२१ फागुन, काठमाडौं । न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
न्युजिल्याण्डले दिएको ३६३ रनको बलियो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो । डेभिड मिलरले अविजित शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । रासी भान डेर डुसेनले ६९ तथा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए ।
न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले १० ओभरमा ४३ रन दिएर ३ विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले २-२ तथा माइकल ब्रेसवेल र रचिन रविन्द्रले १-१ विकेट लिए ।
त्यसअघि लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले बलियो योगफल खडा गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनाएको थियो ।
रचिन रविन्द्र र केन विलियमसनले शतकीय पारी खेले । रचिनले १०८ तथा विलियमसनले १०२ रन बनाए । डारिल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एङ्गिडीले १० ओभरमा ७२ रन दिएर ३ विकेट लिए । कगिसो रबाडाले १० ओभरमा ७० रन दिएर २ विकेट लिए । वियान मुल्डरले १ विकेट लिए ।
अब च्याम्पियन्स ट्रफीको उपाधिका लागि आउँदो आइतबार दुबईमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।