१० चैत, दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ मनिकापुरमा चहलपहल थियो । स्थानीय, समाजसेवी र जनप्रतिनिधिहरु भेला भएका थिए । टेन्ट मुनि चार महिला र सात पुरुष हातमा कागज लिएर उभिए र गाईका बाच्छी छुँदै कसम खाए– ‘म सन्तुलित समाजको निर्माणमा चिन्तनशील रही गौ रक्षामा लागिरहने छु ।’
यो दृष्य हो मनिकापुरस्थित गढवा गौशाला तथा स्थानीय जातका गाई संरक्षण केन्द्रको साधारण सभाको । पहिलो साधारण सभाबाट चुनिएका कार्यसमितिका पदाधिकारी र सदस्यहरुले गाई संरक्षणमा लागिरहने भन्दै सपथ ग्रहण गरेका थिए । उनीहरुलाई निर्वाचन मण्डलका संयोजक उमाकान्त पन्तले गाईका बाच्छी छोएर सपथ खुवाएका थिए ।
जितबहादुर आले मगर नेतृत्वको गौशाला व्यवस्थापन समितिमा हिन्दु र मुस्लिमदेखि आदिवासी जनजाति, दलित र ब्राह्मणसम्मको प्रतिनिधित्व छ ।
समितिको उपाध्यक्षमा देवराज यादव, सचिवमा भरतकुमार पन्त, कोषाध्यक्षमा रुपा गिरी, सहसचिवमा पटवारी यादव छन् । त्यसैगरी सदस्यहरूमा मोहम्मद मुस्तफा गुजर, गुरुप्रसाद यादव, हिमा अधिकारी, वीरसिंह थापा, आशा विश्वकर्मा र हिमाल नेपाली चुनिएका छन् ।
सपथ ग्रहणपछि उनीहरुलाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदाकुमारी चौधरी लगायतले अबिर लगाइदिएर बधाई दिए ।
स्थानीय उमाकान्त पन्तका अनुसार गाउँमा छाडा गाईले दुःख दिन थालेपछि खुला ठाउँमा थुनेर राख्ने कान्जी हाउसको रुपमा पालिकाले काम गर्न सुरु गरेको थियो । गौशाला व्यवस्थापन समितिका सचिव भरतकुमार पन्तका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि नै छाडा गाईहरूको संरक्षण कार्य गर्दै आए पनि २०८१ साल वैशाख २ गतेमात्र स्थानीय सरकारमा गढवा गौशाला विधिवत रुपमा दर्ता भएको थियो ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल अध्यक्ष निर्वाचित भएर आएपछि ८ लाख ५९ हजार ६ सय रुपैयाँ अनुदान दिएपछि व्यवस्थित गौशाला बनाउने क्रम सुरु भएको थियो ।
हाल गौशालामा स्थानीय प्रजातिका २८३ वटा गाई छन् । उनीहरुको रेखदेख गर्ने ६ जना कर्मचारीहरु छन् । चारजना गाई हेरालुले बिहान ९ बजेदेखि ४ बजेसम्म काम गर्छन् । अन्य दुईजना सहयोगी कर्मचारीले बाच्छाबाच्छी रेखदेखको जिम्मा लिएका छन् ।
तीन जना कर्मचारीलाई पालिकाले नै मासिक रुपमा तलब दिन्छ । बाँकी तीन जनालाई गौशालाले नै आन्तरिक स्रोतबाट तलब खुवाउँछ ।
गौशालाले गड्यौला मल, काँचो गोबर, पिसाब र गाई–गोरु बिक्री गरेर आम्दानी गर्दै आएको छ । गाईका लागि पराल स्थानीयले दाताले निःशुल्क उपलब्ध गराउँछन् । अपुग भएमा गौशालाले नै खरिद गर्छ ।
गाई संरक्षण केन्द्रकी कोषाध्यक्ष रूपा गिरीले साधारण सभामा११ लाख ५ हजार ५५० रुपैयाँ बराबरको आम्दानी र ९ लाख ३० हजार ८२२ रुपैयाँ बराबरको खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
गढवा गौशाला तथा स्थानीय प्रजातिका गाई संरक्षण केन्द्रको पहिलो प्रथम साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पोख्रेलले आफू निर्वाचित भएदेखि नै गौशालालाई व्यवस्थित बनाउन क्रियाशील रहेको बताए ।
गौशालालाई व्यवसायसँग जोड्नुपर्ने बताउँदै उनले भने, ‘अब दुहुना गाई समेत पालेर दूध, दही, घिउ, पनिर लगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्ने अनि कपोष्ट मल उत्पादन गर्ने योजना छ ।’
स्थापनाकालको समयमा गढवा गौशालाको अवस्था दयनीय देखेपछि आफू निर्वाचित भएको पहिलो वर्षमै गौशाला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरी, गौशाला स्थानान्तरण गरी व्यवस्थित बनाउनेतर्फ अग्रसर भएको उनले बताए ।
साधारण सभामा अध्यक्ष पोख्रेलले पनि कसम खाए, ‘हाम्रो गौमाता र आस्थाको धरोहर भएकाले पनि गाईको संरक्षण गर्न परमकर्तव्य ठानेको छु । गौशालालाई आत्मनिर्भर बनाउने छु र प्रकृतिको कूचिकार मानिने गिद्धको संरक्षणमा समेत काम गर्ने योजना बनाएको छु ।’
कार्यक्रममा गौशालाका सहयोगी, दाता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
– आलोक भावुकको सहयोगमा