काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुन गइरहेको प्रथम आईजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।
नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको प्रमुख आधारको रुपमा रहेको आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालनको पूर्वसन्ध्यामा उक्त ट्रफी अनावरण गरिएको हो ।
फागुन २७ गतेबाट सञ्चालन हुने प्रथम आईजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले अनावरण गरेका हुन् ।
केन्द्रीय स्तरमा सञ्चालन हुने यस प्रतियोगितामा ७ वटै प्रदेश प्रहरी कार्यालय टिम र काठमाडौंको १ टिम गरी कुल ८ टिमको सहभागिता रहनेछ ।
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक सञ्चालन हुन गइरहेको यस प्रतियोगिताले भविष्यमा संगठन भित्रबाटै स्तरीय खेलाडीहरू उत्पादन गर्न सहयोग पुर्याउने आयोजकको विश्वास छ ।
सोही अवसरमा नेपाल प्रहरी क्रिकेटको लागि ड्रिम प्रोजेक्टको रुपमा रहेको इण्डोर क्रिकेट ग्राउण्डको समेत समुद्घाटन गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुदिप गिरीले उक्त क्रिकेट ग्राउण्डको समुद्घाटन गर्दै आफैले ब्याटिङ पनि गरेका थिए । प्रतिष्ठानका निर्देशक एवम नेपाल प्रहरी खेलकुद समितिका सह-सचिव प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार केसीले बलिङ गरेका थिए ।
ट्रफी अनावरण तथा इन्डोर क्रिकेट ग्राउण्ड उद्घाटन पछि कार्यकारी निर्देशक सुदिप गिरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको रुपमा प्रवेश गरेसँगै नेपाल प्रहरी खेलकुद समितिको सदस्य-सचिवको हैसियतले आफूले बोकेको महत्वकांक्षाले आज सार्थकता प्राप्त गरेको भन्दै गौरवान्वित महसुस गरिरहेको बताए । यस्तै उनले खेलकुद क्षेत्रको विकास र विस्तारको लागि आन्तरिक प्रतियोगिता सञ्चालनका साथ साथै संरचना निर्माण एवम् खेलाडीहरूको कल्याणकारी कार्यक्रमलाई सँगसगै लैजानु पर्ने बताए ।
नेपाल प्रहरीभित्र आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गर्ने योजना रहँदै यस वर्ष आईजिपी रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगिता तथा प्रहरी दिवस रनिङ कप पुरुष फुटबल प्रतियोगिता सञ्चालन भइसकेको छ ।
नेपाली खेलकुदमा प्रहरीको पनि राम्रो योगदान रहेको छ । राष्ट्रिय क्रिकेट टिमको पहिलो रोजाईँमा पनि नेपाल प्रहरीका धेरै खेलाडीहरू रहने गर्दछन् ।
दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी, सागर ढकाल, करण के.सी. तथा गुल्सन कुमार झा नेपाल प्रहरीको तर्फबाट राष्ट्रिय टिमको जर्सीमा देखिन्छन् ।