Saturday, March 22, 2025
घरसमाचाररुपन्देहीमा तिलोत्तमा गोल्डकप हुँदै, भारतीय टिम पनि सहभागी हुने

रुपन्देहीमा तिलोत्तमा गोल्डकप हुँदै, भारतीय टिम पनि सहभागी हुने

रुपन्देही । रुपन्देहीमा शनिबारदेखि रुपन्देहीमा २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप सुरु हुँदैछ ।

प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङ्गो लगाएर टाइसिट तयार भैसकेको छ । प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपीएफ, सङ्कटा एफसी, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने छ ।

रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटबल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्म्याउनेका काम सकिएको र दर्शक बस्ने प्यारा फिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आकर्षक बनाउने काम भइरहेको संघका सचिव शङ्कर मल्लाहाले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल चैत्र ९ गते आयोजक करेन्ट रुपन्देही–११ र एपीएफबीच हुने छ । चैत्र १० गते चर्च व्याइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते सङ्कटा एफसी र जर्जियन एफसी, भारत, चैत्र १२ गते मच्छिन्द्र एफसी र एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारतबीच खेल हुने छ । प्रतियोगिताको फाइनल चैत्र १६ गते हुने छ ।

यशोदा फुड्स प्रालि र त्रिमूर्ति ईण्डष्ट्रिज प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी हात पाउने छ भने सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिने छ । प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ११ हजार १ सय ११ सहित ट्रफी प्रदान गरिने संघका अध्यक्ष लोक पुनले जनाएका छन् । प्रतियोगिताको २२ औँ संस्करण मनाङ मर्स्याङ्दी क्लब, काठमाडौँले जितेको थियो ।

तिलोत्तमा गोल्ड कपको हालसम्म आयोजित २२ वटा प्रतियोगितामा सहभागी भएका १५ क्लबले उपाधि जितेका छन् । जसमा तीन वटा उपाधि विदेशी टिमहरू भारतको बम्बई फर्टिलाईजर मुम्बई र महिन्द्रा एण्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसीले जितेका छन् ।

प्रतियोगिताको २०३३ सालमा आयोजित पहिलो संस्करणको उपाधि सिद्धार्थ खेलकुद परिषद् रुपन्देहीले जितेको थियो भने २२ औँ संस्करणको (डिफेण्डीङ च्याम्पियन) उपाधि मनाङ मर्स्याङ्दी क्लब रहेको छ । हालसम्म कालिका स्पोर्टिङ क्लब र महेन्द्र पुलिस क्लबले ३–३ पटक जितेर कप कब्जा गरेका छन् भने त्रिभुवन आर्मी क्लब र रुपन्देही ११ ले २–२ पटक जितेका छन् ।

यो प्रतियोगिता बम्बई फर्टिलाइजर भारत, जनकपुर चुरोट कारखाना, आरएनएसी, महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सिएमसी सङ्कटा, थ्रिस्टार क्लब काठमाडौँ, क्यामरुनको दाउफिन्स एफसी र मनाङ मर्स्याङ्दी क्लबले १–१ पटक जितेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -