Monday, March 10, 2025
घरसमाचारएसईई परीक्षा : अभिभावकले बुझ्नैपर्ने ५ कुरा

एसईई परीक्षा : अभिभावकले बुझ्नैपर्ने ५ कुरा

गएको वर्ष एसईई परीक्षाको नतिजा प्रकाशित भएपछि मेरी छोरीको प्रतिक्रिया अनपेक्षित थियो । उनले राम्रै अंक ल्याएर उत्तीर्ण गरेकी थिइन् । हाम्रो परिवार खासगरी उनका बाबा, हजुरबा, हजुरआमा अत्यन्तै खुसी थिए । इष्टमित्रबाट बधाई आइरहेको थियो । तर, छोरी दुई दिनसम्म रोइरहिन् ।

उनको यस्तो व्यवहारले हामी खिन्न भयौँ । खुसीको त्यो माहौल कता-कता बिथोलियो । मैले छोरीलाई भनेँ, ‘किन रोएकी ? राम्रै अंक आएको छ । तिम्रो प्रगतिमा हामी खुसी छौं । घरका सबैजना खुसी हुनुहुन्छ।’

तब उनले भक्कानिदै भनेकी थिइन्, ‘यतिको अंक त म सजिलै ल्याउन सक्थें । तर मैलै अझ राम्रो अंक ल्याउनका लागि धेरै मिहेनत गरेकी थिएँ । रातभर पढेकी थिएँ ।’
त्यसक्षण हामीले सान्तवना दिएर उनलाई थमथमाएका थियौँ ।

परीक्षाका बेला उनीहरूले अफूलाई दबाबमा राख्छन् । कसरी राम्रो अंक हासिल गर्ने भन्ने ध्याउन्नमा खान र सुत्न पनि छाड्छन् । त्यसो त आमाबुबा र शिक्षकले पनि उनीहरूमाथि अपेक्षा गर्छन्, राम्रो अंक प्राप्त गरोस् भनी ।

यस्तो अपेक्षाले समेत बालबालिकाहरू दबावमा पर्छन् । अर्कोतर्फ साथीभाईसँगको प्रतिस्पर्धाले स्वभाविक रुपमा दबाव पैदा हुन्छ ।

यी दबावहरू सही ढंगले व्यवस्थापन गर्न नसक्दा तनावमा रुपान्तरण हुन्छ । जब कि तनावले सकारात्मक भन्दा बढी नकारात्मक नतिजा दिन्छ । त्यसैले परीक्षाको बेला तनाव लिनु ठीक होइन ।

‘मैले परीक्षाको तयारी राम्ररी गरेको छु । तर, अझैपनि ढुक्क छैन । कताकता डर लागिरहेको छ ।’ मेरो एक जना विद्यार्थी भन्दै थिए । उनी एसईईको तयारी गर्दैछन् ।

एसईई परीक्षाको तिथी नजिकिदै गर्दा विद्यार्थीहरूले कुनै न कुनै रुपमा दबाब महसुस गरिरहेको हुनुपर्छ । यही कारण उनीहरू रातभरी पढ्छन् । उत्कृष्ट अंकका लागि निद्रा त्याग्छन् । स्वादले खाँदैनन्, उमंगले खेल्दैनन् । परीक्षाको तनाव र नतिजाको भयले गर्दा उनीहरू शारीरिक एवं मानसिक रुपमा कमजोर हुनसक्छन् ।

यसरी पढाइमा एकोहोरिएका बालबालिकाहरू जब अनपेक्षित नतिजा आउँछ, तब मानसिक रुपले विक्षिप्त हुन पुग्छन् । अपेक्षा गरेभन्दा कम अंक आएमा उनीहरूले अप्रिय निर्णय लिन पनि बेर लगाउँदैनन्।

त्यसैले परीक्षालाई हाउगुजी बनाउनु आफैँमा जोखिमपूर्ण हो । यसलाई एक सामान्य प्रक्रियाको रुपमा बुझ्नु, बुझाउनुपर्छ । यसका लागि अभिभावकको जिम्मेवारी अहम् हुन्छ ।

परीक्षाका बेला अभिभावकले के गर्ने ? कसरी बालबालिकालाई सहयोग गर्ने ? कसरी उनीहरूलाई सहज र सरल बनाउने ? कसरी उनीहरूलाई बिनादबाब पठनपाठनमा सरिक गराउने ? थाहा हुनुपर्छ ।

एसईईको बेला बालबालिकाले शारीरिक र मानसिक दुबै किसिमको दबाव झेल्नुपर्छ । यस आलेखमा शिक्षको दृष्टिकोणबाट ती चुनौतीबारे चर्चा गर्दै अभिभावकले कसरी आफ्नो बालबालिकालाई सन्तुलित रुपमा सहयोग गर्न सक्छन् भन्ने सुझाव प्रस्तुत गरिएको छ ।

१. सामाजिक सञ्जालको प्रभाव

अहिलेका किशोर पुस्ता सामाजिक सञ्जालसँग एकाकार छन् । उनीहरूको जीवनशैलीसँग यो अभिन्न रुपमा जोडिएको छ । त्यसैले उनीहरू धेरैजसो समय सामाजिक सञ्जालमा बिताउँछन् । यसको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् ।

यद्यपि कतिपय अवस्थामा यस्ता प्लेटफर्मले उनीहरूको मनोबल कमजोर बनाउने जोखिम रहन्छ । जस्तो कि फेसबुक, ट्वीटर, इन्टाग्रामजस्ता प्लेटफर्ममा साथीभाइलाई देखेर आफूसँग तुलना गर्न थाल्छन् । यसले गर्दा उनीहरू साथीभाइको लहलहैमा लाग्ने मात्र होइन, आत्माविश्वासमा ठेस पुग्ने पनि हुनसक्छ । यसले स्वभाविक रुपमा मानसिक तनाव पैदा गर्ने नै भयो ।

सुझाव

अभिभावकले आफ्ना बालबालिकासँग सामाजिक सञ्जालको प्रभाव र प्रवृत्तिबारे खुलेर कुराकानी गर्न जरुरी छ । उनीहरूलाई वास्तविक जीवन र डिजिटल संसार फरक हुन्छ भनी बुझाउनुपर्छ ।

२. निद्रा अभाव र मानसिक थकान

हामीकहाँ के भनाइ छ भने ‘परीक्षाका बेला टुप्पी बाँधेर वा घुँडा धसेर पढ्नुपर्छ ।’ खासमा यो तरिका ठीक होइन । परीक्षा नजिकिएसँगै विद्यार्थीहरू रातभर पढ्छन् । धेरै समय पढ्दैमा वा पढाइमा एकोहोरो लाग्दैमा ज्ञान आर्जन हुन्छ भन्ने होइन । बरु यसले मस्तिष्कलाई बढी दबाबमा राख्छ र पढेका कुराहरू संग्रहित हुन पाउँदैन । अर्कोतिर स्वास्थ्यमा सोझो असर गर्छ । अनिद्रा र तनावले गर्दा उनीहरू मानसिक, शारीरिक रुपमा कमजोर हुन सक्छन् ।

सुझाव

कुनै पनि कुरालाई ग्रहण गर्ने मस्तिष्कको आफ्नै तरिका र संयन्त्र हुन्छ । खासगरी सहज ढंगले, तनावमुक्त भएर पढेका कुरालाई स्मरण गर्न र मन्थन गर्न सकिन्छ । यसका लागि बेला-बेला आरम गर्ने, मनोरञ्जन गर्ने, व्यायाम गर्ने समय पनि निकाल्नुपर्छ ।

३. सन्तुलित अहार

तपाईंलाई लाग्न सक्छ, खाना र परीक्षाको के सम्बन्ध होला र ? जब कि खानाले मस्तिष्कको कार्य सञ्चालन गर्न र शारीरिक स्वास्थ्यमा अत्यान्तै महत्वपूर्ण भूमिका खेल्छ ।

दुःखलाग्दो कुरा चाहिँ के भने परीक्षाका बेला बालबालिकाले राम्ररी खाना खाँदैनन् । उनीहरूलाई हतार र तनाव हुन्छ । यसले गर्दा खानामा अरुची हुन्छ । अक्सर उनीहरू झटपट तयार हुने र हतारमा खान सकिने खानेकुरा खाइरहेका हुन्छन् जुन स्वस्थ्यवर्द्धक नहुन सक्छ ।

सुझाव

शरीर जति स्वस्थ र तन्दुरुस्त हुन्छ मस्तिष्कको कार्य संचालन पनि उत्तिकै राम्रो हुन्छ । शरीर निरोगी, फुर्तिलो र उर्जावान भएमा पढेका कुरा सहजरुपमा ग्रहण गर्न सकिन्छ । अतः शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्नका लागि खानाको मूख्य भूमिका हुन्छ ।

यसका निम्ति ताजा, पोषिलो र सन्तुलित खानेकुरा दिनुपर्छ । खानाको समय तालिका मिलाउनुपर्छ । यतिबेला जंकफुड वा फास्टफुड कटौती गरेर आफ्नै भान्सामा पाकेको ताजा खानेकुरा दिनुपर्छ ।

४. मानसिक तनाव र डिप्रेसन

हरेक विद्यार्थीको रुची, क्षमता फरक हुन्छ । तर हामी उनीहरूलाई यति अंक हासिल गर्नैपर्छ भन्ने किसिमले दबाब दिइरहेका हुन्छौँ । साथै उनीहरूको साथीभाइसँग तुलना गरिरहेका हुन्छौं । छिमेकी एवं इष्टमित्रबाट पनि परोक्षरुपमा उनीहरूले दबाव महसुस गर्छन् । कतिपय अवस्थामा उनीहरूले के ठान्छन् भने मेरो लागि बुझिदिने कोही छैनन् । यसले उनीहरूलाई मानसिक रुपमा कमजोर बनाउन सक्छ र डिप्रेसनको स्थितीमा पुर्‍याउन सक्छ ।

सुझाव

उनीहरूलाई दबाब दिनु जरुरी छैन । बरु सहज रुपले पठनपाठनको वातावरण बनाइदिनुपर्छ । अरुसँग तुलना गर्ने वा आफ्नो अपेक्षा लाद्ने गल्ती गर्नु हुँदैन । पढाइ वा परीक्षालाई दबाब होइन सिर्जनात्मक बनाउन प्रेरित गर्नुपर्छ ।

५. साथीसँगको दबाब

यो उमेरमा उनीहरू साथीभाइको संगत र प्रभावमा हुन्छन् । साथीभाइको लहलहैमा लाग्ने मात्र होइन उनीहरूसँग होडबाजी पनि गरिरहेका हुन्छन् । स्वस्थ प्रतिस्पर्धाले सकारात्मक नतिजा दिन्छ । यद्यपि कहिलेकाहीँ यसले अनावश्यक दबाब पैदा गर्न सक्छ ।

सुझाव

अभिभावकले किशोर उमेरका छोराछोरीलाई मित्रवत् व्यवहार गर्नुपर्छ । उनीहरूको भावना र इच्छालाई बुझ्ने प्रयास गर्नुपर्छ । उनीहरूलाई आत्मविश्वासी बनाउन सहयोग गर्नुपर्छ ।

निष्कर्ष

एसईईको समयमा शैक्षिक र मानसिक दबाबको चरम बिन्दुमा पुग्न सक्छन् । कतिपय विद्यार्थीहरू आफ्नो सीमाभन्दा बाहिर मिहेनत गर्छन् भने कतिपयलाई परिवार, शिक्षकको अपेक्षाले दबाबमा पार्छ । मेरी छोरीको अनुभवले देखाएको छ कि सफलताको परिभाषा अंक मात्र होइन, मानसिक स्वास्थ्य, आत्मसन्तुष्टि र सन्तुलित सिकाइ हो ।

त्यसैले अभिभावक र शिक्षकहरूले मिलएर एक सहयोगी वातावरण सिर्जना गर्नुपर्छ, जहाँ विद्यार्थीले दबाब होइन प्रेरणा पाउँछन् । राम्रो अध्ययन गर्ने बानी, मानसिक स्वास्थ्यलाई प्राथमिकता र खुला संवादमार्फत उनीहरूलाई मार्गदर्शन गर्नुपर्छ । नतिजाभन्दा बढी उनीहरूको प्रयासलाई सम्मान गर्नुपर्छ । साहनुभूति र समझदारीका साथ विद्यार्थीलाई सहयोग गरेमा उनीहरू जीवनभर सिक्ने मनोवृत्ति विकास गर्न सक्छन् ।

नेहा केसी स्वास्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलकी प्रधानाध्यापक हुन्

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -