रुपन्देही । प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा एकै पटक आइतबार प्रतियोगिताका खेलहरू सुरु भएका हुन् ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनी प्रदेशको क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । त्यस्तै रुपन्देहीकै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल एपीएफ क्लब र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।
लुम्बिनीका अजय चौहानले महत्वपूर्ण ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । लुम्बिनीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२ ओभर ४ बलमा १ सय ८२ रन बनाउँदा अलआउट भयो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे ।
ओपनर चिराग साह ३१, सुवान गहतराज २९, साकिब हक २७ तथा कप्तान अंकित सुवेदी १८ रनमा आउट भए । लुम्बिनीका लागि अजय चौहानले ८ ओभर ४ बलमा ३२ रन खर्चिएर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले समान १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभरमा अलआउट हुँदै २ सय ८ रन बनाएको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६, नर सार्कीले ४५ तथा मिर्नाल गुरुङले ४३ रनको योगदान गरे । कोशीका लागि प्रकाश कार्की र दिपेश कँडेलले समान ३–३ तथा फिद्रोश अन्सारीले २ विकेट लिए । खेलमा लुम्बिनीका अजय चौहान प्लेयर अफ द म्याच बने ।
यस्तै, रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको अर्को खेलमा तीव्र गतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि नेपाल एपिएफ क्लबले जित निकालेको छ । एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गरेको हो । १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८ ओभर २ बलमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकार १६ रन बनाउनु बाहेकका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । एपिएफका लागि कमलसिंह ऐरीले ८ ओभर २ बलमा २७ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २–२ तथा अविनाश बोहोराले १ विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४४ ओभरमा १ सय ७४ रन बनाउँदा अलआउट भयो । उसका लागि सन्दीप जोराले ६२ बलको सामना गर्दै २ चौकाको सहयोगमा सर्वाधिक ३७ रन जोडे । दीपक बोहरा २५ तथा कमलसिंहले १५ रनमा बनाउँदा पेभेलियन फर्किए भने अमरसिंह २६ रनमा नटआउट रहे । बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन खर्चिएर ५, नन्दन यादवले ३ र सूर्य तामाङले २ विकेट लिए । खेलमा कमलसिंह ऐरी प्लेयर अफ द म्याच भए ।
यस्तै, दीपेन्द्र रावतको ७ विकेटको मद्दतमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले सुदूरपश्चिममाथि ७९ रनको जीत हासिल गरेको हो ।
कर्णालीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ तथा किरण ठगुन्ना १३ रनमा आउट हुँदा शेर मल्ल भने १३ रनमा नटआउट रहे । कर्णालीका दीपेन्द्र रावतले ९ ओभरमा ३३ रन खर्चिएर ७ विकेट लिए । कप्तान दिवान पुनले २ विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली ४० ओभर ४ बलमा १ सय ५५ रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले ९४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७१ रन जोडे । यस्तै, दिनेश अधिकारीले १७ तथा कप्तान दिवानले १२ रन बनाए ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले ४, नारायण जोशीले २ तथा शेर मल्ल, भोजराज भट्ट र मिलन बोहोराले समान १ विकेट लिए । दीपेन्द्र प्लेयर अफ द म्याच भए।