सामाजिक सञ्जाल आजको युगको शक्तिशाली माध्यम हो । नेपालमा फेसबुक, ट्विटर, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्मले सूचना प्रवाह, मनोरञ्जन र सम्पर्कको आधार मात्र नभई समाजसेवा, जनचेतना र सहयोगको भावनालाई पनि तीव्र बनाएका छन् । तर यसको अर्को पाटो उत्तिकै चिन्ताजनक छ- भावनात्मक ब्ल्याकमेलिङ, सामाजिक दबाब र सामाजिक अभियन्ताको नाममा हुने ठगी ।
समाजसेवा र जनचेतनाको उज्यालो पक्ष
नेपालमा सामाजिक सञ्जालले समाजसेवालाई नयाँ गति दिएको छ । २०७२ सालको महाभूकम्पपछि युनेस्को र संस्कृति मन्त्रालयले आंशिक रूपमा क्षतिग्रस्त भएका पुरातात्त्विक संरचनाहरूको पुनर्निर्माण थालेका थिए । काठमाडौँ उपत्यकामा सयौंको संख्यामा ऐतिहासिक भवनहरू ध्वस्त भएका थिए भने आंशिक ध्वस्त हुने भवनहरुको संख्यापनि उत्तिकै थिए । महाभूकम्पपश्चात्, युनेस्कोले बहु-जातीय स्मारकहरूको पुनर्निर्माणका लागि लागत अनुमान १ खर्ब ८६ करोडभन्दा बढी रहेको थियो ।
धरहराको पुनर्निर्माण २०७५ पुसमा सुरु भयो, प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । पुरानो धरहरा पूर्णरूपमा क्षतिग्रस्त भएपछि नयाँ धरहरा २० तल्ला पुनर्निर्माण गरियो ।
भूकम्पपश्चात् अन्तर्राष्ट्रिय संस्थाहरूले ३ अर्ब अमेरिकी डलरको सहायता प्रतिज्ञा गरे । तर नेपालमा पठाइएको सहायतामा अत्यधिक भ्रष्टाचार हुने सम्भावना भएकाले प्रतिज्ञा गरिएको रकम आंशिक मात्र प्राप्त भयो ।
सामाजिक सञ्जालको दोहोरो प्रभावलाई सन्तुलनमा राख्न सचेत प्रयोग, नीतिगत सुधार र सामाजिक जागरुकता अपरिहार्य छ ।
यसै अवसरमा युनिसेफले नेपालका बालबालिकाहरूलाई अस्थायी आवास र स्वास्थ्य सेवा प्रदान गर्यो । छिमेकी राष्ट्र भारतले पनि अस्थायी आवास र एक अर्ब डलर सहयोग गरेको थियो । चीन, एसियाली विकास बैंक र संयुक्त अधिराज्य लगायत अन्य राष्ट्रहरूले पनि महत्वपूर्ण द्विपक्षीय सहायता प्रदान गरेका थिए ।
यस्तै, कोभिड-१९ महामारीमा सामाजिक सञ्जालमार्फत अक्सिजन सिलिन्डर र औषधि जुटाउने अभियानले धेरैको ज्यान बचायो । उदाहरणका लागि, खोटाङमा दिक्तेल बजार सामाजिक गुठीले कोभिड–१९ को महामारीबाट बच्न र बचाउनका लागि अक्सिजन लगायतका स्वास्थ्य सामग्री जुटाउन अभियान थालेको थियो ।
गुठीको आह्वानमा संस्थागत र व्यक्तिगत रुपमा प्राप्त भएको सहयोग रकमबाट ४० लिटर क्षमताको २० वटा अक्सिजन सिलिन्डर, ३ हजार ५ सय थान मास्क र ३५ लिटर सेनिटाइजर संकलन गरी सेवा प्रदान गरेको पाइन्छ । यस प्रकारको सहयोग सबैतिरबाट भएकाले धेरैको ज्यान बचेको थियो ।
जनचेतनाको क्षेत्रमा पनि सामाजिक सञ्जाल प्रभावकारी बनेको छ । महिला हिंसा र बालविवाहविरुद्धका अभियानले समाजमा ठूलो बहस सिर्जना गरेका छन् । #JusticeForNirmala अभियानले निर्मला पन्तको हत्याको विषयलाई राष्ट्रिय मुद्दा बनायो र सरकारमाथि दबाब सिर्जना गर्यो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतनाका लागि टिकटक भिडियोहरूले पनि छोटो समयमै ठूलो प्रभाव पारेको भेटिन्छ ।
सहयोगको भावनालाई डिजिटल रूप
नेपालमा सामाजिक सञ्जालले समाजसेवा, जनचेतना र सहयोगको भावनालाई तीव्र बनाएको छ । भूकम्प राहतदेखि महामारी सहयोगसम्मका उदाहरणले यसको सकारात्मक पक्ष देखाउँछन् ।
सामाजिक सञ्जालले नेपाली समाजमा रहेको परम्परागत सहयोगको भावनालाई डिजिटल रूप दिएको छ । कुनै व्यक्तिलाई आर्थिक वा स्वास्थ्य संकट परेमा फेसबुकमा सहयोग अभियान सुरु हुन्छ । यस प्रकारको अभियानका उदाहरण लाखौं छन् र हरेक व्यक्तिको फेसबुक वालमा यी उदाहरणहरु देख्न पाइन्छ ।
स्वयं लेखकले पनि २७ जुन २०१७ मा ‘राष्ट्रिय आविष्कार केन्द्र’ को लागि १८ लाख ९० हजार रुपैयाँ संकलन गरी दाताको नामावलीसहित दाताकै नाममा जम्मा हुनेगरी महावीर पुनको हातमा नगद दिएको थियो । यो कुरा स्वयं महावीर पुनले आफ्नो फेसबुक वालमा उल्लेख गरेका छन् । यस्ता उदाहरणले सामाजिक सञ्जालको सकारात्मक शक्ति देखाउँछ ।
भावनात्मक ब्ल्याकमेलिङको अँध्यारो पक्ष
सामाजिक सञ्जालको सकारात्मक प्रभावसँगै भावनात्मक ब्ल्याकमेलिङको समस्या पनि बढ्दो छ । मानिसहरूले आफ्नो दु:ख वा समस्यालाई अतिरञ्जित गरेर सहानुभूति र सहयोग बटुल्ने प्रवृत्ति देखिन्छ । कुनै व्यक्तिले बिरामीको उपचारको लागि आर्थिक सहयोगको नक्कली अपिल गर्दै आफ्नो कथालाई अतिरञ्जित गर्छ । तर पछि थाहा हुन्छ, ती व्यक्तिले भनेजस्तो गम्भीर स्थिति बिरामीको हुँदैन र उसले आर्थिक लाभ उठाउनका लागि यो अपिल गरेको हुन्छ ।
त्यसैगरी, कतिपयले आफ्नो जीवनका दुखद घटनालाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा पोस्ट गर्छन् र सहानुभूति बटुल्छन् । पछि थाहा हुन्छ, ती घटना वास्तविक थिएनन् र सहानुभूति बटुली अर्थोपार्जन गर्नका लागि झुटो कथा बनाइएको थियो ।
यस्ता घटनाले सहयोगको भावनालाई दुरुपयोग गर्नुका साथै वास्तविक पीडितप्रति विश्वास घटाएको छ ।
सामाजिक अभियन्ताको नाममा ठगी
सामाजिक सञ्जालमा ‘सामाजिक अभियन्ता’ को पहिचान बनाएर ठगी गर्ने प्रवृत्ति पनि उत्तिकै चिन्ताजनक छ । केही व्यक्तिले आफूलाई समाजसेवीको रूपमा प्रस्तुत गरी सहयोग संकलन गर्छन्, तर त्यसको दुरुपयोग गर्छन् । संकलित रकमको सही सदुपयोग भयो कि भएन भनी कसैले सोधखोज गर्दैनन् ।
सामाजिक सञ्जाल हाम्रो हातको औजार हो, यसलाई समाज परिवर्तनको माध्यम बनाउने कि दुरुपयोगको कारण, त्यो हाम्रै हातमा छ ।
कुनै कथित अभियन्ताले ‘गाउँमा स्कुल बनाउन सहयोग चाहिएको छ’ भन्दै फेसबुकमा अभियान चलाउने र गाउँमा स्कुल नबनाउने, ‘बाढीपीडितलाई सहयोग’ भन्दै पैसा उठाउने तर पीडितसम्म कुनै पनि सहयोग नपुर्याउने जस्ता अनगिन्ती उदाहरण भेटिन्छन् । यी सबैमा सरकारी निकाय मौन छ । यस्ता ठगीका घटनाले सामाजिक सञ्जालको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
सामाजिक दबाब र मानसिक स्वास्थ्यमा असर
सामाजिक सञ्जालले सिर्जना गरेको सामाजिक दबाब पनि कम चिन्ताजनक छैन । इन्स्टाग्राममा देखाइने आडम्बरी जीवनशैलीले युवाहरूमा हीनताबोध र तनाव बढाएको छ । काठमाडौं विश्वविद्यालयको एक अध्ययनले ६० प्रतिशतभन्दा बढी किशोर-किशोरी सामाजिक सञ्जालका कारण आफ्नो जीवनप्रति असन्तुष्ट रहेको देखाएको छ ।
‘ट्रोलिङ’ र ‘साइबर बुलिङ’ले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ । २०८० सालमा एक टिकटक स्टार मोनिका ठुकुरी नामकी टिकटकरले नकारात्मक टिप्पणीका कारण आत्महत्या गरेकी थिइन् । उक्त घटनाले यो समस्याको गहिराइलाई दर्साउँछ ।
समाधानको बाटो
सामाजिक सञ्जालको यो दोहोरो प्रभावलाई हेर्दा यो न पूर्ण वरदान हो, न त अभिशाप । यो एक औजार हो, जसको प्रयोगले नै परिणाम निर्धारण गर्छ । समाजसेवा र जनचेतनाका लागि यसको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्न सरकार र नागरिक समाजले संयुक्त प्रयास गर्नुपर्छ ।
सहयोग अभियानमा पारदर्शिता कायम गर्न प्रमाणीकरणको व्यवस्था आवश्यक छ । भावनात्मक ब्ल्याकमेलिङ र ठगी रोक्न कडा कानुन र अनुगमन चाहिन्छ । सामाजिक अभियन्ताको नाममा हुने ठगी रोक्न सामाजिक सञ्जाल प्लेटफर्महरूले कडा नीति लागू गर्नुपर्छ ।
मानसिक स्वास्थ्यको संरक्षणका लागि डिजिटल साक्षरता अभियान चलाउनुपर्छ । स्कुल-कलेजमा सामाजिक सञ्जालको सही प्रयोग सिकाउने पाठ्यक्रम समावेश गर्न सकिन्छ । अभिभावकले बालबालिकाको अनलाइन गतिविधिमा ध्यान दिनुपर्छ । व्यक्तिगत स्तरमा हामीले सामाजिक सञ्जालको दबाबबाट मुक्त भएर आफ्नो वास्तविक जीवनलाई प्राथमिकता दिनुपर्छ ।
निष्कर्ष
नेपालमा सामाजिक सञ्जालले समाजसेवा, जनचेतना र सहयोगको भावनालाई तीव्र बनाएको छ । भूकम्प राहतदेखि महामारी सहयोगसम्मका उदाहरणले यसको सकारात्मक पक्ष देखाउँछन् । तर भावनात्मक ब्ल्याकमेलिङ, सामाजिक अभियन्ताको नाममा हुने ठगी र सामाजिक दबाबले यसको अँध्यारो पक्ष उजागर गर्छ ।
यो दोहोरो प्रभावलाई सन्तुलनमा राख्न सचेत प्रयोग, नीतिगत सुधार र सामाजिक जागररुकता अपरिहार्य छ । सामाजिक सञ्जाल हाम्रो हातको औजार हो, यसलाई समाज परिवर्तनको माध्यम बनाउने कि दुरुपयोगको कारण, त्यो हाम्रै हातमा छ ।