काठमाडौं । यसवर्ष हामीले मीनबहादुर भाम निर्देशित ‘शाम्भाला’मा कर्णालीको बहुपतिप्रथाको कथा हेर्यौं । हलमा चलिरहेको ‘लाज शरणम्’ले कर्णालीलाई काठमाडौंसम्म जोड्ने प्रयत्न गरेको छ ।
यो मेसोमा कर्णालीको मर्मस्पर्शी कथा समेटेर फिल्म ‘द्रौपदी’ले शुक्रबार ट्रेलर सार्वजनिक गरेको छ । ऋषिराज आचार्य निर्देशित फिल्ममा कर्णालीको महिलाले भोग्नुपर्ने बुहार्तन, निःसन्तानको पीडा र शोषणको कथा समेटिएको छ । कर्णालीको सौन्दर्यमा लुकेको मानवीय संवेदनाको मर्म यसमा निहित छ ।
यो फिल्म यस महिना जर्मनीको अनलाइन फिल्म फेस्टिभल ‘प्याराडाइज’मा छनोट भएको छ । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराजको आफ्नै अभिनय छ ।
अनिल महर्जनको दृश्य सपादन, सौरभ शर्माको पाश्र्वसंगीत, मोहनकुमार झिल्लुको छायांकन छ । फिल्ममा समावेश ‘कर्णाली काटौंला’ शीर्षकको गीतमा रवि ओड र इन्द्रकला राइको स्वर छ । आरबी मूभिजमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छन् । निर्मातामा ऋषिराज र प्रकाश ज्ञवाली छन् ।