९ चैत, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा चयन भएका छन् । महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।
यसअघि महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै सापकोटालाई संयोजकको जिम्मा दिएको थियो ।
उपाध्यक्षमा सुवर्ण श्रेष्ठ र शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा प्रकाश पौडेल, सचिवहरूमा डोलनाथ खनान, गोपाल खनाल, सरोज यादव र रामराजा श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै, ९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत भएको सापकोटाले जानकारी दिए ।
एजेन्डा, छलफल र व्यवसायका हिसाबमा आफूहरूको महाधिवेशन भव्य भएको नवनिर्वाचित अध्यक्ष सापकोटा बताउँछन् ।
‘एजेन्डा, छलफल र व्यवसायको इन्भलमेन्टको हिसाब सबैले यो भव्य भयो । हामीले प्रधानमन्त्री, आर्थिक सल्लाहकार, उद्योगमन्त्रीसहितलाई यो हलमा ल्याएर व्यवसायीका अहिलेका समस्या के हुन्, कसरी जानुपर्छ भनेर पर्याप्त सुझाव दिएका छौं,’ उनले भने ।
महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैं पुगेका थिए ।
एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आवद्ध छन् । महासंघको ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको छ ।
महासंघमा विभिन्न ११ वटा वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरू सदस्य रहेको बताइएको छ ।