गोरखा । गोरखाको हिमाली भेगका स्याउ बगैँचा यतिबेला पाकेर राताम्मै भएको छ २८ सय मिटर उचाइ र २६ सय मिटर उचाइमा रहेका विशाल स्याउ बगैँचा राता स्याउले ढाकिएको हो ।
चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित इन गोरखा प्रोडक्टको बगैँचा १२ हजार बोट लटरम्म स्याउले भरिभराउ छ । लाक्पाडुण्डुप लामाको सो स्याउ बगैँचामा बिगत तीन वर्षदेखि स्याउ उत्पादन हुन सुरु गरेको हो । लामाले २६ सय मिटर उचाइमा अवस्थित आफ्नो बगैँचाको स्याउलाई ‘चुमनुब्री स्याउ’ नाम दिएर ब्राण्डिङ गरेका छन् । लामा गतबर्ष ३० हजार किलो स्याउ उत्पादन गरेर विक्री गर्नुभएको थियो ।
चुमनुब्री गाउँपालिका २ ल्होस्थित विशाल मनास्लु फार्म तथा अध्ययन केन्द्रको बगैँचा पाँच हजार बोट स्याउले लटरम्म छ । छिरिङ धार्के लामाको सो स्याउको बगैँचामा गत वर्षदेखि स्याउ उत्पादन हुन सुरु भएको हो । पहिलो बर्ष भएकाले गतबर्ष सातसय किलोग्राम मात्र उत्पादन भएको थियो । ‘यसबर्ष १० हजार किलोग्राम उत्पादन हुने अनुमान छ’, लामाले भन्नुभयो ‘मैले मेरो बगैँचाको स्याउलाई मनास्लु स्याउ नामले ब्राण्डिङ गरेको छु । २८ सय मिटर उचाइमा फलेको स्याउ भएकाले यो स्याउ हेर्दा सानो भएपनि निक्कै रातो, स्वादिलो र हेर्दा पनि निकै आकर्षक हुन्छ ।’
गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो । कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । मनास्लु स्याउ र चुमनुब्री स्याउको बगैँचा स्याउ खेतीसम्बन्धी अध्ययन गर्नेहरूका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गरिएको छ ।