५ चैत, काठमाडौं । पार्टीमा समन्वय नगरी नवराज सुवेदीको राजावादी मोर्चामा गएको भन्दै राप्रपा नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणाको आलोचना भएको छ । मंगलबार राजधानीमा बसेको राप्रपा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले दलीय व्यवस्थामा दलको विकल्प कुनै समूहले लिन नसक्ने भन्दै त्यस्तो प्रयासमा किन समन्वय नगरी गएको भन्दै मिश्र र राणामाथि प्रश्न उठाए ।
यसअघि महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति रहँदै आए पनि अध्यक्ष लिङ्देन नेतृत्वको मूल समितिसँग समन्वय नै नगरी एकलौटी अघि बढेको भन्दै पार्टीमा आलोचना भयो ।
‘नवराज सुवेदी दाइले मलाई आउनुपर्यो भन्नुभएको थियो, तर हाम्रो आफ्नो आन्दोलन परिचालन समिति छ, साथसहयोग हुन्छ भनेको थिएँ,’ लिङ्देनले बैठकमा भने, ‘मैले पठाएका प्रतिनिधि कहाँ हराए, तर वरिष्ठ नेताहरु चाहिँ त्यहाँ सक्रिय भएको देखियो, कुरो के हो ?’
अधिकांश सहभागीले पार्टी नेताहरु आ–आफ्नो शैलीमा चल्न थालेको आलोचना गरे । सोमबारको कार्यक्रममा गएका प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले पनि दुर्गा प्रसाई लगायत केही व्यक्तिको मनपरी शैली देखेपछि बीचमै हिँडेको प्रष्टीकरण दिएका थिए । दुवै नेताहरु सोमबार केही बेर बसेर केही व्यक्तिको कार्यशैलीप्रति आपत्ति जनाउँदै हिँडेका थिए । त्यसपछि रवीन्द्र मिश्र र राणा लगायत केही नेता अन्तिमसम्मै रहे ।
खासगरी पाँचपाने वक्तव्य तयार पार्ने काममा राजसंस्था पुनर्स्थापना संयुक्त संघर्ष समितिका तर्फबाट सदस्य सचिव राखिएका मिश्र, अनि आन्दोलन परिचालन समिति संयोजक राणामाथि प्रश्नहरु उठेको थियो । मिश्रले आफ्नो कार्यशैलीमा त्रुटि भएकामा आत्मालोचना गरे, तर आफ्नो राजसंस्था पुनर्स्थापनाको आन्दोलन अझ प्रभावकारी रुपमा अघि बढाउँ भन्ने नियतमा कुनै खोट नरहेको प्रष्ट गरे ।
नेता लोहनीले दुर्गा प्रसाई लगायत पात्रहरुको नियतमाथि प्रश्न उठाउँदै भने, ‘दिज् पिपुल क्यान नट बि ट्रस्टेड ।’ अर्थात् लोहनीको भनाईमा यी पात्रहरु राजसंस्थाको गरिमा फिर्ता गराउँदै आन्दोलन हाँक्न योग्य, अनि पत्यारलाग्दा पात्र होइनन् । लोहनी लगायत नेताहरुले सुझबुझपूर्ण दलीय नेतृत्वबाट मात्रै राजसंस्था फिर्ताको आन्दोलन अघि बढ्न सक्ने बताए ।
उनीहरुले मिश्र, राणा लगायतलाई संवेदनशील एजेन्डामा जथाभावी नगर्न चेतावनी पनि दिएका छन् ।
नेताहरुका अनुसार महामन्त्री राणाको भूमिका खुम्च्याइएको छ । अब उनले आन्दोलनका कार्यक्रमहरु लिङ्देन नेतृत्वको मूल समितिसँग समन्वय गरेर मात्रै तय गर्न सक्नेछन् । १२ चैतमा बृहत् भेला राखेर राजावादी आन्दोलन अघि बढाउने राप्रपाले बताएको छ ।
राप्रपा नेता मोहन श्रेष्ठले अब हुने आन्दोलन कसैलाई पनि निषेध नगरी बृहत्तर दायरामा अघि बढाइने बताए । ‘सात सालदेखिका प्रत्येक आन्दोलनमा कसै न कसैमाथि तुष राखिएको छ, बाहिर पारिएको छ, त्यसले समाधान दिने भन्दा नि समस्यालाई अझ चर्काउने हुँदो रहेछ भन्ने इतिहासको अनुभवले देखाइसक्यो,’ श्रेष्ठले भने, ‘अबको आन्दोलनमा सबै अँटाउने, कसैमाथि प्रतिशोध नसाध्ने नीति हुन्छ । पार्टीमा यसैबारे घनीभूत छलफल गरेका छौं ।’
राप्रपा नेताहरुले नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चातर्फ गम्भीर चासो दिएका छैनन् । त्यसभित्र विश्वसनीय पात्र नभएको भन्दै राप्रपाले स्थगित आन्दोलन हाँक्न पार्टीकै नेतृत्वमा बृहत्तर मोर्चा बन्ने संकेत गरेको छ ।
पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि सिंहासनमा फर्काउन प्रयासहरु सुरु भएका छन् । योसँगै पुराना राजावादीहरुभित्र पहिलेदेखि नै चल्दै आएको व्यक्तित्व टकराव छताछुल्ल भएको छ ।