Tuesday, March 4, 2025
घरसमाचारउपमेयर डंगोलले खोजिन् फिल्ममा महिलालाई समान पारिश्रमिक

उपमेयर डंगोलले खोजिन् फिल्ममा महिलालाई समान पारिश्रमिक

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट सुरु भएको छ । चलचित्र बिकास बोर्डमा सुरु महोत्सव तीन दिनसम्म चल्नेछ ।

बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले ११५ औं महिला दिवसको अवसर पारेर आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरिन् ।

महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गर्दै डंगोलले फेस्टिभलले धेरैभन्दा धेरै महिलालाई समेट्न टेवा पुगोस् भन्दै शुभकामना व्यक्त गरिन् ।

‘अहिले फिल्ममा महिला सशक्तीकरण बुलन्दरूपमा अगाडि आइरहेको छ । फिल्मको मुख्य चरित्र महिला पनि हुन थालेका छन्’, उनले भनिन् ‘काममा बराबरी, कुरामा बराबरी भएपनि परिश्रमिक बराबरी छ त ? प्रश्न यहाँ उठ्छ ।’ फिल्ममा महिलालाई भूमिकादेखि पारिश्रमिकसम्म समान व्यवहार हुनुपर्ने उनको धारणा रहेको थियो ।

यसबारे उनले थपिन्, ‘महिला चलचित्र महोत्सव’ले चलचित्रमा नारीलाई अझ अगाडि ल्याउन मद्दत मिल्ने विश्वास लिएको छु ।’ ‘काठमाडौं महानगरपालिकाले क्रियटिभ सिटीका लागि फिल्म बिधा छान्यो’, उनले भनिन्, ‘हामीसँग भएको मूर्त अमूर्त सम्पदालाई राष्ट्रियकरण तथा अन्तर्राष्ट्रियकरण गर्ने हो भने त्यसको बलियो औजार फिल्म हो ।’ फिल्मबाट गीत, साहित्य, रहनसहन र सम्पदा सबै देखाउन सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डीसीले बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौँ महानगरपालिकाको सहकार्य चाहेको बताए । उनले बेग्लाबेग्लै स्टुडियो बनाउनुभन्दा उत्कृष्ट एउटै स्टुडियो निर्माण होस् भन्ने बोर्डको चाहना रहेको धारणा राखे ।

अध्यक्ष डीसीले तीनदिने महोत्सवमा तीनै दिन बेग्लाबेग्लै कार्यक्रम रहेको समेत जानकारी दिए । कार्यक्रमले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, अभिनेता विश्व बस्नेत, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन लगायतको उपस्थिती थियो ।

महोत्सवको पहिलो दिन मंगलबार फिल्म ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । कार्यक्रमस्थलमा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दूर’ चलचित्रका महिला चलचित्रकर्मीको स्केचसमेत बनाएका थिए । कार्यक्रममा भुसाल र अभिनेता बस्नेतले फिल्म ‘सिन्दूरका अभिनयबारे अनुभव सुनाएका थिए ।

महोत्सवको दोस्रो दिन बुधबार महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन र चलचित्रमा ‘नारी संवाद’ कार्यक्रम छ । विहीबार महिलाका विषयका नाटक प्रदर्शन तथा महिला चलचित्रकर्मी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम छ । चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्ष अभिनेत्री केकी अधिकारी हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -