Tuesday, March 4, 2025
घरसमाचारएमाले मोरङ अधिवेशन : ओली र भण्डारी पक्षधर प्यानल बनाएरै मैदानमा

एमाले मोरङ अधिवेशन : ओली र भण्डारी पक्षधर प्यानल बनाएरै मैदानमा

१९ फागुन, विराटनगर । नेकपा एमाले मोरङको जिल्ला नेतृत्व हत्याउन दुई प्यानल मैदानमा उत्रिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल बनाएरै मैदानमा उत्रिएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । ढकाल लामो समय अध्यक्ष ओली निकट भएर चिनिएका थिए ।

तर गत वर्ष प्रदेश अध्यक्ष पदमा पराजित भएपछि उनी खुलेर फरक गुटको नेतृत्व गरिरहेका छन् । गत माघ १४ गतेदेखि सात दिनसम्म चलेको पूर्वराष्ट्रपति भण्डारीको विराटनगर यात्राका क्रममा भेटघाटको व्यवस्थापन ढकालले नै मिलाएका थिए ।

जिल्लामा आफूलाई संस्थापन बताउने समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे लगायत छन् ।

जिल्ला अधिवेशनले १६५ सदस्यीय कमिटी चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९११ जना प्रतिनिधि छन् । संस्थापन पक्षले आफ्नो समूहसँग ६० प्रतिशत प्रतिनिधि रहेको दावी गर्छ । इतर पक्षले पनि आफूसँग ६० प्रतिशत नै रहेको दाबी गर्छ ।

संस्थापन पक्षको तुलनामा इतर पक्षका नेता ढकाल मोरङमा प्रभाव जमाएका नेता हुन् । भूगोल र जनवर्गीय संगठनबाट आउने पदाधिकारीमा ढकाल पक्षको वर्चश्व देखिएपछि संस्थापन पक्षले ४६ जना आफू निकटलाई अधिवेशन प्रतिनिधि मनोनित गरेको थियो ।

मनोनित प्रतिनिधिको विषयमा आइतबार बन्दसत्रमा नाराबाजी भएको थियो । इतर पक्षको नाराबाजीका कारण निर्वाचन कार्यक्रम नै प्रभावित भएको थियो । आइतबारबाट सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया आज दिउँसोबाट मात्रै सुरु भएको छ ।

नेताहरुका अनुसार जिल्ला सदस्यमा प्रतिस्पर्धा हुने सम्भावना कम छ । पदाधिकारीमा भने प्रतिस्पर्धा हुनेछ । ‘पदाधिकारीलाई प्रतिस्पर्धा हुन्छ, भूगोलबाट आउने सदस्यको हकमा सवर्तसम्मत हुनसक्छ,’ इतर पक्षबाट उपाध्यक्षमा लड्ने तयारी गरेका नेता सागर थापाले भने,‘ निर्वाचन हुन्छ ।’

नयाँ नेतृत्वका लागि संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सारेको छ । इतर समूहले अजम्बर राईलाई अघि सारेको छ ।

संस्थापन पक्षबाट उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार छन् ।

इतर पक्षले उपाध्यक्षमा सागर थापालाई अघि सारेको छ । सचिवमा सोमराज थापा उम्मेदवार बन्नेछन् । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी छ । संस्थापन पक्षले भने उपसचिवको नाम टुङ्गो लगाएको छैन ।

जिल्ला नेतृत्वका लागि ओली र भण्डारी निकटको प्यानल बनेपनि प्रदेश अध्यक्ष घनश्याम खतिवडा मान्न तयार छैनन । उनी पूर्वराष्ट्रपति भण्डारीलाई अनावश्यक रुपमा विवादमा ल्याउन खोजिएको बताउँछन् ।

निर्वाचनमा संस्थापन र इतर पक्ष रहेको भने उनले स्वीकार गरे । ‘पार्टीको निर्णय कार्यान्वयन गर्न इमान्दारितापूर्वक लाग्नेहरुले आफूलाई संस्थापन भन्छन्,’ उनले भने,‘ पार्टीलाई देखाइदिन्छु, चखाइदिन्छु, मान्दिनँ भन्ने इतर होलान् ।’

विद्यादेवी भण्डारीले जिल्ला अधिवेशनका विषयमा कुनै भूमिका नरहेको खतिवडाले बताए । ‘ त्यो(इतर पक्षमा भण्डारीको साथ रहने कुरा) पत्याउने कुरा होइन, हुँदै होइन,’उनले भने, ‘उहाँको त्यस्तो छदै छैन, भ्रमको खेती गर्या हो, यहाँ उठ्ने मान्छेहरुले ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -