Wednesday, February 26, 2025
घरसमाचारनागाबाबा कसरी बन्छन् ? कहिलेदेखि सुरु भयो परम्परा ?

नागाबाबा कसरी बन्छन् ? कहिलेदेखि सुरु भयो परम्परा ?

१३ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा अघिल्ला वर्षहरुजस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबा र साधुसन्तहरू आएका छन् । शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरिन्छ ।

पशुपति मन्दिर परिसर पुग्नेहरु नागाबाबाहरूको दर्शन गर्न पनि पुग्छन् । उनीहरूको वेषभूषा र जीवनशैली फरक हुने भएकाले सर्वसाधारणका उनीहरु चासो र आकर्षणको केन्द्र बन्ने गर्छन् ।

महाशिवरात्रि जस्ता विशेष अवसरहरूमा, विशेष गरी छिमेकी मुलुक भारतबाट समेत नागाबाबा र साधुसन्तहरु आउने गर्छन् । यस वर्षको शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा १ हजार ५०० साधुसन्त र करिब दुई सय नागाबाबा आएको अनुमान छ ।

केही नागाबाबाहरू तर नेपालभित्रै रहेको पनि बताइन्छ । तर नेपालमा नागाबाबा र साधुसन्तहरूको ठ्याक्कै संख्या उपलब्ध छैन । जानकारहरुका अनुसार नागाबाबाहरूको संख्या सीमित छ । उनीहरू प्रायः एकान्तमा बसेर शिव भक्ति, साधना र तपस्यामा लिप्त रहन्छन् ।

महाशिवरात्रि अवधिभर उनीहरुलाई सम्मानपूर्वक बस्ने स्थान, भोजन, पानी र धुनी जगाउने दाउराको व्यवस्था पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराउँछ । महाशिवरात्रि सकिएपछि कोषले नै उनीहरुलाई श्रेणीअनुसार दान दक्षिणासहित ससम्मान बिदाइ पनि गर्दछ ।

यहाँ नागाबाबाको रहस्यमय जीवनबारे जानकारी दिने प्रयास गरेका छौं ।

लुगा लगाउँदैनन् नागा साधुहरू

‘नागा’ शब्दको अर्थ नै ‘नग्न’ भन्ने हुन्छ । नागाबाबाहरू सधैं नाङ्गै बस्छन् । उनीहरू सबैभन्दा फरक देखिने कारण भनेकै उनीहरू लुगा नलगाउने हो । कठ्याङ्ग्रिने चिसो मौसममा पनि उनीहरू नाङ्गै नै बस्छन् । उनीहरू शरीरमा धूनीको खरानी (भस्म) लगाएर घुम्ने गर्छन् ।

नेपालमा भने लोकलाजका लागि केही नागाबाबाहरुले रुद्राक्षको मालाले गुप्ताङ्ग छोप्ने गरेको पाइन्छ । कसैले धोती लगाएर हिँडेको पनि देखिन्छ ।

नागाबाबा बन्ने प्रक्रिया

नागाबाबा बन्ने प्रक्रिया निकै कठिन र लामो हुन्छ । हिन्दू धर्मका महान् दार्शनिक आदि गुरु शंकराचार्यले नागाबाबाहरुलाई व्यवस्थित बनाउन अखाडा परम्पराको सुरुवात गरेका थिए । अखाडाहरूले नै नागाबाबाहरूको चयन र दीक्षा दिने काम गर्छन् । प्रत्येक अखाडाको आफ्नै नियम, परम्परा र मान्यता अनुसार दीक्षा दिइन्छ । अखाडामा प्रवेश गरेपछि उनीहरूले गुरु सेवा गर्नुपर्ने हुन्छ र सबै साना–ठूला काम गर्न लगाइन्छ । केही अखाडाहरूमा नागाबाबाहरूलाई ‘भुट्टो’ भनेर पनि चिनिन्छ ।

कठिन जीवनशैली

नागाबाबाहरूको जीवनशैली अत्यन्तै कठिन हुन्छ । भनिन्छ, कुनै पनि व्यक्तिलाई नागाबाबा बन्न कम्तीमा १२ वर्ष लाग्छ । नागाबाबा बनेपछि उनीहरू गाउँ, सहर तथा समाजको चहलपहलयुक्त जीवन त्यागेर जंगल वा पहाडतिर गुमनाम भएर बस्छन् । उनीहरू त्यस्ता स्थानमा बस्छन्, जहाँ कमै मानिसहरू आउजाउ गर्छन् ।

नागाबाबा बन्ने प्रक्रियामा पहिलो ६ वर्ष विशेष महत्त्वपूर्ण मानिन्छ । यो अवधिमा उनीहरू नागाबाबा बन्न आवश्यक ज्ञान हासिल गर्छन् । सुरुका ६ वर्ष उनीहरूले केवल लंगौटी मात्र लगाउने गर्छन् । त्यसपछि १२ वर्षको अन्तरालमा हुने महाकुम्भ मेलामा संकल्प लिएर लंगौटीसमेत त्याग्छन् र जीवनभर लुगा नलगाउने प्रतिज्ञा गर्छन् ।

