Saturday, February 22, 2025
घरसमाचारतालाबन्दीबीच स्ववियु चुनावको तयारी, नेविसंघ र अनेरास्ववियु एक्लाएक्लै भिड्ने

तालाबन्दीबीच स्ववियु चुनावको तयारी, नेविसंघ र अनेरास्ववियु एक्लाएक्लै भिड्ने

८ फागुन, काठमाडौं । २०७९ चैतमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको वर्तमान कार्यसमितिको कार्यकाल आगामी चैत ४ मा समाप्त हुँदैछ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु चुनाव ५ चैतका लागि तोकिसकेको छ ।

छलफल नगरी चुनावको मिति तोकिएको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र विद्यार्थी कल्याणकारी परिषद् प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । ६ फागुनमा पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले उपकुलपति कपमा आर्थिक अनियमितताको आशंका गरी तालाबन्दी गरेका हुन् ।

स्ववियु चुनाव गराउने विद्यार्थी कल्याणकारी परिषद्मा तालाबन्दी कायमै रहँदा विद्यार्थी संगठनहरूले भने चुनावको तयारी गरिरहेका छन् । सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठन क्रमशः नेविसंघ र अनेरास्ववियुले चुनावी तालमेल नगरी चुनावमा होमिने निर्णय लिएका छन् ।

दलका नेताहरूसहित दुई विद्यार्थी संगठनका अध्यक्षको बैठकले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । नेपाली कांग्रेसले नेविसंघका लागि गठन गरेको निर्देशक समितिका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर, एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालसहित नेविसंघ अध्यक्ष शेर्पा र अनेरास्ववियु अध्यक्ष समिक बडालबीच छलफल भई तालमेल नगर्ने सैद्धान्तिक सहमति भएको हो । स्ववियु चुनावलाई लिएर क्याम्पसहरूमा दुई दलका विद्यार्थी संगठनबीचमा आन्तरिक द्वन्द्व नगर्ने सहमति पनि बनेको छ ।

स्ववियु केन्द्रित तयारी समिति बनाउँदै नेविसंघ

आसन्न स्ववियु चुनावको तयारीका लागि नेविसंघले फरकफरक समितिहरू बनाउन लागेको छ । अनुशासन, घोषणापत्र, प्रचारप्रसार, परिचालन, अन्तर पार्टी विद्यार्थी संगठन समन्वय, प्रशिक्षण अभिमुखीकरण लगायतका समिति बनाउन लागिएको छ । संघले बनाउने समितिमा पार्टीभित्रका समूह अनुसार भागबण्डा हुने भएकाले हाल समितिका रहने विद्यार्थी नेताहरूको नाम संकलन कार्य भइरहेको नेविसंघले जनाएको छ ।

नेविसंघले सबै क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ । स्ववियु चुनावका बारेमा छलफल गर्न अन्य दलका विद्यार्थी संगठनका नेताहरुसँग पनि नेविसंघले निरन्तर संवाद गरिरहेको छ । संवाद भइरहे पनि तालमेल नगरी प्रतिस्पर्धा गर्ने सहमित भएको नेविसंघ अध्यक्ष शेर्पाले बताए । ‘एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो । आफ्नो शक्ति परीक्षण पनि हुन्छ,’ शेर्पाले भने ।

घोषित तालमेल नहुने तर क्याम्पसको वस्तुगत अवस्था हेरेर विद्यार्थी संगठनबीचमा सहमति गर्न सकिने नेविसंघका प्रवक्ता सुरज सेजुवालले बताए । उनले भने, ‘जस्तो: कुनै क्याम्पसमा सय जना पनि विद्यार्थी छैनन् भने त्यहाँ चुनाव नगराई अर्को कार्यसमिति ल्याउन सकिन्छ ।’

पार्टीबाट गठित निर्देशक समितिले उपत्यकामा अघिल्लो पटक जितेका स्ववियु अध्यक्ष र सचिवको बैठक बोलाएर क्याम्पसहरूमा संगठनको अवस्था जानकारी लिएको छ ।

संघमा रहेको विवादका कारण पार्टी भित्रको एक समूहले कतिपय क्याम्पसमा तालाबन्दी गरेको छ । स्ववियु चुनाव रोक्ने गरी तालाबन्दी भएकाले ताला फोड्ने संघकै एक नेताले बताए ।

अनेरास्ववियुको कार्यशाला जारी

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु चुनावको तयारीका लागि केन्द्रको कार्यशाला सकेको छ भने प्रदेशहरूमा जारी रहेको छ । क्याम्पस र जिल्लाका अध्यक्षहरू बोलाएर केन्द्रमा कार्यशाला राखिएको थियो । कार्यकालको समीक्षा र योजना बनाउनका लागि कार्यशाला गरिएको अनेरास्ववियु अध्यक्ष बडालले जानकारी गराए ।

रास्वपाले भ्रातृ संगठन गठन नगर्ने नीति लिएको छ । सोही नीति अनुसार रास्वपाले दल निकट विद्यार्थी संगठन बनाएको छैन ।

स्ववियु चुनाव गराउनका लागि अन्य दलका विद्यार्थी संगठनहरूसँग संवाद भए पनि तालेमल भने नहुने अनेरास्ववियुले जनाएको छ । ‘यो चुनाव हामी एक्लाएक्लै नै लड्ने भन्ने छ । नीतिगत तालेमल हुँदैन । स्थानीय आवश्यकता अनुसार तल साथीहरुले के गर्छन् थाहा भएन । माथि हामीले गर्दैनौं,’ बडालले भने ।

