२९ फागुन, काठमाडौं । आसन्न स्ववियु निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघबाट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यक्षको आधिकारिक उम्मेदवार अझै यकिन हुन सकेको छैन ।
त्रिविस्थित निर्वाचन अधिकृतको कार्यालयले नेविसंघबाट उम्मेदवारी दिएका अनोज कार्की र दीपकराज जोशीको नाम सार्वजनिक गरेको छ । कार्की र जोशी अध्यक्षका उम्मेदवारका रुपमा नाम प्रकाशित हुँदा आधिकारिक उम्मेदवारको अन्योल रहेको छ ।
२७ फागुनमा तोकिएको उम्मेदवारी दर्ताको समयावधिमा कार्कीले मनोनयन दर्ता गरेका थिए । कार्कीको पक्षमा त्रिविको नेविसंघ नेतृत्वसहित केन्द्रीय तहका नेताहरू पनि थिए ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, पार्टीबाट गठित निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री किशोरसिंह राठोर लगायत कार्कीको पक्षमा रहेको विद्यार्थी नेताहरूले दाबी गरेका छन् । त्रिविका स्ववियु सभापति श्यामराज ओझा पनि कार्कीको पक्षमा खुलेका थिए ।
‘विधिसंगत तरिकाले आधिकारिक उम्मेदवार अनोज हो,’ त्रिवि स्ववियु सभापति ओझाले भने ।
कार्कीले नाम दर्ता गरिसकेपछि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दीपकराज जोशीलाई उम्मेदवार बन्न पत्र पठाएका थिए । नेविसंघको पत्र अनुसार नै २७ फागुनमा कार्कीको नाम हटाएर निर्वाचन अधिकृतको कार्यालयले जोशीको नाम सार्वजनिक गर्यो । त्यसविरुद्ध त्रिवि नेविसंघका अध्यक्ष विष्णु बडैलाले विज्ञप्ति निकालेर विरोध जनाए ।
निर्वाचन अधिकृतको कार्यालयमा बडैलाको नेतृत्वमा तालाबन्दी भएपछि बुधबार कार्कीको नाम पनि सार्वजनिक गरियो ।
जोशीको उम्मेदवारी विधिसंगत नगरेको भन्दै कार्की पक्ष विरोधमा उत्रिएका छन् । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले विद्यार्थी संगठनले तालाबन्दी गरेको जानकारी गराए ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले केन्द्रले दीपकराजलाई टिकट दिएको तर विवाद भएकाले छलफलकै क्रममा रहेको जानकारी गराए ।
त्रिविमा नेविसंघका अन्य पाँच जनाले स्वतन्त्र उम्मेवारी दिएका छन् ।