ब्रह्मचर्य शिक्षा

नागाबाबा बन्नका लागि सबैभन्दा पहिला ब्रह्मचर्यको शिक्षा लिनुपर्छ । त्यसपछि, योग्य ठहरिएपछि महापुरुषहरूबाट दीक्षा प्रदान गरिन्छ । दीक्षा पश्चात् यज्ञोपवीत संस्कार गरिन्छ । यस प्रक्रियालाई पूर्ण गरेपछि, उनीहरू आफ्नै मृत्यु संस्कार जस्तै ‘पिण्डदान’ गर्छन्, जसलाई ‘बिजवान’ भनिन्छ ।

उनीहरूले आफ्ना १६ जना परिवारजनको पिण्डदान गर्छन् । १७ औं पिण्डदान आफ्नै गर्छन् । यसको अर्थ उनीहरूले आफ्नो पहिलाको जीवन समाप्त भएको मान्छन् । पिण्डदान गरेपछि उनीहरू आफ्नो गोत्र, जात तथा पहिचानसम्बन्धी सबै त्याग्छन् ।

बिस्तारामा नसुत्ने परम्परा

नागाबाबाहरूका लागि सांसारिक सुख–सुविधाको कुनै महत्त्व हुँदैन । उनीहरू आफ्नो अखाडालाई नै परिवार मान्छन् । साधारणतया, उनीहरू कुटी बनाएर बस्छन्, तर तिनको कुनै स्थायी निवास हुँदैन । भनिन्छ नागाबाबाहरू ओछ्यानमा सुत्दैनन् ।

युद्धकला र आत्मसंयम

नागाबाबाहरूले दिनभरमा केवल सात घरबाट मात्र भिक्षा माग्न पाउँछन् । यदि ती सात घरबाट केही प्राप्त भएन भने उनीहरूले भोकै बस्नुपर्छ ।

नागबाबाहरू दिनमा एकचोटि मात्र भोजन गर्छन् । भनिन्छ, नागाबाबाहरु केवल साधना मात्र गर्दैनन्, उनीहरू युद्धकलामा पनि निपुण हुन्छन् ।

‘उनीहरु सांसारिक मोह त्यागेर कठोर अनुशासनमा बस्न सक्छन्,’ धर्मशास्त्रका जानकार डा. बासुवेदकृष्ण शास्त्री भन्छन्, ‘विषय परिस्थितिमा पनि आत्मसंयममा रहन सक्ने र बासनालाई नियन्त्रणमा राख्न सक्ने क्षमता उनीहरुमा हुन्छ ।’

रहस्यमयी शक्ति

नागाबाबाहरूले कठोर तपस्या गरेर विभिन्न रहस्यमयी शक्तिहरू प्राप्त गरेको विश्वास गरिन्छ । यद्यपि, उनीहरू आफ्ना शक्तिहरूको दुरुपयोग गर्दैनन् । बरु, उनीहरू आफ्नो ज्ञान र शक्तिबाट मानिसहरूको समस्या समाधानमा मद्दत गर्न प्रयास गर्छन् । उनीहरु आफूलाई भगवानको दूत मानन्छन् ।

नागा साधुहरूको अन्तिम संस्कार

हिन्दू धर्मअनुसार, सामान्यतः मृत्यु पश्चात् शवलाई जलाउने परम्परा छ । तर, नागाबाबाहरूको शवलाई जलाइँदैन । उनीहरूको अन्तिम संस्कार ‘भू–समाधि’द्वारा गरिन्छ । उनीहरूलाई सिद्धयोगको मुद्रामा राखेर जमिनमुनि समाधिस्थ गरिन्छ ।

नागाबाबा बन्ने परम्पराको सुरुवात कहिले र किन भयो ?

धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएअनुसार, आठौं शताब्दीमा सनातन धर्म र मठ–मन्दिरहरूलाई क्षति पुर्‍याउने प्रयास भइरहेको थियो । त्यसबेला आदि गुरु शंकराचार्यले चार मठहरूको स्थापना गर्दै सनातन धर्मको रक्षा गर्ने अभियान सुरु गरे ।

उनले सनातन परम्पराको रक्षा केवल शास्त्र (ज्ञान) बाट सम्भव छैन, यसका लागि शस्त्र (युद्धकला) को पनि आवश्यक छ भन्ने महसुस गरे । त्यसपछि उनले अखाडा परम्पराको स्थापना गरे, जसअन्तर्गत धर्मको रक्षा गर्न मरिमेट्नेहरूलाई युद्धकलाको समेत विशेष प्रशिक्षण दिइयो । र, नागाबाबा र अघोरीहरुलाई ‘धर्म रक्षक’ मान्न थालियो ।

त्यसैले नागाबाबा र साधुसन्तहरुलाई व्यवस्थित गर्ने श्रेय शंकराचार्यलाई जाने धर्मशास्त्रका जानकार डा. बासुदेव कृष्णशास्त्री बताउँछन् ।

नेपालको थापाथली, देवघाट लगायतका स्थानमा अखाडाहरु छन् । नेपालभरको अखाडाका प्रमुख महामण्डलेश्वर आत्मानन्द गिरी हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -