१ चैत, काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको तेस्रो दिन शुक्रबार भएको खेलमा जित हात पार्दै लुम्बिनी र मधेशले उपाधि भिडन्त पक्का गरेका हुन् । मुलपानी मैदान (माथिल्लो) मा भएको पहिलो सेमिफाइनलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रहरी कार्यालयलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले युबराज सेन ओलीको ४७ बलमा ८१ रनको मदतमा १९.२ ओभरमा सबै विकेट गुमाएर १७५ रन बनाएको थियो । ४७ बल खेलेका युबराजले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै दिपेन्द्र थापाले २३ बलमा ३२ रन बनाए । सुदूरपश्चिम प्रहरी कार्यालय टिमका बलर पशुपति मल्लले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।
१७६ रनको लक्ष्य पछ्याएको सुदूर पश्चिम प्रहरी कार्यालय टिम १३.१ ओभरमा ६६ रनमै अलआउट भयो । सुदूरश्चिमका लागि सुरेश सिंह पुजार १२ रन र पशुपति मल्लले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गण्डकीका बलर अनुप कुमार निषादले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै रबिन गौडेल २ ओभरमा ११ रन दिएर ३ विकेट लिए भने युबराज सेन ओलीले २ विकेट लिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका युबराज सेन ओली प्लेअर अफ दि म्याच घोषित भए ।
आजै भएको दोस्रो सेमीफाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालय टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले पराजित गर्दै फाइनल पुग्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालय टिमले २० ओभरमा १४९ रन बनाएको थियो । मधेशका लागि मुनाल यादवले २९ बलमा समान ३ चौका र ३ छक्का प्रहारी ५४ रन बनाए । संजय साहले ४८ बलमा ३९ रन जोडे । यस्तै मधेशले २० रन अतिरिक्त प्राप्त गरेको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका लागि राजन भट्टराईले ४ ओभरमा १७ रन तथा चन्द्रदेव जोशीले ४ ओभरमा २२ रन दिएर समान २ विकेट लिए ।
१५० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले २० ओभर खेलेर ९ विकेटको क्षति १३७ रन मात्र बनाउन सक्यो । हेमन्त सिंहले २८ रन, चन्द्र देव जोशीले २० रन बनाए ।
मधेश प्रदेश प्रहरी कार्यालय टिमका बलर अजय ठाकुरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए । संजय साह ४ ओभर २४ तथा दिपेश रायले ३ ओभर २० रन खर्चेर १ विकेट लिए । उक्त खेलको प्लेअर अप द म्याच संजय साह भएका थिए ।
मधेश प्रदेश प्रहरी कार्यालय टिम र गण्डकी प्रदेश प्रहरी कार्यालय टिमबीच फाइनल खेल शनिबार विहान ९ बजे सुरु हुनेछ ।