‘ओई, यो रुखको टुप्पामा चढ्न सक्छस् ?’ साथीले चुनौती दिन्थ्यो । धरहरा जस्तै अग्लो र सुरिलो रुख देखेर हाम्रो नौनाडी गल्थ्यो । अनि हामी रक्षात्मक जवाफ यसरी फर्काउँथ्यौं, ‘म त के, राजा पनि चढ्न सक्दैन ।’
‘एक गाग्रो पानी स्वाट्टै पिउन सक्छस् ?’ ख्यालख्यालैमा साथीले हामीलाई चिढ्याउन खोज्थ्यो । पराजित मानसिकता बोकेर हामी लाचार लवजमा भन्थ्यौं, ‘म त के राजाले पनि पिउन सक्दैन ।’
एक थाल बासी भात देखाउँदै साथीले हामीसँग पंगा लिन्थ्यो, ‘एकै गाँसमा यो सबै खान सक्छस् ?’ हामीमा यतिका अलौकिक सामर्थ्य कसरी हुनसक्थ्यो र ? उही राजालाई अगाडि सारेर आफ्नो बचाउ गर्थ्यौं, ‘मुला, यो त राजाले पनि खान सक्दैन नि !’
राजा, बाल्यकालमा हामीलाई सधै बचाउ गर्ने अदृश्य शक्ति थियो । जब–जब हामीलाई आफ्नो औकातभन्दा ठूलो समस्या आइलाग्थ्यो, तब हामी राजालाई बीचमा उभ्याउँथ्यौं । र हरेक अप्ठ्यारामा सजिलैसँग यसरी उम्कन्थ्यौं, ‘म त के, राजाले पनि गर्न सक्दैन ।’
राजा कस्ता छन् ? कत्रा छन् ? के खान्छन् ? कहाँ बस्छन् ? हामीलाई थाहापत्तो थिएन । हामीलाई यतिमात्र थाहा थियो, यो दुनियाँमा राजा भन्दा शक्तिमान कोही छैनन् ।
तुफान भन्दा तेज, धर्ती भन्दा भव्य, हिमालभन्दा अग्लो, चट्टान भन्दा चाम्रो । कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने, कहिल्यै नभाग्ने, कहिल्यै नथाक्ने हाम्रा लागि राजा एक अजम्बरी पात्र थिए । सायद दक्षिण भारतीय फिल्मका तिलस्मी हिरो जस्तै । ‘इन्ट्री’ गर्दा जमिन थर्कने, भूँमरी उठ्ने, समय टक्क रोकिने । अनि स्लो मोसनको एक प्रहारमा सय जना भुसतिघ्रेहरुलाई धुलोपिठो बनाइदिने ।
‘छक्का पञ्जा’का राजा जस्तो होइनन्, जो राजसंस्थाको विधिवत् पटाक्षेपपछि पनि यथास्थितिमा छन् । चानचुन तीन लाखको बाइकमा हुइँकिएर आदर्शको गफ छाट्ने बुढोकन्या राजा हो र ? हाम्रो बाल मस्तिष्कमा आफ्नो सत्ता कब्जा गर्न आएका राजा त सबैभन्दा श्रेष्ठ थिए । जे पनि गर्न सक्ने । जहाँ पनि पुग्न सक्ने । जसले भनेको पनि मान्ने ।
हामीले हाम फाल्न नसकेको भीरमा उनले छलाङ मार्न सक्थे । हामीले खान नसकेको खुर्सानी उनले एकै गाँसमा चपाउन सक्थे । हामीले झटारो हान्दा पनि झार्न नसकेको आरु बखडा उनले भुँइमा बसी बसी टपक्क टिप्न सक्थे । हामीले पासो थापेर पनि मार्न नसकेको चरो उनले उड्दा–उड्दै च्याप्प समाउन सक्थे ।
हामी कल्पन्थ्यौं, ‘यस्तै राजा हुन पाए कस्तो मज्जा आउँथ्यो !’
जस्तोसुकै रुखमा चढेर पनि हामी काट्न सक्थ्यौं होला । किताब नै नपढी सरले सोधेको कुरा फटाफट भन्न सक्थ्यौं होला । दोलाखे बाजेको दोकानबाट सजिलै चाउचाउ चोरेर खान सक्थ्यौं होला ।
एकदिन मैले अलि सानो स्वरले बुबालाई सोधेको थिएँ, ‘राजा हुन के गर्नुपर्छ ?’
पूर्व प्राथमिक तहका शिक्षक भएको नाताले हुनुपर्छ, बुबाको जवाफ थियो, ‘धेरै पढ्नुपर्छ ।’
हामी केटाकेटीलाई मात्र होइन, वयस्कहरुलाई पनि ‘राजा’ बन्न उल्कै रहर लाग्दो हो । एक जना राई कान्छा थिए, बलियो–बाङ्गो । इमानी, पौरखी र सुभानी पनि । तर रक्सीले स्नायुतन्त्र उत्तेजित बनाएको बेला ऊ यसरी धमास दिँदै हिँड्थ्यो, ‘आई एम द किङ अफ द जसबीरे ।’ अर्थात ‘म जसबीरेको राजा हुँ, कोही छ खेल्ने ?’
थाहा छैन, बेबी बुमर्स र मिलेनियल्स भनिने दुई पुस्तामा कसरी राजा यति ग्ल्यामरस भइदियो ?
हामीले राजा कहिल्यै देखेका थिएनौं । भेटेका थिएनौं । तर नदेखेका, नभेटेका राजा हामीलाई भयङ्कर ठूलो लाग्थ्यो । किन लाग्थ्यो ?
किनभने हामीले पढ्ने किताबहरुमा, हामीले सुन्ने कथाहरुमा, हामीले खेल्ने खेलहरुमा राजाले मूख्य भूमिका निर्वाह गरेका हुन्थे । राजाको चरित्र निर्माण यति भव्य एवं बिराट थियो, हामी त्यसप्रति सजिलै सम्मोहित हुनपुग्थ्यौं । हाम्रा लागि त्यो अदृश्य राजा हलिउडले विनिर्माण गरेको सुपरहिरो भन्दा कम थिएन ।
हाम्रो बाल मस्तिष्कमा राजा यस्तो आइडल बनेर विराजमान भइदियो, मानौं हामी राजा बन्नकै लागि लिगलिगे दौडमा सामेल छौं । धेरै पढेर हुन्छ कि, सबैले भन्दा छिटो भात खाएर हुन्छ कि, अरुले भन्दा ठूलो भारी बोकेर हुन्छ कि हामी ‘राजा’ बन्ने स्पर्धामा लागिरह्यो ।
हामी युवा भयौं, वयस्क भयौं । तैपनि बाल्यकालको ह्याङओभरले छाडेन ।
राजा, भौतिक भन्दा पनि बढी भावनात्मक चरित्र हो । यसले सर्वोच्च पात्रको प्रतिनिधित्व गर्छ । यस्तो पात्र, जसमा छुट्टै आकर्षण छ । त्यसैले त हरेकलाई कुनै न कुनै मोडमा लाग्छ, ‘म राजा हुँ !’
वैभव र रवाफको जगमा राजाको उदय हुन्छ । भनिन्छ, जंगलका राजा सिंहलाई मात्र यति कुरा बोध छ ‘म राजा हुँ ।’ जबकि जनावरको अधिराज्यमा सबैभन्दा तेज दौडने चितुवा छ, सबैभन्दा अग्लो जिराफ छ, सबैभन्दा विशाल हात्ती छ । तैपनि किन सिंह नै राजा ?
किनभने उसले ठान्छ ‘म राजा हुँ ।’
सकारात्मक रवाफ र आत्मविश्वासले हरेकलाई राजा बनाउन सक्छ ।
राजा बन्न कसलाई मन लाग्दैन ?
राजा बन्न त्यस्तो उधुमै केही गर्न पनि पर्दैन । कुनै ठूलो युद्ध जित्न पर्दैन । बस्, कसैको मन जितिदिए पुग्छ । तब उनीहरुले नि:सर्त भनिदिन्छन्, ‘मेरो मनको राजा ।’
वास्तवमा राजा मनमै विराजमान हुने एक आदर्श पात्र हुन् । जब कसैले कसैको मन जित्छ भने ऊ नै उनको राजा हुन्छ । तर, हामीकहाँ भिलेनको चरित्र निर्वाह गरेर राजा बन्ने प्रयास गरिन्छ । चाहे त्यो सिनेमामा होस् वा राजनीतिमा ।