१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एक महिनाअघि नै म्याट रोस नेपाल आएका बेला उनी नै मुख्य प्रशिक्षक बन्ने चर्चा चलेपनि एन्फाले एक महिनापछि मात्रै आधिकारिक रुपमा उनलाई सार्वजनिक गरेको हो ।
यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएको थियो । त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा अवधि थप्ने केही निर्णय गरेन ।
भदौमा मात्र एन्फाले आधिकारिक रुपमा एनेसको सम्झौता नविकरण नगर्ने निर्णय सार्वजनिक गरेको थियो । त्यसपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ४०० भन्दा बढीले आवेदन हालेकोमा एन्फाले म्याट रोसलाई छानेको हो ।
यस बीचमा नेपालले ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नविन न्यौपानेले अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
रोस पहिलो पटक कुनै पनि देशको पुरूष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसका लागि उनी आफु उत्साहित रहेको बताएका छन् । प्रशिक्षक नियुक्त भएपछि उनले एन्फा टिभीसँग कुरा गर्दै सर्ट टम र लङ टमका केही उद्देश्य समेत सुनाएका छन् ।
‘म नेपालको मुख्य प्रशिक्षक बन्दा एकदमै उत्सहित छु’ रोसले एन्फा टिभीसँग भनेका छन् । रोसले आफू काठमाडौं आएदेखि नै उत्साहित रहेकोको र यसबीचमा सभापित कप, महिला अन्तर्राष्ट्रिय प्रतियोगिता र केपी ओली कप लगायत प्रतियोगिता हेरेको बताए ।
पुरष नकआउट प्रतियोगिताबाट आफू उत्साहित रहेको र एसियन कप छनोटमा कस्तो प्रदर्शन गर्छ भनेर हेर्न उत्सुक रहेको रोसको भनाइ छ ।
मलेसियाबाट अंक लिने लक्ष्य
नेपालको मुख्य प्रशिक्षकको रुपमा रोसको पहिलो काम सिगापुरसँगको मैत्रीपूर्ण खेल हुनेछ भने त्यसपछि एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल लगत्तै छ ।
नेपालले अबको तीन सातामा यी दुई खेल खेल्ने तालिका छ । सन् २०२७ मा हुने एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत पहिलो खेल नेपालले यही मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्दैछ । त्यसअघि नेपालले मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा खेल्नेछ ।
उनले छोटो समयम भएकोले सुरुवाती दुई खेल आफ्नो लागि चुनौतीपूर्ण हुने तर त्यसका लागि तयार हुनुपर्ने बताए । ‘सिंगापुर र मलेसिया ‘टफ च्यालेन्ज’ हो । हेड कोचको रुपमा सुरुको दुई खेल छ’ उनले भनेका छन्, ‘सीमित समय तयारीका लागि छ । महत्वपूर्ण कुरा क्याम्प चाँडै सुरु गरेर खेलाडीहरुसँग सम्बन्ध स्थापित गर्नुपर्छ ।’
एसियन कप छनोटका लागि यी खेलहरुमा नतिजा ल्याउनु महत्वपूर्ण रहेको पनि रोसले बताए । ‘यी दुई खेल महत्वपूर्ण छ । छनोट खेलमा नतिजा ल्याउनका लागि । सिमिति समयमा हामीले प्रभावकारी ढंगले काम गर्नुपर्छ’ उनले भने ।
उनले अन्तर्राष्ट्रिय फुटबल चुनौती पूर्ण नै हुने बताउँदै मलेसियाबाट अंक लिएर फर्कने लक्ष्य सुनाएका छन् । ‘अन्तर्राष्ट्रिय फुटबल चुनौतपूर्ण हुन्छ नै । हामी अंकसहित फर्कने योजनामा छौं।’
यस्तै रोसले तत्कालका लागि सिंगापुर र मलेसिया विरुद्धको खेलका लागि टिम बनाउनु मुख्य काम रहेको बताए । ‘तत्कालको लागि सिंगापुर र मलेसियासँग खेल्ने टिम बनाउने र मैदानमा सफलता हासिल गर्ने हो’ उनले उल्लेख गरे ।
दीर्घकालिन लक्ष्य : साफ जित्ने
नेपालको सिनियर पुरूष र महिला दुवै टिमले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । त्यसैले हरेक नयाँ प्रशिक्षकले साफ जित्ने लक्ष्य सुनाइहाल्छन् ।
नयाँ प्रशिक्षक म्याट रोसले पनि दीर्घकालिन लक्ष्य सिनियर र जुनियरमा साफ जित्ने रहेको बताएका छन् । ‘लङ टम नेपालमा खेल विकास गर्ने, ग्रासरुट, कोच एजुकेसन, महिला फुटबलको विकास गर्ने छ’ उनले भने, ‘वरियता सुधार गर्ने र अन्तिममा युथ लेभल, सिनियर लेभल महिला र पुरुषमा साफ च्याम्पियनसिप जित्ने ।’
प्रशिक्षक रोसले नेपाली खेलाडीहरुको बारेमा आफू जानकार रहेको पनि बताए । ‘म नेपाली फुटबल बारे जानकार छु । धेरैले अष्ट्रेलियन कोच आए, नेपाली खेलाडी विदेश गए भनेर चासो दिइरहेका छन्’ उनले भने ।
रोसले स्थानिय खेलाडीहरुलाई अवसर दिने समेत बताए । यस्तै नेपाली खेलाडीहरु फिजिकल र टेक्निकल रुपमा बलियो भनेर चिनिने समेत बताए । यसैगरी भर्खरै सम्पन्न इन्टरनेसनल वुमन्स च्याम्पियनसिप फुटबलमा नेपाली समर्थहरुले सपोर्ट राम्रो रहेको पनि उनले प्रतिक्रिया दिएका छन् ।
‘महिला टिमलाई लागि देखाएको सपोर्ट राम्रो लाग्यो । समर्थकले सधैँ अतिरिक्त उर्जा दिन्छ र सफलता ल्याउने सहयोग गर्छ । साथै नयाँ उचाई पुर्याउन सहयोग गर्छ ।’ उनले समर्थकको तारिफ पनि गरे ।
उनले जहाँ खेल्दा पनि समर्थकको साथ महत्वपूर्ण हुने भन्दै अब मलेसियासाग हुने छनोट खेलमा पनि आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरे ।
को हुन् म्याट रोस ?
इंग्ल्याण्डको न्युक्यासलमा जन्मिएका अस्ट्रेलियन नागरिक म्याट रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता प्राप्त प्रशिक्षक हुन् । पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए ।
उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए । यस्तै रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए ।
उनी सहायक प्रशिक्षक रहँदा दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा कोरिया चीनसँग ३-२ ले पराजित हुँदै उपविजेता बनेको थियो ।
त्यसअघि उनले चीनको यू-१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । चीन छाडेर उनी कोरिया पुगेका थिए ।
रोसले सुरूमा केही समय एम्याचोर फुटबल खेले । त्यसपछि उनले लाइन्समेन् हुँदै रेफ्री बन्ने प्रयास पनि गरे । त्यसपछि उनी शिक्षक पनि बने । तर फुटबलबाट टाढिन सकेनन् ।
२८ वर्षको हुँदा उनले फेरि खेल्ने प्रयास गरेका थिए । तर अर्को वर्ष उनी फुटबल फेडेरेसन नर्दन टेरीटोरीको प्रशिक्षकको रुपमा काम गर्न थाले । डार्विनमा ५ वर्ष कोचिङ काम गरेपछि उनले अष्ट्रेलियामा करियर देखेनन् र जर्मनी लागे ।
सुरुमा उनी आफ्नो फुटबलको ज्ञान विकास गर्न यूरोप लागेका थिए तर पछि उनले यसमै आफ्नो भविष्य खोज्ने सोच बनाए । उनी आफ्नी श्रीमतीसँगै जर्मनी पुगेका थिए । सुरुमा उनले जर्मनीमा भिडियो एनालिस्टको रुपमा काम गर्न थाले ।
जर्मनीको फ्रान्कफर्ट महिला टिमको भिडियो एनालिस्ट हुँदै कार्यवाहक प्रशिक्षकदेखि उनी मुख्य प्रशिक्षक सम्म बने । उनी प्रशिक्षक रहँदा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो । त्यसपछि उनी मुख्य प्रशिक्षक नै बने ।
त्यसपछि उनले यूईएफएको लाइसेन्स लिए । उनले दुई वर्ष फ्रान्कफर्टको मुख्य प्रशिक्षक भएर काम पनि गरे । क्लबबाट बहिर्गमनपछि उनले सन् २०१७ मा स्वीडिस क्लब भिट्जो जीआईकेको प्रशिक्षक बने ।
स्वीडेनमा एक सिजन बिताएपछि उनलाई चीनबाट प्रस्ताव आयो । जसलाई उनले नकार्न सकेनन् अनि चीन आए । चीनबाट दक्षिण कोरिया पुगेका थिए ।