पोखरा । लेखनाथ यूथ क्रिकेट क्लबले पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट सङ्घको संयोजन तथा व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा माछापुच्छ्रे क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि हात पारेको हो ।
लेखनाथको ईडेन हेभन क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लेखनाथ यूथ क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रनको योगफल बनायो । लेखनाथका लागि पुष्पेन्द्र झाले ३२ बलमा ३२ रन, दीपक बरालले २३ बलमा २८ रन र मार्सल बरालले १८ बलमा २२ रनको योगदान दिएका दिनुभयो । लेखनाथलाई ठूलो स्कोर बनाउन नदिन रितेश बरालले २२ रन खर्चिएर ३ विकेट तथा धिरज अधिकारीले २५ रन खर्चेर २ विकेट लिएर दबाबमा पार्नुभएको थियो ।
१५१ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको माछापुच्छ्रे क्रिकेट क्लब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केवल १२० रनमा सीमित भयो । माछापुच्छ्रेका आशिष न्यौपानेले २७ बलमा २३ रन र पूर्णबहादुर जिटीले १५ बलमा २२ रन बनाएपनि अन्य ब्याटर चल्न नसक्दा फाइनलमा पराजित हुनुपर्यो । फाइनल खेलमा माछापुच्छ्रेलाई कम रनमा समेट्न लेखनाथका मार्सल बरालले १४ रन खर्चेर २ विकेट लिनु भएको थियो ।
सोमबारको फाइनल खेलको प्लेयर अफ दी म्याच मार्सल बराल घोषित हुनुभयो ।
प्रतियोगिताको वेस्ट प्लेयर अफ द टुर्नामेन्ट उपाधि विजेता टिम लेखनाथ यूथ क्लबका दीपक बराल घोषित हुँदा माछापुच्छ्रे क्रिकेट क्लबका प्रमोद बास्तोला वेस्ट बलर एवं कास्की क्रिकेट क्लबका आदित्य थापा वेस्ट ब्याट्स म्यान घोषित हुनुभयो । उपाधि विजेता तथा विभिन्न विधामा उत्कृष्ट भएकाहरूलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुन, सदस्य अभिनय श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको हो ।