१८ फागुन, काठमाडौं । यही फागुनम हुने भनिएको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ ।
फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गते सम्म हुने भएको छ । आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नुपरेको बताए । ‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केहि पछी सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं’ उनले भने, ‘मैदानको स्तरोन्नति र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि केहि समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ।’
प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय टिमलाई आमन्त्रण गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टिम सहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल संघले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाइरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए ।
बाँकेको महिला फुटबल टिमले धम्बोझी स्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । फुटबल प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् ।
यसैगरी नेपालगन्ज रंगशालाको मैदानमा घाँस उर्माने कार्य पनि भैरहेको छ । प्रतियोगिता अवधिसम्म मैदानलाई पनि राम्रो बनाउने आयोजकले बताएका छन् ।