१ चैत, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा भइरहेको २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको दोस्रो दिन शनिवार विभागीय टोलीहरु हावी बनेका छन् ।
समूह ए मा रहेका विभागीय टोली द्वय त्रिभुवन आर्की र नेपाल पुलिस क्लबले दोहोरो जित हात पारेका छन् ।
त्रिपुरशेवरस्थित राष्ट्रिय कभर्डहलमा भएको प्रतियोगितामा समूह ए मा रहेको आर्मीले कोशी प्रदेशलाई ७३-१३ र कर्णाली प्रदेशलाई ५२-१६ को फराकिलो अन्तरले हरायो । कोशी विरुद्ध आर्मीकी गंगा घिमिरे र कर्णाद्यी विरुद्ध आर्मीकी नानु माया पराजुली प्लेअर अफ दि म्याच घोषित भए ।
पहिलो दिन पुलिसला२ पराजित गरेको आर्मी लगातार तीन खेल जित्दै समूह ए मा अपराजित छ ।
यस्तै पहिलो दिन एक जित र एक हारको नतिजा निकालेको पुलिसले दोस्रो दिन दुई खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ३६-२२ र गण्डकी प्रदेशलाई ३६-१६ ले हरायो । दुवै खेलमा पुलिसकी मानमती विष्ट प्लेअर अफ दि म्याच घोषित भइन् ।
समूह ए मा सबै चार खेल खेलेको पुलिसले तीन जित र एक हारको नतिजा निकालेको छ ।
समूह ए कै अन्य खेलमा गण्डकी प्रदेशले कोशी प्रदशेलाई ३७-३३ ले हरायो । गण्डकीकी रोसनी सरु प्लेअर अफ दि म्याच घोषित भइन् ।
यस्तै शनिवार समूह बी अन्तर्गत अर्को विभागीय टोली सशस्त्र प्रहरी एपीएफले पनि दुई खेल जित्यो । पहिलो खेलमा बागमती प्रदेशलाई ३६-१६ ले हराएको एपीएफले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ४३-१५ ले पराजित गर्यो । बागमती विरुद्ध एपीएफकी रविना चौधरी र गण्डकी विरुद्ध एपीएफकै आसिका कुँवर प्लेअर अफ दि म्याच घोषित भए ।
समूह बी मै सुदूरपश्चिमले पनि शनिवार दोहोरो जित हात पारेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४३-३८ ले पराजित गरेको सुदूरपश्चिमले दोस्रो खेलमा मधेश प्रदेशलाई २४-१२ ले हरायो । लुम्बिनी विरुद्ध सुदूरपश्चिमकी सृजना धानुक र मधेश विरुद्ध सुदूरकै मनिषा जोशी प्लेअर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत अन्तिम दिन आइतबार समूह चरणको बाँकी दुई खेलसँगै सेमिफाइनल र फाइनल खेल पनि हुनेछ ।
समूह चरणको अन्तिम खेलमा आइतबार आर्मी र गण्डकी तथा एपीएफ र मधेश प्रदेशबीच खेल हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण तय हुनेछ ।