाले साउन ३० गते ढकाललाई पुनः स्पष्टीकरण सोधेको थियो ।
त्यसको जवाफी पत्रमा ढकालले लेखेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’
पार्टी र पार्टीका नेताहरुविरुद्ध लागेको आरोप लगाउँदै रास्वपाले मुकुललाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । मुकुलले तीन बुँदे प्रतिप्रश्न गर्दै आफूले पार्टी स्थापना भएदेखि नै पार्टीलाई हानि हुने, शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने र पार्टीका नेताहरुमाथि झुटा आरोप लगाउने जस्ता काम नगरेको बताएका छन् ।
रविलाई मुकुलका ३ प्रतिप्रश्न
मुकुलले रविलाई सहकारी ठगी मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भनेर सोधेका छन् ।
उनले रविलाई दुईवटा राहदानी (पासपोर्ट) प्रयोग गरेको विषयमा पनि प्रश्न गरेका छन् । ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ ? भनेर पनि मुकुलले प्रश्न गरेका छन् ।
अन्तिम प्रश्नमा मुकुलले भनेका छन्, ‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो, जनता र पार्टीका साथीहरुलाई स्पष्ट पार्नुहोस् ।’
‘का.स.मु. (कार्य सम्पादन मूल्यांकन) मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्टाचारको संकेत होइन ?’ मुकुलले भनेका छन्, ‘आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरुको बैंक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?’