काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठक सुरु गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि
सभाध्यक्ष दाहालले नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीलाई बोल्न समय दिनुभएको थियो । सभामा सांसद अछामीले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङप्रति पूर्वाग्रही भर्ई पदबाट हटाइएको भन्नुहुँदै यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्टीकरण नदिएसम्म सदन चल्न नसक्ने बताउनुभयो ।
सांसद अछामीले आफ्नो भनाइ सक्ने बित्तिकै सभाध्यक्ष नारायणप्रसाद दाहालले सांसदले राख्नुभएको विषयमाथि सभाको ध्यानाकर्षण भएको भन्नुहुँदै सभा सञ्चालनका लागि यथास्थानमा बस्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालको पटक पटकको आग्रहपछि समेत सांसदहरु बस्न
नमानेपछि अध्यक्ष दाहालले १५ मिनेटका बैठक लागि स्थगित भएको जानकारी गराउनुभयो ।