उम्मेदवार चयनको सन्दर्भमा तल्ला कमिटीले सर्वसम्मत गरेका निर्णय मान्य हुने अनेरास्ववियुले जानकारी गराएको छ । सर्वसम्मत हुन नसकेका स्थानमा त्यहीँको विद्यार्थीहरूको अभिमतको आधारमा केन्द्रले उम्मेदवार चयन गर्ने बडालले बताए । ‘विश्विद्यालयले चुनावको कार्यतालिका ल्याएको सबै ठाउँको उम्मेदवार टुंगो लगाउँछौं,’ बडालले भने ।

एक क्याम्पस, एक विद्यार्थी नेतालाई जिम्मेवारी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले समाजवादी मोर्चामा रहेका दलका विद्यार्थी संगठनहरूसँग सहकार्य गरेर स्ववियु चुनावमा लाग्ने तयारी गरेको छ । कांग्रेस र एमाले निकटका विद्यार्थी संगठनहरू एक्लाएक्लै लड्ने तयारी गरेपछि अखिल क्रान्तिकारीको ध्यान समाजवादी मोर्चाका विद्यार्थी संगठनतिर गएको छ । समाजवादी मोर्चामा भएका दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी छन् ।

अखिल क्रान्तिकारीले स्ववियु चुनावको तयारीका लागि ‘क्रान्तिकारी स्ववियु काउन्सिल’ को भेला फागुन १० र ११ गतेको लागि राखेको छ । केन्द्रीय समिति बैठकबाट घोषणापत्र तयारी, प्रचारप्रसार, आर्थिक, स्ववियु परिचालन समिति गठन गरिने अखिल क्रान्तिकारीले जानकारी गराएको छ । केन्द्रीय समितिमा रहेका २४३ जनालाई क्याम्पसहरूमा खटाउने गरी तयारी भएको महासचिव रोशन थापामगरले जानकारी गराए । ‘हरेक विद्यार्थी नेतालाई एउटा क्याम्पसको कमान्डर बनाएर पठाउने तयारी गरेका छौं,’ महासचिव थापामगरले भने ।

अखिल क्रान्तिकारीमा भर्खरै नयाँ कमिटी आएको छ । अखिल क्रान्तिकारीको चुनावमा देखिएको असन्तुष्टि स्ववियु चुनावमा देखिने भय समेत संगठनमा छ । तर संगठनका महासचिव रोशन थापामगर चुनावको मतभेद सकिइसकेको दाबी गर्छन् ।

स्ववियु चुनावको सहज वातावरण बनाउन अखिल क्रान्तिकारीले छोटो समयको लागि भए पनि विद्यार्थी भर्नाका लागि आवेदन खुलाउनुपर्ने माग समेत राखेको छ । स्नातक तहका लागि भर्नाका लागि आवेदन खुलाउनुपर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकालले बताए ।

‘एक त कलेजमा विद्यार्थी कम भइरहेको छ । आन्तरिक चुनावमा हाम्रा साथीहरू केन्द्रित हुँदा धेरैको भर्ना छुटेको छ,’ ढकाल भन्छन्,‘भर्नाको अवधि तीन दिन राखे पनि हुन्छ ।’

उक्त मागलाई स्ववियु चुनाव तोकिएको समयमा हुन नदिने अखिल क्रान्तिकारीको प्रपञ्च भएको नेविसंघ र अनेरास्ववियुको भनाइ छ ।

रास्वपा स्ववियु चुनावमा सहभागी नहुने

संसद्‌को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रातृ संगठन गठन नगर्ने नीति छ । सोही नीति अनुसार रास्वपाले दल निकट विद्यार्थी संगठन बनाएको छैन ।

विद्यार्थी संगठन नभएको रास्वपाले स्ववियु चुनावमा उम्मेदवार खडा नगर्ने भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्ववियु चुनावमा रास्वपाका तर्फबाट उम्मेदवार नबनाउने जानकारी दिए ।

‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्छ । हाम्रो पार्टीको नाम स्वतन्त्र छ । तर स्वतन्त्र विद्यार्थी युनियनको चरित्र नै स्वतन्त्र हो,’ बुर्लाकोटीले अनलाइनखबरसँग भने,‘चरित्र स्वतन्त्र भएको र शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्छ । दलीय हिसाबले हुनु हुँदैन ।’

विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधारका लागि काम गरिरहेका विद्यार्थी नेताहरूले जित्नुपर्ने मान्यता रास्वपाको रहेको बुर्लाकोटीले सुनाए । स्वतन्त्र रुपमा उम्मेदवार बनेकालाई समेत पार्टीले पक्षधरता नदेखाउने बुर्लाकोटीले जानकारी गराए । विद्यार्थी हक-हित र शैक्षिक सुधारका लागि उपयुक्त व्यक्ति छनोट गर्न अध्ययनरत विद्यार्थीहरू स्वतन्त्र रहेको उनले बताए ।

आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु चुनाव गर्न लागिएको छ । २०७९ चैतमा आंगिकतर्फ ९ वटा क्याम्पसमा चुनाव हुन सकेको थिएन ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -