२०८२ बैशाख १० गते, बुधबार १७:३१

काठमाडौं/

राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा कलम चलाउँदै आएका वीर गोर्खाली अनलाइन टिभीका सञ्चालक मनोज सपकोटामाथि प्रहरीले ‘अपहरण शैली’मा कार्यकक्षमै छिरेर नियन्त्रणमा लिएको छ।

बिहीबार, उनी आफ्नै स्टुडियोमा एक अतिथिसँग अन्तर्वार्तामा व्यस्त रहँदा सादा पोशाकधारी प्रहरी टोलीले कुनै पुर्पक्ष जानकारी बिना अपमानजनक शैलीमा नियन्त्रणमा लिएको थियो। सोधपुछ गर्नुछ भन्ने नाममा गरिएको यो घटनाले पत्रकारिता जगतमा गम्भीर सवाल खडा गरेको छ।

स्टुडियोमा उपस्थित कर्मचारीहरूका अनुसार, सापकोटालाई प्रहरीहरूले दुर्व्यवहारपूर्ण शैलीमा लगेको दृश्य आफैंमा स्तब्ध पार्ने खालको थियो। राष्ट्रका संवेदनशील मुद्दा उठाउँदै आएका सञ्चारकर्मीलाई यति गैरजिम्मेवार तरिकाले नियन्त्रणमा लिनु प्रष्ट रूपमा तानाशाही प्रवृत्तिको प्रतिबिम्ब हो भन्ने टिप्पणीहरू आइरहेका छन्।

मानवअधिकारको धज्जी उडाउने गरी सञ्चार स्वतन्त्रताको अपमान गर्ने उक्त घटनाले प्रहरी प्रशासनको नियतप्रति गम्भीर शंका उठाएको छ। सपकोटाको अनलाइन टिभी लामो समयदेखि राष्ट्रवादी विचारधारा, समाज परिवर्तन र जनआवाजको बुलन्द मञ्च बन्ने प्रयासमा क्रियाशील रहँदै आएको छ।

यो गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षणमा गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। विभिन्न सञ्चारकर्मी, मानवअधिकारकर्मी र नागरिक समाजले तत्काल सपकोटाको रिहाई र घटनाबारे पारदर्शी छानबिनको माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्