नयाँ दिल्ली, भारत – नेपालका गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको माग गर्दै दलितका लागि दलित अभियान केन्द्रीय समिति, भारतले नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ। सोमबार नेपाली दूतावासका संस्कृतिक परिषद्का प्रमुख अधिकारी गोकुल बस्नेतमार्फत नेपाल सरकारलाई उक्त पत्र हस्तान्तरण गरिएको हो।
ज्ञापनपत्रमा सर्लाहीका सतेन्द्र राम (चमार) र नेहा रौनियारबीच अन्तरजातीय विवाह भएको विषयमा गृहमन्त्री लेखकले प्रहरी प्रशासनको दुरुपयोग गरी जातीय हिंसा, अन्याय र अत्याचार गरेको आरोप लगाइएको छ। दलितका लागि दलित अभियान केन्द्रीय समिति, भारतका सदस्य सुशील ओखेडाका अनुसार गृहमन्त्रीबाट भएको यस्तो व्यवहारले समाजमा घृणा फैलाउने मात्र होइन, भविष्यमा जातीय द्वन्द्व भड्किन सक्ने खतरा उत्पन्न भएको छ।
ज्ञापनपत्रमा गृहमन्त्री जस्तो उच्च ओहदाको व्यक्तिबाट जातीय हिंसा र विभेदको समर्थन हुनु अत्यन्त निन्दनीय रहेको उल्लेख गर्दै नेपाल सरकारलाई तत्काल ध्यानाकर्षण गराउँदै गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा दलितका लागि दलित अभियान केन्द्रीय समिति, भारतका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सचिव तथा युवा तथा खेलकुद प्रमुख शेर बहादुर विश्वकर्मा, बालबालिका तथा महिला प्रमुख मन्जु सेवा, केन्द्रीय समिति सदस्य एवं दिल्ली राज्य इन्चार्ज दिपक शिलाल, दिल्ली राज्य सह-इन्चार्ज महेन्द्र सिंह सार्की, सुशील ओखेडा, अनिल बिक, दिल्ली राज्य अध्यक्ष गोविन्द बिक, सल्लाहकार नरेन्द्र नेपाली, महिला प्रमुख तारा नेपाली, आर्थिक प्रमुख नरेश नेपाली, तिलक नगरका जिल्ला इन्चार्ज लोकेशन नेपाली, राज्य सदस्य बिनोद आउजी, तिलक नगर जिल्ला सदस्य बिस्ना देवी शिलाललगायतका अभियन्ताहरूको उपस्थिति रहेको थियो।
दलित समुदायमाथि भइरहेको विभेद र अन्यायविरुद्ध आवाज उठाउँदै आएका यी अभियन्ताहरूले नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदै गृहमन्त्रीविरुद्ध कारबाहीको माग गरेका छन्। सुशील ओखेडाले यसबारे जानकारी गराएका छन्।