२० फागुन, काठमाडौं । एनसीसी जुनियर चेकमेट चेस प्रतियोगिता २०२५ मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एन्ड स्पोर्ट्स कमिटिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १ सय १ जना विद्यार्थीले आलोचनात्मक सोचाई, समस्या समाधान क्षमता, र धैर्यता प्रदर्शन गरेका थिए ।
ब्वाइज र गर्ल्सलाई कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरी दुई क्याटगोरीमा विभाजन गरिएको थियो । गर्ल्स कक्षा ३ देखि ५ सम्मको स्पर्धामा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ प्रथम भइन् । सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी शुभानी राना दोस्रो र अन्नपूर्ण सेकेन्डरी स्कुलकी टिस्टिना बस्नेत तेस्रो भइन् ।
ब्वाइज ३ देखि ५ सम्मको क्याटगोरीमा अन्नूर्णका युनिश खड्का पहिलो भए भने संस्कृति इन्टरनेनल स्कुलका संभव थुलुङ दोस्रो र ग्रिनल्यान्ड स्कुलका सुलभ पन्थी तेस्रोमा रहे ।
त्यस्तै, कक्षा ६ देखि ८ सम्मको स्पर्धामा गर्ल्सतर्फ मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले उपाधि जितिन् । अन्नपूर्णकी ओजस्वी श्रेष्ठ दोस्रोमा रहिन् भने डिभाइन स्कुलकी जेनिशा न्यौपानेले तेस्रो स्थान हासिल गरिन् ।
ब्वाइजतर्फ निसर्ग बाटिका स्कुलका सात्विकमान तुलाधर प्रथम भए । निसर्गकै आयन जोशी दोस्रो र एसियन पब्लिक स्कुलका दिपन मैनाली तेस्रो भए । निहाना र सात्विकमान हिमालयन चेस एकेडेमीका खेलाडी हुन् ।
स्वीस प्रणालीको आधारमा ब्वाइजको ६ राउन्ड र गर्ल्सको ४ राउन्ड खेल सञ्चालन गरिएको थियो । प्रत्येक खेलको विजेतालाई ३ अंक, बराबरीमा १ अंक र हारमा शुन्य अंक प्रदान गरिएको थियो ।
खेलाडीहरूको वरीयताको आधारमा अन्नपूर्ण सेकेन्डरी च्याम्पियन भयो । सिद्धार्थ वनस्थली उपविजेता भयो भने निसर्ग बाटिका तेस्रोमा रह्यो । शीर्ष तीनै स्कुललाई ट्रफी प्रदान गरिएको थियो ।
कलिलै उमेरमा बालबालिकामा आलोचनात्मक सोंचाई, समस्या समाधान गर्ने कौशल र धैर्यताको विकासको लागि बौद्धिक खेलको रुपमा चेसलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको एनसीसी एडुकेसन एन्ड स्पोर्ट्स कमिटिले जनाएको छ ।