काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सुखानी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने पाँचजना सहिदहरूको फोटो अंकित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउनुभएको छ ।
टिकटमा टाँचा लगाउँदै सभामुख घिमिरेले नेपालीहरूको स्वतन्त्रता, मुक्ति र उत्थानका लागि अग्रपङ्क्तिमा रहेर आन्दोलन गर्ने सहिदहरूको सम्मानमा सरकारले हुलाक टिकट प्रचलनमा ल्याएर सकारात्मक सुरुवात गरेको बताउनुभयो ।
उहाँले राजनीतिक शासन पद्धति र सञ्चालनमा केही अप्ठ्यारो परिस्थिति आएको हो की भन्ने जनमानसमा आशङ्का देखिएको भन्दै त्यसलाई चिर्न राजनीतिक दल र नेताहरू इमानदारीताका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहिद रामनाथ दाहालको धर्मपत्नी विशेश्वरा दाहालले आफ्ना श्रीमानले हत्या हुने अघिल्लो दिन लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् नेताहरू विभिन्न लोभ, लालच र प्रलोभनमा फसेर देश र जनताको हितमा काम गर्न सकेनन् भने जनताले खबरदारी गर्नुपर्छ भन्नुभएको स्मरण सुनाउनुभयो ।
सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई २०२९ साल फागुनमा झापाबाट इलाम जेल सार्ने बहानामा तत्कालीन सरकारले हत्या गरेको थियो ।