Tuesday, November 26, 2024
घरसमाचारजेलबाट निकाल्छु भन्दै ठगेको रकम फिर्ता

जेलबाट निकाल्छु भन्दै ठगेको रकम फिर्ता

– डम्बरसिं राई

खोटाङ — विभिन्न मुद्दामा खोटाङ कारागारमा सजाय भोगिरहेकालाई जेलमुक्त गराइदिने भन्दै ठगी गरेका व्यक्तिले रकम फिर्ता गरेका छन् ।हत्या कसुरमा सजाय भोगिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका कटकबहादुर तामाङ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका डम्बरबहादुर कार्कीलाई छुटाइदिने भन्दै सिन्धुली दूधौली नगरपालिका–१० का निलेन्द्रकुमार कर्णले रकम लिएका थिए ।२०७५ पुस १४ मा लागूऔषध अपराधमा उदयपुरको गाईघाटबाट पक्राउ परी उदयपुर, खोटाङ र केन्द्रीय कारागारमा चार वर्ष जेल बसेर छुटेका कर्णले कटकबहादुरको परिवारबाट २ लाख ५० हजार रुपैयाँ र अवैध हातहतियार तथा आखेटोपहार मुद्दामा जेल जीवन बिताइरहेका कार्कीबाट १ लाख ९० हजार लिएका थिए । यीमध्ये कटकबहादुरकी श्रीमती जुनकिरी तामाङले दुई फरक व्यक्तिका बैंक खातामा जम्मा गर्न लगाएपछि २०७९ कात्तिक १७ मा सुनिता अधिकारीको नाममा रहेको सेन्चुरी बैंकको खातामा ५० हजार र तीन महिनापछि माघ २४ मा राजवंशीलाल कर्णको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा २ लाख रुपैयाँ हालिदिएकी थिइन् ।

कर्णले चार लाख रुपैयाँ मागेको तर २ लाख ५० हजार रुपैयाँ मात्र दिएकी र बाँकी १ लाख ५० हजार मान्छे छुटेपछि दिने सहमति भएको थियो । त्यस्तै ०७८ जेठ १ मा पक्राउ परेर खोटाङ कारागारमै रहेका कार्कीलाई छुटाउने भन्दै कार्कीका नाता पर्ने (साली) इलामको राँके मूल घर भई हाल काठमाडौं चाबहिलमा बस्ने सुनिता अधिकारीबाट १ लाख ९० हजार लिएका थिए ।

कान्तिपुरमा समाचार प्रकाशित भएपछि कर्णले ठगेको रकम फिर्ता गरेका हुन् । सुनिताले भनिन्,‘कारागारमा हुँदा सामान लगि दिएको थोरै रकम भने दिएको छैन ।’जुनकिरीले पनि आफूबाट ठगी गरेको सबै रकम फिर्ता भएको बताएकी छन् । उनले भनिन्, ‘सयकडा तीन प्रतिशतले ऋण लिएर दिएको पैसा फिर्ता भयो यसैमा खुसी छु ।’ कर्णले आफूले गृह मन्त्रालयका कर्मचारी चिनेको र तिनीहरूलाई पैसा बुझाएर मान्छे छुटाउन सकिने भन्दै रकम असुलेका थिए । कान्तिपुरसँगको कुराकानीको क्रममा कर्णले सुनिता र राजवंशीलाई गृह मन्त्रालयका कर्मचारी रहेको दाबी गरेका थिए ।कटकबहादुर उनका दाजु धनबहादुर र भाइ वीरबहादुरसहित स्थानीय नवराज दाहालको हत्या अभियोगमा २०६० असोज १५ मा जेल परेका थिए । अदालतले ०६३ फागुन ६ मा फैसला सुनाउँदा उनीहरू थुनामा बसेको १ वर्ष ६ महिना १० दिन भइसकेको थियो । थुनामा बसेको अवधि कटाएर उनीहरूलाई अदालतले १८ वर्ष ३ महिना २० दिन बाँकी जेल भुक्तान गर्ने फैसला सुनायो ।

कैदी जीवन बिताइरहेका बेला २०६२ असार ५ मा तत्कालीन विद्रोही माओवादीले खोटाङ कारागार आक्रमण गरेका बेला उनीसहितका कैदीबन्दी भागेका थिए । कारागारबाट भगाइएका तीन जना ०७४ चैत ५ मा फेरि अदालतमा हाजिर भए र बाँकी जेल भुक्तानका लागि कारागार चलान भए । कारगारका अनुसार उनीहरूले जेल भुक्तान अवधि पूरा हुने मिति २०९३ असार २४ मा हो । तीन दाजुभाइमध्ये वीरबहादुर भने ०७९ असोज २ मा गृह मन्त्रालयको पत्रानुसार सजाय माफी मिनाहामा छुटिसकेका छन् भने दुई जना अहिले पनि कैद भुक्तानमा छन् । कर्णले यो व्यक्तिगत कारोबारको विषय भएको दाबी गरेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -