काठमाडौं । जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।
२.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको सबैभन्दा सानो मनोरञ्जनात्मक पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको हो ।
नागाइजुमी नगरको निर्माण व्यवस्थापन महाशाखाका प्रमुख शुजी कोयामाका अनुसार सडकमा रहेको खाली ठाउँको राम्रोसँग उपयोग गर्नका लागि सन् १९८८ मा त्यो सानो पार्क निर्माण गरिएको थियो । त्यसबेला भर्खरै अमेरिकाको भ्रमण गरेर आएका कार्यालयका एक कर्मचारीको उत्प्रेरणा तथा अवधारणाका आधारमा उक्त पार्क बनाइएको थियो ।
उनका अनुसार ती कर्मचारीले ओरेगनस्थित मिल्स एन्ड्स पार्क देखेका रहेछन्, जुन त्यसबेलाको विश्वको सबैभन्दा सानो पार्कको रुपमा थियो । त्यसपछि उनीहरुले त्यो अमेरिकी पार्क भन्दा पनि सानो पार्क जापानमा बनाउने निधो गरेर फर्किए।
स्थानीयहरुले स्वतस्र्फुत रुपमा यो पार्कलाई विश्वकै सानो पार्क भन्ने गरेको भएपनि गत महिना मात्रै गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले आधिकारिक रुपमा त्यसको मान्यता दिएको हो । त्यसक्रममा उक्त पार्कको क्षेत्रफल निर्धारण र मापनका लागि व्यवसायिक सर्भेयर ल्याइएको थियो ।
साथै कुनैपनि पार्कमा हुनुपर्ने आधारभूत सुविधा (कम्तिमा एकजना बस्न र रिल्याक्स गर्नसक्ने) भए नभएको पनि एकिन गरियो ।
कोयामाका अनुसार उक्त पार्कको मर्मत सम्भार तथा अझैबढि सोसल मिडिया मैत्री बनाएर थप चर्चामा ल्याउने योजना नगरको छ । एजेन्सीको सहयोगमा