Tuesday, February 25, 2025
घरसमाचारपूर्वराजालाई माओवादीको सन्देश- चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ

पूर्वराजालाई माओवादीको सन्देश- चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ

१३ फागुन, काठमाडौं । नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन भनेको छ ।

मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबट बोल्दै माओवाद सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताइन् ।

‘पूर्वराजलाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो,’ उनले भनिन् ।

संविधान निरंकुश नरहेको ख्याल गर्न पूर्वराजालाई उनको सन्देश छ ।

‘अहिलेको संविधान निरंकुश छैन, सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ । त्यतातिर जान उपयुक्त हुन्छ । अन्यथा धेरै चुरीफुरी गर्न आवश्यक छैन,’ उनले भनिन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा यही फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिनेक्रममा आफूहरूले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी नै दिए ।

पूर्वराजाको यो अभिव्यक्तिउपर संसद्मा सांसदहरूले प्रश्न गर्दै आएका छन् ।

माओवादी सांसद शर्माले राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्नका लागि जनताले गरेको संघर्ष ख्याल गरेर आफ्ना अभिव्यक्ति राख्न समेत आग्रह गरेकी छन् ।

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/०६३ सालको जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।

२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । जनताका जनप्रतिनिधिहरूले संविधान सभाबाट गरेको निर्णयलाई पूर्वराजा ज्ञानेन्द्रले त्याग गरेको रुपमा व्याख्या गरेपछि संसद्मै त्यसको विरोध गर्दै आएका हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -