उदयपुर । हिउँद महिना सुरु हुन साथ वन जङ्गलमा डढेलो लाग्न सुरु भएको छ । डढेलोले हरेक बर्ष स्थानीयको लाखौँ क्षति हुने गरेको छ । बुधबार मात्रै उदयपुरको कटारी नगरपालिका १० स्थित तिनाखु वनमा लागेको डढेलो गाउँ पस्दा दुई घर जलेर तीन लाख ५० हजार बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार जङ्गलको डढेलो गाउँ पस्दा दुई घरमा क्षति पुर्याएको हो । डढेलो गाउँ पसेर घर जल्दा अनुमानित तीन लाख ५० हजारको क्षति भएको हो ।

बुधबार दिउँसो वनको डढेलो गाउँ पस्दा स्थानीय कौडे बहादुर दमाईको ढुङ्गा माटोको पर्खाल र खरको छानो भएको एक तले मतान, काठपात, तीनवटा बाख्रा, १३ वटा कुखुरा जलेर नष्ट हुँदा अन्दाजी एक लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । यसैगरी अर्का स्थानीय लिल बहादुर सुनुवारको ढुङ्गा माटोको पर्खाल र खरको छानो एक तले मतान, विद्युतको मिटर बक्स, पाँचवटा बाख्राका पाठा, टिभी, भाँडा वर्तन, अन्नपात, काठपात, लत्ता कपडा लगायतका घरायसी सामान जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा पीडित कौडेबहादुर दमाईको हात र घाँटीमा आगोको लप्काले पोली सामान्य घाइते भएका थिए उनको सोही ठाउँको स्वास्थ्य चौकीमा उपचार गरिएको छ । घरमा सल्केको आगो प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रणमा आएको भए पनि वनमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा नआएको र वनमा लागेको आगो निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक दोङले बताउनु भयो ।
अहिले वनमा लागेको आगो पूर्णतः नियन्त्रणमा नआएको भए पनि मानव बस्तीमा संभावित जोखिम नरहेको प्रहरीको भनाई छ ।