गुल्मी । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा दोस्रो गुल्मी महोत्सव २९ चैतदेखि १३ वैशाखसम्म सञ्चालन हुने छ । कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला सञ्चालन हुने भएको छ ।
सोमबार तम्घासमा पत्रकार सम्मेलन गर्दै गुल्मी चेम्बर अफ कमर्सले ‘गुल्मी जिल्लाको समृद्धिको आधार: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुख्य नारासहित महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेका अनुसार तम्घासको रेसुङ्गा नगरपालिका–२ स्थित नुनथलामा महोत्सव आयोजना हुनेछ ।
चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले महोत्सवबाट ३० करोड बराबरको आर्थिक कारोबार र डेढ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो । महोत्सवमा गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई प्राथमिकता दिइने आयोजकको भनाइ छ ।
महोत्सवले गुल्मीको कृषि, घरेलु औद्योगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन र प्रचार प्रसार महत्त्वपूर्ण भूमिका खेल्ने गुल्मी चेम्बर अफ कमर्स गुल्मीका वरिष्ठ उपाध्यक्ष विरेन्द्र भुसालले बताउनुभयो ।
गुल्मीकै लागि, व्यवसाय चलायमानका लागि, स्थानीय प्रतिभालाई प्राथमिकताका लागि, सस्तोमा समान उपलब्ध गराउनका लागि, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि, मनोरञ्जनका लागि र समग्रमा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवले टेवा पुर्याउने पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो ।