Friday, March 28, 2025
घरसमाचारचेन्नईमा नेपाल प्रवर्द्धन

चेन्नईमा नेपाल प्रवर्द्धन

११ चैत, काठमाडौं । भारतको चेन्‍नईमा नेपाल प्रवर्द्धन गरिएको छ । ‘ट्राभल एन्ड टुरिज्म फेयर (टीटीएफ) चेन्नई–२०२५’ मा नेपाल पर्यटन बोर्डले सर्वोत्कृष्ट स्टल सजावट पुरस्कार समेत पाएको छ ।

भारतको चेन्नई ट्रेड सेन्टरमा २१ देखि २३ मार्चसम्म टीटीएफ आयोजना गरिएको हो । पर्यटन बोर्डले आफ्नो स्टलमार्फत पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न नेपालका विभिन्‍न पर्यटन उत्पादन, पर्यटन गन्तव्य, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, धार्मिक यात्रा र सांस्कृतिक सम्पदाको आकर्षक प्रदर्शनमा राखेको थियो ।

नेपाल स्टल भ्रमण गर्दै तमिलनाडुका पर्यटनमन्त्री थिरु आर राजेन्द्रले नेपाल र भारतबीचको बलियो पर्यटन सम्बन्ध रहेको र आगामी दिनमा पर्यटन सहकार्य विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

चेन्‍नईमा भएको टीटीएफमा नेपाललाई दक्षिण भारतमा आफ्ना विविध यात्रा प्रस्ताव प्रवर्द्धन गर्न उत्कृष्ट प्लेटफर्म भएको बोर्डले जनाएको छ ।

नेपालको स्टलमा विभिन्‍न देशका उत्साही यात्रु, मिडिया प्रतिनिधि, टुर अपरेटर, व्यावसायिक प्रतिनिधि र विद्यार्थी गरी उल्लेखनीय संख्यामा आगन्तुकले नेपाली प्रदर्शनी अवलोकन गरेको बोर्डका प्रतिनिधि कविन्द्र भट्टले बताए ।

पर्यटन बोर्डका अधिकारीहरू शिवराज पाण्डे र कविन्द्र भट्टले आन्ध्र प्रदेश पर्यटन, तमिलनाडु पर्यटन र केरल पर्यटन व्यवसायी तथा सरकारी अधिकारीहरूसँगको पर्यटन सहकार्यका विषयमा छलफल गरेका थिए ।

नेपाल र भारतबीचको बलियो सांस्कृतिक र पर्यटन सम्बन्धले यस्ता कार्यक्रमलाई पर्यटन आदान–प्रदान वृद्धि गर्न पुलका रूपमा काम गरेको भट्टले जानकारी दिए ।

सन् २०२४ मा हवाई मार्गबाट नेपाल आएका भारतीय पर्यटक संख्या ३ लाख १७ हजार ७ सय ७२ पुगेको छ, जुन नेपालमा कुल आगमनको करिब एक तिहाइ हो । यसबाहेक, करिब १५ लाखभन्दा बढी भारतीय पर्यटक स्थलमार्गबाट नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ ।

पर्यटन बोर्डले आफ्नो पहुँच विस्तार गर्दै भारतीय पर्यटकलाई नेपालको मनोरम भूदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र मैत्रीपूर्ण आतिथ्य अनुभव गराउन लागिरहेको जनाएको छ । टीटीएफमा २५ निजी क्षेत्रका ट्राभल एजेन्सीले सहभागिता जनाएका थिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -