आइतबार साँझ शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो ।
२५ फागुन, विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी एफसी लाई पराजित गर्दै थ्रीस्टार क्बल विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार साँझ शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले १–१ गोल गरे ।
लिम्बूले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दीपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले गोल गरे ।
दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेट भयो । नवीन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।
आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र नीरज चौधरीले समान १–१ गोल फर्काए ।
नवयुगले खेलको ८३औं मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउटबाट आर्मीका नीरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।
उपाधिका लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।