काठमाडौँ । स्थापनाको ३० औं वर्षगाँठको अवसरमा ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले ‘डिजाइनर अफ द इयर’को घोषणा गरेको छ । मंगलबार पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमा फेसन डिजाइनरबीचको प्रतिस्पर्धा आयोजना गर्न लागेको जनाइयो ।
फेसन डिजाइनर, विद्यार्थी र यस क्षेत्रमा भविष्य बनाउने सपना देखिरहेका युवापुस्तालाई प्लाटफर्मको रुपमा विकास गर्ने उद्देश्यले प्रतिस्पर्धा गर्न लागिएको हिडन ट्रेजरले जनाएको छ । ‘अहिले नेपालको फेसन डिजाइनिङको क्षेत्र उदाउँदो अवस्थामा छ । फेसनलाई नवीनता र उद्यमशिलतासँग जोड्न जरुरी छ’ संस्थाका अध्यक्ष तथा निर्देशक अजय स्थापितले भने ।
निर्देशक प्रमोद कंशाकारले मंगलबारदेखि औपचारिकरुपमा आवेदन खुला भएको जनाए । उनका अनुसार काठमाडौं, नेपालगञ्ज, पोखरा र बिराटनगरमा अडिसन संचालन हुनेछन् । नेपालगञ्जमा मार्च ५, काठमाडौंमा मार्च ९, बिराटनगरमा मार्च १० र पोखरामा मार्च १२ मा अडिसन हुनेछन् ।
अडिसनमा सहभागिले आफ्नो थिमअनुसार स्केच र गार्मेन्ट प्रस्तुत गर्नुपर्नेछ । मार्च १३ मा नतिजा घोषणा हुनेछ । अडिसनबाट १२ देखि १५ जना फेसन डिजाइनर छनोट हुनेछन् । छनोट सहभागिलाई सिर्जनालाई अन्तिम आकार दिन ४ देखि ५ साताको समयावधि दिइनेछ । पाका फेसन डिजाइनरले मेन्टरिङ प्रदान गर्नेछन् ।
छनोट प्रतिस्पर्धीले चर्चित फेसन डिजाइनरसँग परामर्श, सिउने मेसिनका जानकार एवं फेब्रिक र एस्सेसरिजका आयातकर्तासँग छलफल तथा गार्मेन्ट उद्योगको भ्रमणको मौका पाउनेछन् । प्रत्येक डिजाइनरले ६ देखि ७ वटासम्म डिजाइन गर्नेछन् । जसमध्ये २ देखि ३ वटा कलेक्सन द हिडन ट्रेजर, नेसनल कस्ट्युम र इभिनिङ गाउनमा प्रयोग हुनेछ ।
चर्चित फेसन डिजाइनर जजको रुपमा हुनेछन् । प्रतिस्पर्धाको विजेताले डेढलाख रुपैयाँ नगद पुरस्कार, ज्याक ब्राण्डको सिउने मेसिन, मिस नेपाल विन्टर नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको लागि नेसनल कस्ट्युम डिजाइनको मौका, अन्तर्राष्ट्रिय इभेन्टका लागि इभिनिङ गाउन, एकजना भाग्यमानी मोडेलले मिस नेपाल २०२५ को फिनालेमा प्रवेशको मौका पाउनेछ ।
उदीयमान डिजाइनरलाई प्रोत्साहन दिन तथा उनीहरूको सिर्जनालाई बाहिर ल्याउन ‘डिजाइनर अफ द इयर’को अवधारणा महत्वपूर्ण हुने निर्देशक कंशाकारले बताए । ‘यसले द हिडन ट्रेजर र डिजाइनर दुवै पक्षलाई फाइदा मिल्ने विश्वास छ’ उनले भने । सन् २०२५ को मिस वल्र्डदेखि नै यसको सुरुवात हुने सम्भावना रहेको उनले बताए ।
प्रतिस्पर्धाको ग्राण्ड फिनाले अप्रिल १२, २०२५ मा हुनेछ । प्रतियोगिताको अनलाइन पार्टनरमा अनलाइनखबर डटकम छ ।