२० फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्यटकप्रति नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न अध्यागमन कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको सुविधायुक्त भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको भन्दै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए ।
‘पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ ।’
कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै उनले सचेत भएर सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे ।
‘अध्यागमन भनेको मुलुकको ऐना हो,’ उनले भने, ‘कर्मचारीले सेवा दिँदा सभ्य र विनम्रता पूर्वक ढंगले दिनुपर्छ । कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् । तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन । यस्तो छुट कसैलाई पनि छैन ।’
उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने बताए ।
‘पर्यटन क्षेत्रको विकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भने ।
उनले नेपाली संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए ।